शनिबार, वैशाख २२, २०८१
03:29 | ०८:१४

नेपाल–भारतका परराष्ट्र सचिवस्तरीय बैठकमा महत्वपूर्ण छलफल

रासस फ्रेब्रवरी १३, २०२३

काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राबीच आज यहाँ भएको द्विपक्षीय भेटवार्तामा महत्वपूर्ण छलफल भएको छ ।

भेटका क्रममा दुई परराष्ट्र सचिवले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा कनेक्टिभिटी, व्यापार तथा पारवहन, विद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा दुवै पक्षले रेलमार्ग, प्रसारण लाइन, पुल र आईसीपीजस्ता कनेक्टिभिटी परियोजनाहरूमा भएको प्रगतिको सन्तोषजनक समीक्षा गरेका थिए । नेपालका परराष्ट्र सचिव पौड्यालले रासायनिक मलको आपूर्ति, खाद्यान्न निर्यातको प्रतिबन्ध खुकुलो पार्ने र डायलासिस मेसिन उपलब्ध गराएकामा भारत सरकारलाई धन्यवाद दिएका थिए ।

दुवै पक्षले पारवहन सन्धिको नवीकरण, व्यापार सन्धिको समीक्षा र व्यापारसम्बन्धी अन्तर–सरकारी समिति (आइजीसी) चाँडै नै बोलाउने विषयमा छलफल गरेका थिए ।

बैठकमा विनिमय बजारका सबै उत्पादनको उपयोग गरी दीर्घकालीन आधारमा नेपालबाट भारतमा विद्युत् निर्यात गर्न दिने प्रतिबद्धता व्यक्त गरिएको थियो । दुबै पक्षबीच सीमापार प्रसारण लाइनको प्राविधिक स्तरोन्नति र प्रस्तावित चार प्रसारण लाइन आयोजनाको प्रारम्भिक स्वीकृतिबारे पनि छलफल भएको थियो ।

परराष्ट्र सचिव पौड्यालले थप हवाई प्रवेश मार्गका साथै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सीमा उडान गर्न चाँडो सहमतिका लागि नेपाल सरकारको आग्रह दोहोरयाएका थिए ।

दुई परराष्ट्र सचिवबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा उनीहरुले स्थापित द्विपक्षीय संयन्त्रमार्फत बाँकी रहेका खण्डहरूमा सीमा नाकाको काम पूरा गर्ने विषयमा विचार आदानप्रदान गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले दुई देशका विदेश सेवा प्रज्ञा प्रतिष्ठानबीचको एमओयूलाई अन्तिम रूप दिन पनि सहमति जनाएका छन् । दुई छिमेकीबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई झल्काउने मित्रता र सौहार्दपूर्ण वातावरणमा उक्त भेटवार्ता भएको थियो ।

परराष्ट्र सचिव पौड्यालले नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव र उनको प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए ।

परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आएका विदेश सचिव क्वात्राले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग छुट्टाछुट्टै शिष्टचार भेटवार्ता गरेका थिए ।

साथै उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू