शुक्रबार, वैशाख ७, २०८१
16:34 | २१:१९

स्कटल्यान्डको एबर्डिनमा स्वरसम्राट नारायण गोपालको सम्झना

नेपाली लिङ्क डिसेम्बर ४, २०२२

स्कटल्याण्ड। बेलायतको स्कटल्याण्ड एबर्डिनमा स्वर सम्राट नारायण गोपालको ३२ औं पुण्य तिथिको अवसर पारेर ‘नारायण गोपाल स्मृति साँझ २०७९’ सम्पन्न भएको छ। 

नेप्लिज हिमालयन एशोसिएसन स्कटल्याण्डले गरेको कार्यक्रममा स्थानीय नेपालीहरुले नारायण गोपालका करिब २० वटा गीत गाएर उनीप्रति श्रद्धासुमन अर्पण गरे ।

स्वर्गीय नारायण गोपालको ५१ वर्षको उमेरमा विसं. २०४७ साल मंसिर १९ गते निधन भएको थियो।

नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सुरुवात् लक्ष्मणराज लोहनीको रचना र चन्द्रराज शर्माको संगीतमा नारायण गोपालले गाएको राष्ट्रिय गीत ‘म मरेपनि मलाई मेरो देशको माया छ’  बोलको गीत गाएर गरिएको थियो ।

कार्यक्रममा नारायण गोपालको स्वरमा रहेका गीतहरु ‘आँखा छोपी नरोऊ भनी’ (डा. शिव तिवारी), यति धेरै माया दिई (डा. निर्मल अर्याल), झरेको पात झै (तोया सापकोटा), मोहनी लाग्ला है (लव सिंखडा र राज्यलक्ष्मी राणा), अल्झेछ क्यारे पछ्यौरी (टक थापा), केही मीठो बात गर (सीमा दर्नाल), एउटा मान्छेको मायाले कति (अमीत न्यौपाने), मेरो आँखालाई राख्ने (कामु ढकाल), कसरी म भुलें (डा. मुकुल दाहाल), म त लालीगुराँस भएछु (डा. नारायण श्रेष्ठ), वीरताको चिनो (गणेश घले), मलाई नसोध कहाँ दुख्छ घाउ (अश्विनी धौबडेल), सिरीमा सिरी (कमला घिमिरे र गणेश घले), ए कान्छा ठट्टैमा (शर्मिला अधिकारी र टक थापा), यति चोखो यति मीठो (सागर सिटौला) लगायत गीत गाइएको थियो । 


कार्यक्रममा विगतमा लामो समय एबर्डिनमा बसेर हाल इंग्ल्यान्डमा कार्यरत डा प्रमोद रेग्मीले ‘हिमाल सरी म’, ‘तिम्रो जस्तो मुटु’ र डा सोहन घिमिरेले ‘दुईटा फूल देउरालीमा’ बोलको गीत गाएर अनलाइनमार्फत् सहभागिता जनाएका थिए। 

सञ्चारकर्मी डा शिव तिवारी र डा निर्मल अर्यालको परिकल्पना तथा संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो । 

नेप्लिज हिमालयन एशोसिएसन स्कटल्याण्डका अध्यक्ष नवीन क्षेत्रीले विदेशी भूमिमा रहेर पनि नेपाली श्रष्टाहरुमा समर्पित कार्यक्रम गर्नु ठुलो कुरा भएको भन्दै कार्यक्रम निकै सफल रहेको र यसले आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न हौसला मिलेको बताए।

एबर्डिनमा सन् २००७ मा स्थापित एशोसिएसनले विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउंदै आएको छ। कोभिडको विषम परिस्थितिमा पनि संस्थाले अन्य विभिन्न संघसंस्थासंगको समन्वयमा बेलायतमा नेपाली तथा अन्य समुदायलाई झण्डै ४५ हजार पाउण्ड बराबरको सहयोग गरेको थियो।

त्यस्तै, राष्ट्रिय आविस्कार केन्द्र, रवि लामिछाने फाउन्डेसनजस्ता संघसंस्थामार्फत् सहयोग रकम नेपाल पठाइएको थियो।

एशोसिएसनले एनआरएनए स्कटल्याण्डसँग पनि सहकार्य गरी विभिन्न कार्य गर्दै आएको छ । स्थानीय नेपाली बालबालिकालाई लक्षित गरी विगत ९ वर्षदेखि निरन्तर नेपाली भाषा कक्षा सञ्चालन गर्दै आइरहेको संस्थाले नियमित साहित्यिक कार्यक्रमहरू समेत गर्ने गर्दछ। 

एबर्डिनमा करिब साढे तीन सयको संख्यामा नेपालीको बसोबास छ । –डा शिव तिवारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू