शुक्रबार, वैशाख १४, २०८१
14:44 | १९:२९

बेलायत मेडस्टोनका काउन्सिलर खड्का पुनः चुनावी मैदानमा, प्रचार प्रसार तीव्र

नेपाली लिङ्क मार्च २५, २०२३

लन्डन । दोश्रो पटक चुनावी मैदानमा उत्रिएका बेलायतस्थित मेडस्टोन काउन्सिलका काउन्सिलर दिनेश खड्काले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

आउंदो ४ मे, २०२३  मा हुने स्थानीय निर्वाचनका लागि उनी यतिखेर आफ्ना एजेण्डासहित घरदैलोमा छन् ।

काउन्सिलर खड्का लिबरल डेमोक्रेटिक पार्टीका तर्फबाट दोश्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।

मेडस्टोनस्थित केन्टको काउन्टी टाउन हाइस्ट्रिट वार्डका उम्मेदवार खड्काले पहिलो चार वर्षे कार्यकालमा स्थानीयसंग निकट रहेर काम गर्नुलाई ‘प्रमुख उपलब्धि’ मानेका छन् । काउन्सिलको डेपुटी लिडर भएर एक वर्ष काम गर्न सफल भएसंगै उनले आफ्नो स्थानीय राजनीतिमा थप फड्को मारे ।

अघिल्लो कार्यकालमा स्थानीयको मन जितेका कारण पनि फेरि काउन्सिलर जितिने आत्मविश्वास उनमा छ ।

‘मैले काउन्सिलरका रुपमा स्थानीय फोहोर संकलन, पार्क र बगैंचा, लिजर तथा हाउजिङ लगायत स्थानीय नीति निर्माण बहसमा धेरैपटक भाग लिएं । स्थानीयसंग नजिक भएर काम गरेका कारणले पनि मेरो दलले मलाई पुनः चुनावी मैदानमा पठाएको छ’- उनी भन्छन् ।

स्थानीय समुदायका चासो र समस्या सम्बोधन गर्ने आफ्नो दोश्रो कार्यकालको प्राथमिकता रहेको काउन्सिलर खड्काले बताए । स्थानीय पूर्वाधार, सडक तथा फुटपाथ सुधार, पार्क र खेल मैदान निर्माण आदिमा लाग्ने पनि उनको अठोट छ ।

पश्चिम नेपालको दाङमा जन्मिएका खड्का सन् २००१ मा विद्यार्थीका रुपमा बेलायत आएका थिए । खाद्य वैज्ञानिक समेत रहेका खड्का आफ्नो परिवारका साथ विगत २१ वर्षदेखि मेडस्टोनमा बसोबास गर्छन् ।

यसपटक काउन्सिलर निर्वाचित भए उनका प्राथमिकताहरू यस्ता छन्ः

-स्थानिय बासिन्दा र समुदायको समस्या केन्द्रमा राखी काम गर्ने । लिब्डेमका तर्फबाट सशक्त आवाजसहित हाइस्ट्रिट वार्डका वासिन्दाहरूको प्रतिनिधित्व गर्ने

-दिगो र स्तरिय आवास निर्माण वृद्धिमा सरकार र स्थानीय सांसदसंग सहकार्य गर्ने ।

-सामुदायिक सुविधाहरूको मर्मत र विकासका लागि  खटिने । बहुमूल्य हरित ठाउँहरूको संरक्षण र वृद्धि गर्दै खेल क्षेत्रहरु विकास गर्ने ।

-लामो समयसम्म बेवास्ता गरिएका सडक र पैदल मार्गहरूलाई व्यवस्थित गर्न निरन्तर लागिपर्ने ।

-आफ्नो वडा सफा र फोहरमुक्त राख्न वृहत र सशक्त ब्यवस्थापनमा जोड दिने ।

-आपतकालीन सेवाहरू र अन्य विभागसंग काम गर्दै  स्थानीय समुदायमा सुरक्षित सडक र पैदल मार्गहरूको विकास र ब्यवस्थापन गर्ने ।

-स्थानीय सडक, ट्राफिक व्यवस्थापन सुधार, वायू र पानी प्रदुषण न्यूनीकरणका लागि दीर्घकालिन योजनाहरुमा लबिङ्ग गर्ने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू