बुधबार, वैशाख १२, २०८१
06:17 | ११:०२

बेलायतलगायत देशमा विस्तार हुंदै नेपाली चलचित्र बजार

रासस जुलाइ १२, २०२३

नायिका वर्षा सिवाकोटी

काठमाडौँ, २७ असार- नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ । विशेषत डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन भएपछि बजार विस्तार हुन थालेको हो । सुरुआती समयमा सेल्युलोइड प्रविधिमा चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो ।

सहर नजिकका चलचित्र भवनमा समेत सो समय हेरफेर गरेर रिलका स–साना प्रिन्टका डब्बालाई ओसारपसार गर्ने गरिन्थ्यो । यद्यपि अहिले समय बदलिएको छ । नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ । विदेशमा प्रदर्शन अनुमतिका लागि समयमा नै जाँचपास हुने हो भने विश्वभर जहाँ पनि एकसाथ नेपाली चलचित्र प्रदर्शन गर्न सकिन्छ ।

ओभर दी टप (ओटिटी) मा नेपाली चलचित्र पर्याप्त नहुँदा ती युट्युबकै भर परिरहेका छन् । यसलाई पहिलो दर्शक बनाउन चलचित्र भवनमै प्रदर्शन गर्नु उपयुक्त हुन्छ । चलचित्रको परिवर्तन र बढिरहेको बजारले खुशीसँगै चुनौतीसमेत थपेको छ । बढिरहेका दर्शकलाई बचाई राख्नु नै अहिले चलचित्रकर्मीको चुनौती बनेको छ । “सेल्युलोइड अर्थात प्रिन्टको समयमा काम र अनुभवका आधारमा गरिन्थ्यो । छायाङ्कन गरिएका दृश्यसमेत निर्देशकले हेर्न पाउँथेनन् । छायाँकारकै आँखाबाट चलचित्र हेर्नुपर्दथ्यो”, चलचित्र निर्देशक सुनील पाण्डेले भने ।

निर्देशक ज्ञानेन्द्र देउजाले त्यस समयमा दर्शकका लागि अन्य विकल्प नभएकाले चलचित्र हेर्न हलसम्म जानेको भीड देखिएको बताए । “अहिले जस्तो ओटिटी थिएनन् । दर्शकसँग यो वा त्यो भन्ने रोज्नका लागि विकल्प पनि थिएन । दर्शक चलचित्र हेर्न चलचित्र भवनसम्म आउनुहुन्थ्यो”, उनले भने । उनले प्रेम कथा, जमिन्दारीका विषयमा अधिकांश चलचित्र बनेका बताए ।

चलचित्रको आकर्षण ग्रामीण भेगमा बढी रहेको निर्माता एवम् निर्देशक अशोक शर्माले बताए । निर्माता शर्माले चलचित्र भवन भ्रमण गर्दा दर्शकमा चलचित्रप्रतिको मायालाई अनुभव गरेका छन् । उनले निर्माण गरेको ‘ट्रक ड्राइभर’ २०५० चैतमा प्रदर्शन भइरहेको थियो ।

“म कलाकारसहित उर्लाबारीस्थित सूर्य टाकिजमा पुगेको थिए । पाँच सय सिट रहेको चलचित्र भवनमा एक हजार पाँच सयभन्दा बढी दर्शक थिए । गर्मीको महिना भएकाले बेलाबखतमा दर्शक बेहोस पनि हुने गर्थे”, निर्माता शर्माले स्मरण गरे । बेहोस् भएर हल बाहिर ल्याइएका दर्शक होसमा आउनासाथ पुनः चलचित्र हेर्न हलभित्र पस्ने गरेको उनले अनुभव सुनाए ।

“दर्शक हलमा पुगेपछि चलचित्र नसकिदासम्म घर जाँदैनथे”, उनले भने, “त्यो समयमा कलाकारिता गर्न सक्नेलाई भूमिका दिने चलन थियो । हामी हलमा चलचित्र चलेको ५१औँ दिनभन्दा बढी भएपछि दर्शकसँग भेटघाट गथ्र्यौं ।”

अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भूषण दाहालले निर्देशन गरेको ‘कागबेनी’ बाट भएको हो ।

डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ । डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने गरी नयाँ युगमा प्रवेश गरयो । डिजिटल प्रविधिको सुरुआतसँगै प्रिन्टको डब्बा लिएर चलचित्र भवन धाउनु पर्ने बाध्यता हट्यो ।

एउटै समयमा नेपालभर चलचित्र प्रदर्शन गर्न सहजता दियो । त्यही कारण काठमाडौंमा प्रदर्शनका निमित पालो पर्खिएका चलचित्रको लाइन घट्यो । यसको श्रेय निर्माता अशोक शर्मालाई जान्छ । उनले सन् २००७ मा डिजिटल सिनेमा नेपालको सुरुआत प्रदर्शक, वितरक र निर्माताहरूको समूह बनाएर गरे ।

“नेपाली चलचित्रलाई सहरिया क्षेत्रमा हेरिने दृष्टिकोणसँगै स्तरीय प्रदर्शनीका लागि डिजिटल प्रविधि आवश्यक थियो । भारतीय प्रविधि युएफओ सर्भरसँग सहकार्य गरेर सुरु गरेका हौँ”, निर्माता शर्माले भने ।

प्रविधिकै सहायताको कारण अहिले विश्वभर एकसाथ चलचित्रको प्रदर्शन सम्भव भएको हो । “विश्वमै नेपाल नै पूर्णतया डिजिटल प्रविधिमा निर्माणदेखि प्रदर्शनसम्म हुने पहिलो देश हो । हामी सानो भएकाले यसबारे खासै चर्चा हुँदैन”, उनले भने ।

मोफसलमा प्रदर्शन भएर पुरानो भइसकेका प्रिन्ट काठमाडौँमा प्रदर्शन हुँदा प्रिन्ट कोरिएको, प्वाल परेको, टाँसिएको लगायत बिग्रिएको अवस्थामा काठमाडौँ भित्रिने हुँदा सहरिया दर्शकलाई आकर्षण गर्न सकेको थिएन ।

प्रदर्शन हुने प्रविधि र प्रिन्टको गुणस्तरले गर्दा एकल पर्दा भएका केही चलचित्र भवनमा स्पष्ट र सफासमेत देखिंदैनथ्यो । डिजिटल प्रविधिसँगै एकसाथ देशभरका हलमा चलचित्र प्रदर्शन हुन थालेपछि निर्माता तथा निर्देशकमा उत्साह थपिएको उनको भनाइ थियो ।

नेपालमा युएफओ र क्युब डिजिटलको सर्भरले अहिले विश्वभर डिजिटल सिनेमा इनिसेटिभ (डिसिआई) ढाँचामा चलचित्र प्रदर्शन गरिरहेको छ । नेपालमै सम्पूर्ण प्रविधिमा इनकोडिङ हुन्छ । उनले ‘महापुरुष’, ‘छक्का पञ्जा ४’ र ‘जारी’ चलचित्र यहीँ इनकोडिङ गरेर विश्वभर प्रदर्शन गरेको जानकारी दिए । यसले पाइरेसीको समस्यासँगै चलचित्र विदेश पुरयाउने झन्झट पनि हटाएको उनको भनाइ थियो ।

प्रिन्टबाट छुट्कारा पाएका निर्माता डिजिटल प्रविधिको विकासपछि पनि इन्कोडिङ गर्न भारत जानु पर्दथ्यो । डिसीआई अगाडि डिसीएन र क्युबको लागि छुटै इन्कोडिङ गर्नु पर्दथ्यो । यद्यपि अहिले प्रविधिले सहजता दिएको छ । एउटा सर्भरमा इन्कोडिङ गरे विश्वभर चलचित्र प्रदर्शन गर्न पाइन्छ ।

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेको नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बनिरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले हलमै दर्शकले हेर्न पाउँछन् ।

दर्शकले व्यक्तिगत रूपमा हल बुक गरेर चलचित्रको प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएको अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनी नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदीले बताए । व्यक्तिगत सोका रूपमा केही घन्टाका लागि चलचित्र भवन भाडामा लिएर देखाइने चलचित्र हेर्न तिर्नुपर्ने शुल्क बक्स अफिसमा टिकट काटेर हेरिएका भन्दा महँगो पर्ने उनले जानकारी दिए ।

“बुक गरेर प्रदर्शन गर्दा पर्ने शुल्क झन्डै सामान्यको तुलनामा दोब्बर हुन्छ । यसको सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयंले गर्नुपर्छ । बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट हुँदैन”, उनले भने । ‘प्रेम गीत ३’,‘महापुरुष’,‘जारी’ लगायत चलचित्र नियमितरूपमै प्रदर्शन भएपछि अन्यलाई पनि हौसला मिलेको प्रदर्शक सुवेदीले बताए।

निर्देशक रामबाबु गुरुङले आफूले निर्माण हुने आगामी दुई चलचित्रको विदेश प्रदर्शन अधिकार लगभग विक्री भइसकेको जानकारी दिए । “हाम्रो पछिल्लो चलचित्रले गरेको व्यापारकै आधारमा हुन सक्छ । विदेशमा हाम्रो व्यानरबाट बन्ने चलचित्रको माग रहेको बुझिएको छ । नेपाली चलचित्रले बजार विस्तारसँगै कला र संस्कृतिलाई पनि प्रवाशी नेपाली समक्ष पुरयाइरहेको छ”, निर्देशक गुरुङले भने ।

विदेशमा नेपाली चलचित्रको बजार बढेको सन्दर्भ जति तारिफयोग्य छ, त्यति नै नेपालमै बजार विस्तार नहुनु दुःखद छ । अहिले पनि तराईमा नेपाली चलचित्रको बजार राम्रो छैन । वीरगञ्ज, मलङ्गवा, जनकपुरलगायतका बजारबाट भोजपुरी र हिन्दी भाषाको विदेशी चलचित्रले गर्ने व्यापारको तुलनामा नेपालीको न्यून छ ।

उक्त स्थानमा नेपाली चलचित्र प्रदर्शन हुनु नै अझैँ ठूलो विषय बनिरहेको छ । बजार विस्तारका लागि विदेशसम्म पुगेर गरिने प्रवर्धनात्मक कार्यक्रम ती स्थानमा गर्न सके घरेलु बजारको आकार बढ्ने निश्चित छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू