शुक्रबार, चैत १६, २०८०
08:10 | १३:५५

नर्दन आयरल्यान्डमा नेप्लिज सेफ यूकेको शाखा गठन, संयोजक निउरे

नेपाली लिङ्क जनवरी २०, २०२३

लन्डन। बेलायतमा कार्यरत नेपाली सेफहरुको संस्थाले नर्दन आयरल्यान्डमा पनि आफ्नो शाखा बिस्तार गरेको छ ।

नेप्लिज सेफ एशोसिएसन यूकेले स्थानीय सफल व्यवसायी तथा अनुभवी सेफ लिलाराम निउरेको संयोजकत्वमा नर्दन आयरल्यान्ड शाखा गठन गरेको हो।

नेप्लिज सेफ एशोसिएसन यूकेका उपाध्यक्ष शिव कंडेलको उपस्थितिमा गत मंगलबार शाखा गठन गरिएको थियो।

निउरे संयोजक रहेको समितिमा उपसंयोजक रामु खड्का, सचिव मुक्ति कंडेल र कोषाध्यक्ष पूर्णेश्वर कंडेल छन् ।

त्यस्तै, सदस्यहरुमा बल थापा, उत्तम पाठक, डिल प्रसाद गैरे, रेसम सुवेदी, सविन पाण्डे, हेम शर्मा र भुमिश्वर सापकोटा चुनिएका छन्।

नेप्लिज सेफ एशोसिएसन यूकेका अध्यक्ष कोशलेश्वर ढकालले संस्थालाई बेलायतभरका नेपाली सेफहरुसम्म पुर्‍याउने लक्ष्यअनुरुप नर्दन आयरल्याण्डमा शाखा बिस्तार गरिएको जनाए।

बेलायतका अन्यमौलिक राज्यहरुमा पनि क्रमिक रुपमा पुग्ने योजना रहेको उनले जानकारी दिए।  

संयोजक निउरे- अनुभवी सेफदेखि व्यवसायीसम्म

एशोसिएसनको नवगठित नर्दन आयरल्यान्ड शाखाका संयोजक निउरे बेलायतको नेपाली समुदायमा एक परिचित सामाजिक अभियन्ता हुन्।

व्यवसायका साथै सामाजिक क्षेत्रमा पनि सक्रिय उनले यसअघि एनआरएनए नर्दन आयरल्यान्ड र नेपाली कम्युनिटी नर्दन आयरल्यान्ड जस्ता संस्थाको नेतृत्व सम्हालिसकेका छन्।

बाग्लुङ ताराखोलामा जन्मिएका निउरेले सन् २००५ मा बेलायत आउनुपूर्व भारत र गल्फ मुलुकका थुप्रै रेष्टुरेन्ट, होटेलमा सेफको अनुभव बटुलेका थिए। कलिलो उमेरमै रोजगारीका लागि भारत पसेका उनी कठोर मेहनत र कामप्रतिको निरन्तर लगावले एक कुशल सेफ मात्रै बनेनन्, बेलायतमा आफ्नै रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्नेसम्मको हैसियतमा आइपुगेका छन्।

नेप्लिज सेफ एशोसिएसनको नर्दन आयरल्यान्ड शाखाको नेतृत्व लिँदै गर्दा निउरे अहिले उत्साहित छन्। नर्दन आयरल्यान्डमा कार्यरत सबै नेपाली सेफहरुलाई एकताबद्ध गर्नु र त्यहाँका स्थानीयमाझ नेपाली खानाको प्रवर्द्धन गर्नु आफ्नो मूल प्राथमिकता रहने उनले बताए।

संयोजक निउरेका अनुसार हाल नर्दन आयरल्याण्डमा चार दर्जन हाराहारीमा नेपाली सेफ बसोबास गर्छन्। त्यस्तै, त्यहाँ नेपाली परिकार समेत उपलब्ध हुने नेपाली व्यवसायीद्वारा सञ्चालित इन्डियन तथा नेपाली रेष्टुरेन्टको संख्या पनि आधा दर्जनभन्दा बढी छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू