शनिबार, साउन १२, २०८१
06:20 | ११:०५

लन्डन लेष्टरस्क्वायरमा ‘गोर्खा वारियर’को रेडकार्पेट प्रिमियर ‘ऐतिहासिक’ बन्दै

नेपाली लिङ्क अगस्ट ४, २०२३


लन्डन । बेलायत नेपाल सम्बन्धको प्रमुख आधार स्तम्भ हुन् गोर्खा। ब्रिटिश सेनामा गोर्खा भर्तीको इतिहास झण्डै दुई सय ८ वर्ष लामो छ । 

ब्रिगेड अफ गोर्खाजले बेलायतका लागि कयौं देशमा लडेको इतिहास छ । ति मध्ये गोर्खाहरुले मलाया आपतकालका बेला कम्युनिष्ट आतंककारीहरुसंग सन् १९४८ देखि १९६० सम्म झण्डै १२ वर्ष लडेर वीरता प्रदर्शन गरेका थिए । 

त्यही मलाया युद्धमा आधारित वीरताको कथामा बनेको फिल्म ‘गोर्खा वारियर’ को अन्तर्राष्ट्रिय रेडकार्पेट प्रिमियरले अहिले सर्वत्र चर्चा बटुलेको छ । 

भूतपूर्व गोर्खा सैनिक मिलन चाम्सले निर्देशन गरेको उक्त फिल्म आउंदो १० सेप्टेम्बर सेन्ट्रल लन्डनको लेस्टर स्क्वायरस्थित आइम्याक्स सिने वर्ल्डमा इन्टरनेशनल प्रिमियरको तयारीमा छ । 

हलिउड फिल्म प्रिमियर र विभिन्न अन्तर्राष्ट्रिय अवार्डसका लागि लोकप्रिय उक्त हलमा पहिलो पटक नेपाली फिल्म प्रिमियर हुन लागेको हो । 

उक्त प्रिमियर ऐतिहासिक बनाउने तयारीमा छन् निर्देशक चाम्स । 

उनी दशक अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयासमा थिए । पहिलो र दोस्रो विश्वयुद्ध लडेका गोर्खालीको कथा विश्वभर पुरयाउने उद्देश्यले चलचित्र निर्माणसँगै निर्देशन गरेको उनको भनाइ छ । 

नेपालदेखि भारतसम्मका प्राविधिकको सहायतामा लामो मेहनतपछि बनेको महत्वाकांक्षी फिल्म प्रिमियरका लागि उनले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई समेत निम्ता दिएका छन्। 


ब्रिटिश सांसद डेमियन कोलिन्सलाई संसद् भवन ‘वेष्ट मिनिस्टर’ मा भेटेर निमन्त्रणा दिइएको हो । 

निर्देशक चाम्ससहित गोर्खा वारियरका निर्माता सुमन राई, नायक रितेश चाम्स, बेलायतका पहिलो नेपाली काउन्सलर धन गुरुङ, मिडिया कोअर्डिनेटर आकाश सुनुवार, सहयोगी भाइराजा थापाले सांसद डेमियन कोलिन्सलाई प्रत्यक्ष भेटेर प्रधानमन्त्री सुनकलाई निम्तो दिएका थिए ।

निर्देशक चाम्सका अनुसार रेड कार्पेट प्रिमियरमा लन्डनस्थित नेपाली राजदूत, बेलायती मन्त्री, सांसद, लर्डस्, ब्रिटिश सेनाको उच्च पदस्थ पदाधिकारी, हलिउड स्टार, वितरक, ब्रिटिश गोर्खा सैनिक, तिनका परिवार र नेपाली दर्शकको उपस्थित हुने अपेक्षा छ । ‘नेपाली चलचित्रकै इतिहासमा सर्वाधिक महंगो स्थान र बजेटमा हुन लागेको यो प्रिमियर  ऐतिहासिक बनाउने तयारीमा हामीहरू दिनरात जुटिरहेका छौं’ निर्देशक चाम्सले भने ।

‘गोर्खा वारियर’ प्रिमियरको चर्चा बेलायती मिडियाहरुमा पनि ब्यापक भइरहेको छ । प्रिमियरका लागि तयारी तीव्र रुपमा अगाडि बढिरहेको मिडिया कोअर्डिनेटर आकाश सुनुवारले बताए । ‘नेपाली सिनेमाको इतिहासमै पहिलो पटक यति भव्य प्रिमियर हुन लागेकाले अन्तराष्ट्रिय मिडियाहरुले प्रत्यक्ष प्रसारण गर्ने सुनुवारले बताए । 

‘गोर्खा वारियर’ को निर्माता सुमन राई र सुस्मिता वाइबा हुन् । सह–निर्मातामा सुरेश राई र कार्यकारी निर्माता प्रशान्त थापा छन् भने रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, कविता आले लगायतको अभिनय छ ।

सत्य कथामा आधारित यस चलचित्रले मलाया आपतकालको समयमा गोर्खाहरूले बेलायती सेनासँग मिलेर लडेको घटनाको कथा राम्ररी चित्रण गरेको बताउंछन् नायक रितेश चाम्स । ‘फिल्मले बेलायत र नेपाल तथा जनस्तरमा समेत सम्बन्ध थप मजबुत बनाउने आशा हामीले गरेका छौं’ उनले भने । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू