बिहीबार, वैशाख १३, २०८१
17:12 | २१:५७

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस, रास्वपा र लोसपाको निर्णय

रासस मार्च १९, २०२३

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकले विश्वासको मतका लागि आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिने उनले बताए । प्रतिनिधिसभाको यही चैत ६ गते बस्ने बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने भएका छन् ।

बैठकले प्रधानमन्त्री दाहाल नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गर्नुका साथै प्रतिनिधिसभाको आज बस्ने बैठकदेखि नै सत्ता पक्षको लाइनमा बस्ने निर्णयसमेत गरेको लेखकले जानकारी दिए ।

बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएकामा उनीहरु दुवैलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरेको छ ।

बैठकले क्रिकेटको विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै आगामी दिनको सफलताका लागि कामना गरेको छ ।

रास्वपाले पनि विश्वासको मत दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

रास्वपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिए ।

प्रतिनिधिसभामा रास्वपाका १९ सांसद छन् ।

उता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

लोसपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ ।

“पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । विश्वासको मत दिएपछि सरकारमा सहभागी हुने बाटो खुल्नेछ”, नेता महतोले भने ।

बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ । यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षी बेन्चमा बसेको थियो । लोसपाकोतर्फबाट प्रतिनिधिसभामा चार सांसद छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू