शनिबार, वैशाख ८, २०८१
09:05 | १३:५०

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा  नेपाल स्कटल्याण्डसँग पराजित

रासस डिसेम्बर ८, २०२२
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।
नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १२० रनको लक्ष्य स्कटल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पुरा गरयो ।
स्कटल्याण्डको जीतमा क्रस्टोफर म्याकब्रिडिले अविजित ४६ रन बनाए भने जर्ज मुन्सीले ४५ रन बनाए । त्यस्तै कायल कोट्जरले १६ रन बनाउँदा कप्तान रिची बेरिङ्टन १२ रनमा अविजित रहे । नेपालका लागि गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३५ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ११९ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए भने सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ललितनारायण राजवंशीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
स्कटल्याण्डका मार्क वाट, ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २-२ विकेट लिए । क्रिस्टोफर म्याकब्रिड, क्रिस सोल र क्रिस ग्रेभिसले समान १-१ विकेट लिए । विभिन्न सात टोली सहभागी विश्वकप लिग दुईमा जीतसँगै स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल भने २४ खेलमा १८ अंकसहित छैटौँ स्थानमा छ ।
प्रतियोगितामा नेपालले नामिबियाविरुद्धको पहिलो खेल वर्षा बाधक बन्दा अंक बाँडेको थियो । दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेट तथा तेस्रो खेलमा नामिबियासँग ८६ रनले पराजित भएको थियो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू