बिहीबार, चैत १५, २०८०
10:29 | १६:१४

ब्रिटिश गोर्खाहरुले नेपाल च्यारिटीका लागि गरे ६६ किमी पैदल यात्रा

नेपाली लिङ्क मार्च १९, २०२३

लन्डन । ब्रिटिश गोर्खाहरुले नेपालका टुहुरा र घरबिहीन बालबालिकाको सहयोगका लागि ६६ किमी पैदल यात्रा पुरा गरेका छन् ।

मन्जुश्री होम नेपाल र टेन क्वीओजिएलआर लेडिज एसोसिएससनको सहयोगार्थ टेन क्वीओजिएलआरमा कार्यरत गोर्खाहरुले बेलायतको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा रहेको प्रथम भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक कुलवीर थापाको सालिकबाट लन्डन ह्वाइट हलस्थित गोर्खा सालिकसम्म पैदल यात्रा गरेका हुन् ।

शुक्रबार दिउसो एक बजे शुरु भएर शनिबार बिहान ८ बजे सम्पन्न भएको उक्त पैदल यात्राको दुरी ६६.५३ किमी छ ।

१५ केजी सामान बोकेर उक्त यात्रा पुरा गर्न १८ घण्टा ४४ मिनेट, २३ सेकेन्ड लागेको यात्रा संयोजक ब्रिटिश गोर्खा अन्तिम (पृथ्वी) गुरुङले जानकारी दिए ।

च्यारिटी पैदल यात्रामा अन्तिम गुरुङ, मिजास गुरुङ, राजु रेग्मी, अंकित श्रेष्ठ, प्रलान तमाङ, विशाल बाबु खड्का र सुमित गुरुङ सहभागी भए ।

यात्रा व्यवस्थापनका लागि आस्कृत गुरुङ (टिम मेडिक), नेत्र गुरुङ र अनिल नेपाली समेत संगै हिंडेका थिए । विज्ञान वाइवाले भने यात्रा अघि प्रशिक्षण दिएका थिए ।

विगत ४ वर्षदेखि टेन क्वीओजिएलआरमा कार्यरत अन्तिमले च्यारिटीबाट संकलित रकम नेपाल पठाइने जनाए । गो फण्डमीमार्फत रकम संकलन भइरहेको उनले बताए ।

‘थकान महशुस भएपनि च्यारिटीका लागि भएकाले खुशी र सन्तुष्टि मिलेको छ’, यात्रा पुरा गरेपछि गुरुङले भने ।

पैदल यात्रा शुरु गर्नु अघि अल्डरसटमा उनीहरुलाई शुभकामना दिन एक औपचारिक कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, काउन्सिलर जीव बेल्वासे, गोर्खा मेजर वसन्त शाही र श्रीमति मीना, मेजर डेनी गुरुङ र श्रीमति लक्ष्मी, क्याप्टेन पवन शेरचन, क्याप्टेन भीम सिरिस, गोर्खा मोर्गेजेजका सरोज गुरुङलगायतले शुभकामना दिएका थिए ।

पैदल यात्रु गोर्खालाई पाइपर धुनले स्वागत गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू