आइतबार, जेठ ६, २०८१
01:18 | ०६:०३

पहिलाभन्दा झन् धेरै मत ल्याएर विजयी भए रवि

नेपाली लिङ्क अप्रिल २५, २०२३

चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई मङगलबार प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपाने । तस्बिर- सनद अधिकारी/रासस

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन -२ को प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा यसअघिको आफ्नै रेकर्ड तोड्दै रवि भारी मतान्तरले विजयी भएका छन् । 

मंगलबार मध्याह्न सम्पन्न मतगणनाको अन्तिम विवरणअनुसार निर्वाचित रविले ५४ हजार १७६ मत पाए । चितवन २ मा खसेको कुल ७८ हजार २७७ मतमध्ये कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाउँदा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत मात्रै पाए । 

यसअघि मङ्सिर ४ को निर्वाचनमा पनि लामिछाने भारी मतका साथ विजयी भएका थिए । तर अहिले उनले त्यतिबेला पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गरे ।

गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका उनले अहिले ४ हजार ८७४ मत धेरै पाए । 

गत निर्वाचनमा निर्वाचित हुँदा रहेको ३४ हजार रहेको मतान्तरलाई रविले यसपटक ४३ हजार पुर्‍याएका छन्।  

गत संसदीय चुनावमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको सर्वाधिक मतको रेकर्ड समेत रविले तोडेका छन् । ओलीले झापा ५ बाट ५२ हजार ३९१ मत प्राप्त गरेका थिए । लामिछानेले त्यसलाई तोड्दै सर्वाधिक लोकप्रिय जित हासिल गरेका हुन् ।

नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो ।

सर्वोच्च अदालतको आदेशअनुसार पद गए पनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो ।

उपनिर्वाचनबाट रास्वपाले तनहुँ १ मा समेत विजय हासिल गरेसँगै संसदमा उसको एक सिट थपिने भएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू