शुक्रबार, वैशाख ७, २०८१
09:16 | १४:०१

तामाङ सोसाइटी अफ यूकेले मनायो सोनाम ल्होसार 

नेपाली लिङ्क जनवरी २५, २०२३

लन्डन । तामाङ सोसाइटी अफ यूकेले मन्जुश्री सम्वत् २८५९ औं सोनाम ल्होसार मनाएको छ ।

गत २१ जनवरी शनिबार अल्डरसटस्थित एम्पायर हलमा विविध साँस्कृतिक एवं धार्मिक कार्यक्रमका साथ ह्युई ल्होसार मनाइएको हो ।

नेपालमा बसोबास गर्ने तामाङ जातीहरुले परापूर्व कालदेखि ल्होसारलाई विशेष महत्वका साथ मनाउँदै आएका छन् । सोही क्रममा बेलायतमा बसोबास गर्ने तामाङ जातिहरुले विविध कार्यक्रमका साथ उक्त ल्होसार पर्व मनाएका हुन् ।

कार्यक्रममा बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन रिन्पोछेले धार्मिक पूजापाठका साथ शुरुवात गरेको उक्त ल्होसार पर्वमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रमुख अतिथिको आसनबाट सोनाम ल्होसारको शुभकामना दिएका थिए ।

तामाङ सोसाइटी अफ यूकेका अध्यक्ष ज्ञान तामाङले सोसाइटीको स्थापना र यसले गर्दै आएको विभिन्न सामाजिक, धार्मिक एवं परोपकारी कार्यबारे जानकारी गराउँदै प्रमुख अतिथि राजदूतलगायत अतिथिहरुलाई सहभागिताका लागि धन्यवादसहित स्वागत गरे ।

बेलायतका विभिन्न स्थानबाट तामाङ पोशाकमा सजिएर आएका पाहुनाहरु करिब ६०० जना बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा धर्मगुरु टुल्कु जिग्मे रिन्पोछेले आयुको वाङ्ग प्रदान गरेका थिए । उक्त पूजा तथा वाङ्गको संयोजन तामाङ सोसाइटी अफ यूकेका प्रमुख लामा प्रेम लामाले गरेका थिए भने बीसीसी यूकेका लामाहरु तीर्थ गुरुङ, सानो लामालगायतले उक्त पूजा तथा वाङ्गमा साथ दिएका थिए ।

विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका गायक आसमान लोप्चाङ्ग, सानु लामा वाइवा, सागर एस वाइवालगायत स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरे ।

कार्यक्रममा नेपालबाट आमान्त्रित कलाकार तथा स्थानीय कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

त्यस्तै, तामाङ धिंम अर्थात तामाङ भवनमा आर्थिक सहयोग गर्ने दानबीरहरुलाई प्रशंसा पत्रसहित धन्यवाद ज्ञापन गरियो ।

उक्त कार्यक्रममा तामाङ्ग घेदुङ यूकेका अध्यक्ष राजेन योन्जन, तमु प्ये ल्हु संघ यूके अध्यक्ष रन गुरुङ, बीसीसी यूकेका अध्यक्ष धर्म तामाङ, सुनुवार समाज यूकेका अध्यक्ष यादव, पीपल मोर्गेजका निर्देशक सूर्य गुरुङ,  तामाङ समाज यूकेका अध्यक्ष कुमार लामा, बिएफबीएस रेडियोका स्टेशन मेनेजर योगराज राई लगायत बेलायतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

सोसाइटी अध्यक्ष ज्ञान तामाङको अध्यक्षतामा सम्पन्न भएको औपचारिक कार्यक्रम महासचिव मणि तामाङ र नेपालबाट आएकी मिस तामाङ नेपालकी विजेता–२०१८ सिम्रन स्याङ्बो तामाङ र साँस्कृतिक कार्यक्रम पञ्च तामाङले 
सञ्चालन गरेका थिए ।

त्यस्तै, सोही ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ यूकेले गत आइतबार २२ जनवरीका दिन अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके गुम्बामा सम्पूर्ण प्राणीजगतको सुस्वास्थ्य, दीर्घायू र शान्तिका लागि घ्यासी पूजापाठ समेत गरेको थियो ।

बीसीसी यूकेका श्रद्धेय लामा गुरु टुल्कु जिग्मे रिन्पोछे र खेन्पो टासी छिरिङ्ग तथा तामाङ सोसाइटी अफ यूकेका प्रमुख लामा प्रेम लामाले उक्त घ्यासी पूजा संयोजन गरेका थिए ।

बेलायतका विभिन्न स्थानबाट भक्तजनहरुको विशेष सहभागिता रहेको कार्यक्रममा तामाङ सोसाइटीको निमन्त्रणामा नेपालबाट बेलायत आएका आसमान लोप्चनलाई बीसीसी यूकेका अध्यक्ष धर्म तामाङ, आमा प्रमुख उर्मिला गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, उपाध्यक्षद्धय हर्क गुरुङ, रोबिन गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, महासचिव क्याप्टेन देब घले, आमा सचिव शारदा गुरुङलगायतले खादा लगाई स्वागत गरेका थिए । –पूर्ण गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू