मंगलबार, वैशाख ११, २०८१
14:59 | १९:४४

बेलायतको रोयल एसियाटिक सोसाइटीले पुरस्कार स्थापना गरेकोमा सुवेदीलाई बधाई

नेपाली लिङ्क डिसेम्बर १, २०२२

लन्डन । ब्रिटेन नेपाल लयर्स एसोसिएसनले संस्थाका संरक्षक प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको नाममा बेलायतको द रोयल एसियाटिक सोसाइटीले वार्षिक पुरस्कार स्थापना गरेकोमा सुवेदीलाई बधाई दिएको छ ।

एसोसिएसनका नवनियुक्त अध्यक्ष सोलिसिटर दीपक भट्टराईले बिहीबार एक विज्ञप्ति जारी गर्दै बधाइ दिएका हुन् । प्रा. सुवेदीका नाममा प्रतिष्ठित संस्थाद्वारा पुरस्कार स्थापना हुनु गौरवको कुरा भएको अध्यक्ष भट्टराईले उल्लेख गरेका छन् । प्राध्यापक सुवेदी संस्थाका सदस्यहरूका लागि ‘रोल मोडल’ बनेको पनि विज्ञप्तिमा उल्लेख छ ।

एसोसिएसनले देश विदेशका लेखकहरुलाई समयसीमा अगाडि नै पुरस्कारका लागि आवेदन दिन पनि अपिल गरेको छ ।

एसोसिएसन अध्यक्ष सोलिसिटर दीपक भट्टराई

बेलायतको रोयल एसियाटिक सोसाइटीले बुधबार नेपालबारे अंग्रेजीमा प्रकाशित कुनै विशिष्ट पुस्तक वा आलेखलाई प्रदान गर्ने गरि प्रा. सुवेदीको नाममा एक वार्षिक पुरस्कार स्थापना गरेको जनाएको थियो । संसारभरबाट नेपालसम्बन्धि प्रकाशित पुस्तकले उक्त पुरस्कार पाउन सक्छन् ।

रोयल सोसाइटीको सूचना अनुसार उक्त पुरस्कार सन् २०२३ देखि वर्षेनी प्रदान गरिने छ । यसका साथै रोयल एसियाटिक सोसाइटीले उक्त पुरस्कार विजेताबाट प्रत्येक वर्ष प्रा सुवेदीको नाममा एक प्राज्ञिक प्रवचन आयोजना गर्ने पनि बताएको छ ।

प्रा. सुवेदीका अक्सफोर्ड विश्वविद्यालयका झन्डै ३० वर्ष अघिका सहपाठी अमेरिकन नागरिक डा. जेम्स बुसुटिलले आफ्नै खर्चमा रोयल एसियाटिक सोसाइटीमा ‘प्रा. सूर्य सुवेदी पुरस्कार’ स्थापना गरेका हुन् ।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सुवेदी न्याय र कानूनको क्षेत्रमा संसारकै प्रतिष्ठित व्यक्तित्वभित्र पर्दछन् । उनले कयौं प्रतिष्ठित पुरस्कार समेत पाएका छन् ।

भौतिक रूपमा विदेशमा रहेपनि निरन्तर मुलुकको सेवा गर्दै आएका प्रा. सुवेदीले सरकारमा जो आएपनि परि आउँदा राष्ट्रहितका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनका महत्वपूर्ण विषयमा सबैका साझा व्यक्तिको रूपमा नेपालका सबै सरकारलाई सल्लाह दिंदै आएका छन्।

विज्ञप्ति-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू