शुक्रबार, चैत १६, २०८०
10:16 | १६:०१

गुल्मी जिल्ला समाज यूकेको अपांगता च्यारिटीमा ८ हजार पाउन्ड संकलन

नेपाली लिङ्क डिसेम्बर ५, २०२२

लण्डन। गुल्मी जिल्ला समाज यूकेले अपागंता दिवसका अवसरमा हरेक वर्ष बेलायतमा गर्दै आएको च्यारिटी कार्यक्रम आइतबार लन्डनमा सम्पन्न भयो।  

साउथ इष्ट लन्डनको वेलिङस्थित सेन्ट माइकल्स कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रमबाट ८ हजार पाउन्ड बढि रकम संकलन भएको कोषाध्यक्ष मुकुन्द खरालले जानकारी दिए।  

संकलित रकम आशा अपागं केन्द्र तम्घास र गुल्मीकै रुरुस्थित अटिजम विद्यालयलाई सहयोग गरिने समाजले जनाएको छ।

अध्यक्ष वीर बलालको अध्यक्षतामा सम्पन्न च्यारिटीमा कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतवासी गुल्मेलीहरुले गर्दै आएको परोपकारी कार्यको प्रशंसा गरे।

समाजले गरेका अपांगता भएका व्यक्तिहरुको सहयोग, एम्बुलेन्स वितरण जस्ता कार्यलाई उनले उदाहरणीय भने ।

एनआरएन युके अध्यक्ष प्रेम गाहामगरले आफू पनि गुल्मेली भएको भन्दै समाजको हरेक कार्यमा साथ, सहयोग रहने जानकारी दिए।  

च्यारिटी कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउचाले आशा अपांग केन्द्रले गरिरहेका कार्यहरु पावरपोइन्ट प्रिजेन्टेसनमार्फत् जानकारी गराए ।  

कार्यक्रममा विशेष अतिथि एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, सल्लाहकार केशव भण्डारी, पूर्व अध्यक्ष राम गलामी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा नेपाली दूतावासका द्धितिय सचिव रामबाबु नेपाल, काउन्सिलरहरु जीत रानाभाट र नेम थापा लगायत अतिथिहरु पनि सहभागी थिए।

समाजका अध्यक्ष वीर बलालले च्यारिटीबाट उठेको रकम जिल्लाका अपागंता भएकाहरुका क्षेत्रमा खर्च गरिने जानकारी गराए। कार्यक्रममा उपस्थित हुने र सहयोग गर्ने सबैलाई उनले  धन्यवाद व्यक्त गरे ।

कार्यक्रम संयोजक एवम् समाजकी उपाध्यक्ष तारा भट्टराईले कार्यक्रम सम्पन्न गर्न विभिन्न माध्यमबाट सहयोग गर्ने सहयोगदातालाई धन्यवाद दिइन्।  

कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेले विभिन्न सफलता प्राप्त गर्ने सल्लाहकारहरु र कलाकारहरुलाई सम्मान गरेको थियो। त्यस्तै, अपांगता  भएका अभियन्ताहरु शान्ति कुँवर, हरि बुढा र विनोद बुढाथोकीलाई सम्मान गरिएको थियो।  

कार्यक्रममा समाजका सल्लाहकार एवम् पत्रकार फडिन्द्र भट्टराईले सुन्दर कविता वाचन गरेका थिए। गुल्मेली नौमती बाजाका साथै  लोकदोहोरी गायिका रुपा घर्ती मगर, जसु गुरुङ, क्याप्टेन विर बहादुर थापालगायतले सांगीतिक प्रस्तुति गरेका थिए।  

दीपक थापा मैथानेसहितका स्थानीय कलाकारहरुले आकर्षक नृत्य एवं सांस्कृतिक प्रस्तुति देखाएका थिए भने डिजे हेम विष्टले नचाएका थिए।  

कार्यक्रम सञ्चालन महासचिव रुद्र थापाले गरेका थिए भने सह संयोजन सचिव महलाल घिमिरे र सांस्कृतिक कार्यक्रम संयोजन माया केसीले गरेका थिए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू