शुक्रबार, वैशाख ७, २०८१
03:11 | ०७:५६

२१ औं गोर्खाकपको तयारी पूरा, यस्ता छन् आकर्षण

नेपाली लिङ्क मे २१, २०२३

तस्बिर- पवन गौतम

लन्डन । बेलायतस्थित नेपाली समुदायकै ठूलो फुटबल प्रतियोगिता गोर्खाकपको २१ औं संस्करण तयारी पूरा भएको छ । आउंदो २८ मे आइतबार अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा प्रतियोगिता हुन लागेको आयोजक तमुधिं यूकेले आइतबार आफ्नै भवन मिचेटमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

गोर्खा कपमा यसपटक मेन (मुख्य समूह) मा ३२ र भेट्रानतर्फ १० टिम एवं दुई महिला टिमबीच प्रतिष्पर्धा हुने भएको छ ।

प्रतियोगितामा मेन क्याटोगोरिजतर्फ प्रथम हुने टिमलाई २५ सय पाउण्ड, ट्रफी र सर्टिफिकेट तथा दोश्रोलाई १५ सय पाउण्ड, ट्रफी र सर्टिफिकेट दिइनेछ ।

भेट्रानतर्फ प्रथम हुने टिमलाई १२०० पाउण्ड र दोश्रो हुने टिमलाई ८ सय पाउण्ड, ट्रफी र सर्टिफिकेट प्रदान गरिनेछ । महिला टिमतर्फ पहिलो हुनेलाई ५ सय पाउण्ड र दोश्रो हुनेलाई तीनसय पाउण्ड प्रदान गरिने छ ।

ठेलोमा मेन र भेट्रान दुवैतर्फ पहिलो हुनेलाई २०० पाउण्ड र दोश्रोलाई एकसय पाउण्ड पुरस्कार दिइने २१ औं गोर्खाकप संयोजक तथा तमुधिं यूके स्पोर्टस् सेक्रेटरी क्या. रि. दीपक घलेले जानकारी दिए ।

प्रतियोगिताका लागि नेदरल्याण्ड्स, वेल्स्, स्कटल्याण्ड र नेपालबाट समेत खेलाडी सहभागी हुने भएका छन् ।

संयोजक तथा स्पोर्टस् सेक्रेटरी घलेले लागूऔषध सेवनविरुद्ध सचेतना, स्थानीय समुदायसंग अन्तरघुलन, तमु भवनका लागि कोष संकलन, टर्की र सिरियाका भूकम्पपीडितलाई सहयोग गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको जनाए ।

बेल्जियमको नेशनल टिम अण्डर १६ खेलाडी गोरख घलेको विशेष उपस्थिति, दोश्रो पटक महिला टिमको प्रतिष्पर्धा, प्यारासुट डिस्प्ले, नेपाली मौलिक सांस्कृतिक प्रस्तुति गोर्खा कपका मुख्य आकर्षण रहनेछन् । साथै हस्तकला, नेपाली पोशाक, खाना र च्यारिटी गरि ८२ स्टल रहने पनि संयोजक घलेले जनाए ।

गोर्खा कपको कुल अनुमानित खर्च ४२ हजार पाउण्ड र आम्दानी ५४ हजार पाउण्ड हुने अनुमान गरिएको छ । १० प्रतिशत आम्दानी भूकम्प पीडितलाई दिइनेछ ।

आयोजकले गोर्खा कप हेर्न करिब ६ हजार दर्शक आउने अपेक्षा गरेका छन् ।


यसपटक गोर्खा कपको भिभिआइपी अतिथीहरुमा ग्रीस र डेनमार्कका युवराज फिलिपोस र युवराज्ञी निना, प्रमुख अतिथी रसमोर मेयर क्लाइभ ग्रयाटन, विशेष अतिथी लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनाल र सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदानसहित करिब डेढ सय जना अतिथी रहनेछन् ।

कम्तीमा ७० जना सेक्यूरिटी, दुईवटा एम्बुलेन्स र प्रहरी स्टल समेत रहने भएकाले सुरक्षा प्रवन्ध उच्च मिलाइएको तमुधिं यूकेले जनाएको छ ।

पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष हरि गुरुङले गोर्खा कपमा सहभागिताका लागि सबैलाई अपिल गरे । गोर्खाकपले बेलायतस्थित सबै नेपालीबीचको एकता र सद्भाव बलियो पार्ने विश्वास व्यक्त गर्दै उनले सबै मिलेर कार्यक्रम सफल पार्न आव्हान गरे।

महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए । सल्लाहकार कुमार गुरुङले प्रतियोगी टिमहरुको ‘ड्र’ गराएका थिए।

मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित सञ्चारकर्मीहरुको स्वागत गरेका थिए ।

सो अवसरमा तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु रामचन्द्र (सूर्जे) गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, निवर्तमान अध्यक्ष हित काजी गुरुङसहित सल्लाहकारहरु, आजीवन सदस्यहरु लगायतको उपस्थिति थियो ।

कार्यक्रममा पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेलसहित विश्वासदीप तिगेला, दूतबहादुर पुन, नगेन्द्र नेम्वाङ, कर्मा पहाडी शेर्पा, ईन्द्र घोतानेसहित बेलायतमा सक्रिय एक दर्जन नेपाली सञ्चारकर्मीहरुको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू