
काठमाडौं, १६ जेठ—महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हरिबहादुर बुढा मगरलाई सम्मान गरेका छन् ।
मन्त्रालयले आज शारीरिक अपाङ्गता भएका कारण हुने कार्यगत सीमितता र विभिन्न प्रतिकूलताका बाबजुद मगरले गरेको तीव्र अठोट उच्च आत्मविश्वास र अद्भुत साहसलाई विश्वसामु चिनाउन पुरयाएको योगदानस्वरुप सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा मन्त्री आचार्यले अपाङ्गता भएका व्यक्तिले पनि मुलुकलाई विश्वसामु चिनाउ सक्छन् भन्ने सकारात्मक सन्देश मगरले दिएको बताए ।
“आत्मविश्वास, त्यो साहसकै कारणले आज अपाङ्गता भएका व्यक्तिले पुरयाएको योगदान विश्वसामु पुगेको छ । अपाङ्गता भएकै कारण निराश हुनुभएका व्यक्तिहरुको आत्मविश्वास वृद्धि गर्न यस सन्देशले महत्वपूर्ण भूमिका खेलेको छ”, उनले भने ।
विश्व कीर्तिमान राख्न सफल भएका बुढाले मन्त्रालयले गरेको सम्मान आफूलाई मात्र नभई सम्पूर्ण अपाङ्गता भएका व्यक्तिलाई हो भने ।
“मैले पाएको यो सम्मान मलाई मात्र नभई सम्पूर्ण अपाङ्ग व्यक्तिलाई गरेको महशुस भएको छ । हामी पनि केही गर्न सक्छौँ भन्ने आत्मविश्वास सबै अपाङ्गता भएका व्यक्तिमाझ पुगेको छ”, बुढामगरले भने ।
अपाङ्गता भएका व्यक्तिको सहजताका लागि अपाङ्गतामैत्री कार्यालय, सडक, पार्किङ लगायतका अन्य सुविधामा सरकारले जोड दिनुपर्ने उनको भनाइ छ ।
कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान
नेकपा (माओवादी केन्द्र) ले पनि कीर्तिमानी आरोही बुढामगरलाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मान गरेका हुन् ।
सो अवसरमा उपाध्यक्ष महराले बुढामगरलाई बधाई दिँदै उनले सञ्चालन गर्न लागेको विश्व शान्ति अभियानमा आफ्नो पार्टीका तर्फबाट सहयोग रहने बताए । आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिका लागि माओवादी नेतृत्वको वर्तमान सरकारले राम्रा काम गर्ने विश्वास व्यक्त गरे ।
कृत्रिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाएका भूतपूर्व गोरखा सैनिक हरि बुढामगरलाई राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेर बधाई र सम्मान दिइसकेका छन् ।
बुढामगरले जेठ ५ गते अपराह्न ३:१० बजे सगरमाथाको सफल आरोहण गरी कृत्रिम खुट्टाको बलमा सगरमाथा चढ्ने पहिलो व्यक्तिका रुपमा विश्व रेकर्ड बनाएका थिए ।
यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम भएको हो ।
झन्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका थिए । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५