शनिबार, वैशाख ८, २०८१
14:21 | १९:०६

वेल्सको नेपाली गाउंमा धरहरा, ढुंगेधारा र चौतारी देखेर बेलायती दंग

नेपाली लिङ्क मे २५, २०२३

लन्डन– बेलायतको वेल्स राज्यमा नेपाली गाउं बनाउन जुटेका नेपालीले बनाएको धरहराको स्वरुप, ढुंगेधारा र चौतारी देखेर बेलायती दंग भए ।

नेपाली भिलेज यूकेले गत २१ मे आइतबार आफ्नो पहिलो वार्षिकोत्सव मनाउने क्रममा परियोजनाका इभेन्ट डाइरेक्टर मानप्रसाद गुरुङको नेतृत्वमा ठडाइएको नेपालको धरहराको स्वरूप, त्यसैको छेउमा अस्थायी रुपमा बनाएको ढुङ्गेधारा, चौतारी लगायत नेपाली परम्परागत दैनिक प्रयोग हुने सामग्री उपस्थित पाहुनाहरुका लागि आकर्षण बन्यो ।

ति वस्तु छेउमा बसेर फोटो खिच्न बेलायती लाइनमै बसेको देख्न सकिन्थ्यो ।

बेलायतको वेल्सस्थित ब्रेकन नजिकै अवस्थित टलीवन्टअस्कमा रहेको नेपाल भिलेज यूकेको आफ्नै परियोजना स्थलमा वार्षिकोत्सव मनाइएको हो ।

नेपाली, बेलायती र वेल्सको राष्ट्रिय गानबाट सुरु गरिएको वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि थिइन् ब्रेकनबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद फें जोनस् ।

सांसद जोनस्, विशेष अतिथि जेम्स एभन्स (एमएस वेल्स एसेम्ली) र नेपाली भिलेज यूकेका प्रमुख निर्देशक मेजर रिटायर्ड खुशीमान गुरुङ (एमभीओ) ले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रममा परियोजनाका सबै डाइरेक्टरहरु, उनीहरुका परिवार, स्थानीय वासिन्दा, बेलायतस्थित नेपाली 
संघसंस्थाका प्रतिनिधि, शेयरधनी लगायतको उपस्थिति थियो ।

सो अवसरमा डाइरेक्टर शेरा गुरुङकी धर्मपत्नी सारा गुरुङले आफ्नै घरमा बनाएको नेपाली भिलेज यूके अंकित केक काटिएको थियो । वार्षिकोत्सव कार्यक्रम नेपाली भिलेज यूकेकी एक डाइरेक्टर मधु गुरुङले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा परियोजना प्रमुख मेजर खुशीमान गुरुङ (एमभीओ) ले उपस्थित सबैलाई स्वागत गर्दै परियोजनाका आवधिक गतिविधि प्रकाश पारे ।

कार्यक्रममा धम्पुस ब्रेकन भगिनी सम्वन्ध समितिका अध्यक्ष, ब्रेकन टाउनका पूर्व मेयर संस्थापक शेयरहोल्डर डेविड मेडरीथले नेपाली भिलेज यूके जस्तो ऐतिहासिक परियोजनामा आफू पनि सहभागी हुन पाएकामा खुशी हुंदै परियोजनाका लागी आगामी दिनमा आवश्यक हरेक प्रकारका सहयोग गर्ने वचन दिए ।

कार्यक्रमकी प्रमुख अतिथि सांसद फें जोनस्ले नेपाली भिलेज यूके जस्तो वृहत र स्थानीयलाई पनि संगै मिलाएर अगाडि बढ्ने परियोजना आफ्नो क्षेत्रमा सुरु हुन लागेकामा आफू एकदमै उत्साहित भएको बताइन् । उनले संसारकै साहसिक गोर्खालीहरुको संलग्नता अझै सुन माथी सुगन्ध रहेको पनि उल्लेख गरिन् ।

उनले परियोजनाले कल्पना गरेको भावी योजनासहितको प्लानिङको एप्लिकेशनमा आँफ्नो तर्फबाट हुनसक्ने नियमसंगत सहयोगमा सधैं अग्रपंक्तिमा रहेको जनाउंदै परियोजनाको सफलताका लागि शुभकामना पनि दिइन् ।

प्रमुख अतिथि लगायत अतिथिहरुलाई मुख्य प्रवेशद्वारबाट स्वागत गर्न परियोजना प्रमुख धर्मपत्नी मन्जु गुरुङ, अनिता गुरुङ, पारु श्रेष्ठ र पवित्रा भट्टराई साथमा परियोजना डाइरेक्टर मेजर सोभियत हमाल (एमभीओ) अनि अपरेसन्स डाइरेक्टर क्याप्टेन सूर्य प्रकाश गुरुङ, टेक्निकल डाइरेक्टर तथा सिनियर इन्जिनियर विजय गुरुङले सहयोग गरेका थिए ।

परियोजनाको आयव्यय जिम्मा लिएका फाइनान्स डाइरेक्टर जशु मसेन्स गुरुङलाई बाबु सोन मसेन्स र नताशा मसेन्सले सोही दिन शेयर किनेका शेयरधनीलाई शेयर प्रमाणपत्र लगायत कागजात दिन सहयोग गरे ।

यता नेपाली भिलेज यूकेको परियोजनास्थल वरपरका छिमेकीलाई अनावश्यक ट्राफिक तनाव नहोस् भनेर डाइरेक्टर नन्द बयम्बु मगरको नेतृत्वमा नताशा, प्रणय गुरुङ र सुपाल श्रेष्ठले नजिकैको कारपार्कबाट कार्यक्रमस्थलसम्म ‘सटलसेवा’ को व्यवस्था पनि गरेका थिए ।

कार्यक्रममा ब्रिटिश गोर्खाहरुले खुकुरी डान्स र किशोरी सिमरनको मन्त्रमुग्ध बनाउने नेपाली नाचले छुट्टै रौनकता बढाएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा उपस्थित सम्पूर्ण शेयरधनीलाई भिन्न भिन्न समूह बनाएर डाइरेक्टरहरुले परियोजना स्थलको स्थलगत निरिक्षण गराउनुका साथै प्लानिङले स्वीकृति दिएको अवस्थामा भौगोलिक बनोटका हिसाबले कहाँ कहाँ के कस्ता संरचना बनाउन सकिन्छ भन्ने जानकारी गराइएका थिए ।

कार्यक्रम व्यवस्थापन, परियोजना स्थल, वरपरका वनजंगल, काटेर मिलाएका जस्ता डाँडाकाडाहरु हेरेर अत्यन्त उत्साहित शेयरधनी र पाहुनाले आफूले सानो रकम भएपनि सही परियोजनामा लगानी गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

डाइरेक्टर शेरा गुरुङको नेतृत्वमा डाइरेक्टर पवित्रा (गंगा) गुरुङ, सचिव तथा डाइरेक्टर टिकाराम गुरुङ, कानुनी सल्लाहकार बालकृष्ण गुरुङ्ग, डाइरेक्टर 
लोकेन्द्र श्रेष्ठ, डाइरेक्टर डम्वर सुनुवार, डाइरेक्टर नन्द बयम्बु मगर लगायतले कार्यक्रमस्थलमै नेपाली खाना पकाएर ख्वाएका थिए ।

स्थानीयहरुले नेपाली दालभात, तरकारी निकै स्वाद मानेर खाए ।

नेपाल भिलेज यूके विधिवत स्थापना भएको एक वर्ष पुरा गरेको खुशीयाली मनाउनु ठिक एक दिन पहिले यसले आँफ्नो साधारणसभा गरेर आँफ्ना शेयरधनीलाई कम्पनीका आर्थिक गतिविधि लगायत प्रगति विवरण पेश गरेको थियो ।

अहिले कम्पनीमा कारोवार खासै नभएपनि आर्थिक र सचिवको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।

नेपाली भिलेज यूकेले परियोजना तीव्रगतिमा अगाडि बढाउने क्रममा दोश्रो चरणको शेयर नेपाली नयाँ वर्ष २०८० वैशाख १ गतेबाट खुलाएको छ ।

२२७ शेयरबाट बढाएर ५०० पुरयाउने तय गरिएको नेपाली भिलेज यूकेको शेयर आउने अक्टोबर २०२३ को अन्तिमसम्मका लागि ५ हजार पाउण्ड नै राखिएको छ । जब योजना अनुसारको प्लानिंग एप्लिकेशन स्वीकृत हुन्छ त्यसपछि यसको शेयर आकाशिने बताइएको छ ।

परियोजनाका प्रवक्ता विक्रम भट्टराईले इच्छुकलाई शेयर लिन अपिल गरेका छन् । शेयर किन्न चाहनेले नेपाली भिलेज यूकेका कुनैपनि बोर्ड अफ डिरेक्टरहरुलाई सम्पर्क वा

www.nepalivillageuk.com  मा सबै आवश्यक जानकारी लिन सकिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू