मंगलबार, चैत ६, २०८०
04:14 | ०९:५९

बेलायतको रोयल एसियाटिक सोसाइटीले प्रा. सुवेदीको नाममा गर्‍यो पुरस्कार स्थापना

नेपाली लिङ्क नोभेम्बर ३०, २०२२

लन्डन । बेलायतको रोयल एसियाटिक सोसाइटीले नेपालबारे अंग्रेजीमा प्रकाशित कुनै विशिष्ट पुस्तक वा आलेखलाई प्रदान गर्ने गरि प्रा. सूर्यप्रसाद सुवेदी को नाममा एक वार्षिक पुरस्कार स्थापना गरेको छ । संसारभरबाट नेपालसम्बन्धि प्रकाशित पुस्तकले उक्त पुरस्कार पाउन सक्छन् ।

रोयल सोसाइटीले लन्डनमा आज प्रकाशित गरेको सूचना अनुसार उक्त पुरस्कार सन् २०२३ देखि वर्षेनी प्रदान गरिने छ । यसका साथै रोयल एसियाटिक सोसाइटीले उक्त पुरस्कार विजेताबाट प्रत्येक वर्ष प्रा सुवेदीको नाममा एक प्राज्ञिक प्रवचन आयोजना गर्ने पनि बताएको छ ।

सोसाइटीको पुरा नाम रोयल एसियाटिक सोसाइटी अफ ग्रेट ब्रिटेन एण्ड आयरल्याण्ड हो । संस्कृतका विद्वान हेनरी टमस कोल्ब्रुकले सन् १८२३ मा स्थापना गरेको सोसाइटीले आउँदो वर्ष (सन् २०२३ मा) आफ्नो स्थापनाको २०० औं वर्षगाँठ मनाउँदै छ।

नोबेल पुरस्कार विजेता भारतीय कवि रबिन्द्रनाथ टेगोर, प्राचीन ‘सिल्क रोड’ पत्ता लगाएका प्रसिद्ध पुरातत्वविद् सर अरियल स्टेन तथा ‘कामसूत्र’ लाई अंग्रेजीमा अनुवाद गर्ने विद्वान सर रिचार्ड बर्टन उक्त सोसाइटीका सदस्य रहिसकेका छन्।

सोसाइटीले एसियाली इतिहास, भाषा, संस्कृति र धर्मबारे अध्ययन, अनुसन्धान र प्रकाशनलाई सघाउनुका साथै विभिन्न विषयमा व्याख्यान तथा सेमिनारहरु पनि आयोजना गर्दछ। सोसाइटीको त्रैमासिक जर्नल क्याम्ब्रिज युनिभर्सिटी प्रेसले छाप्ने गर्दछ ।

प्राध्यापक सुवेदी नेपालको मात्र नभइ बेलायतको प्राज्ञिक क्षेत्रमा समेत स्थापित नाम हो । लमजुङमा जन्मी–हुर्की अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधिसमेत हासिल गर्ने प्रा. सुवेदी सम्भवतः सबैभन्दा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मान सम्मान पाउने नेपाली हुन् ।

मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीबाट उनले मानार्थ ओबीई र मानार्थ क्वीन्स काउन्सेल जस्ता विशिष्ट कानूनविदहरुलाई दिइने उच्च उपाधि प्राप्त गरेका थिए । मुलुकलाई महत्वपूर्ण योगदान दिए वापत उनले नेपालका राजा र राष्ट्रपतिबाट उच्च मानपदवी पाएका छन्।

प्रेरणादायी प्रसंग के छ भने प्रा सुवेदीका अक्सफोर्ड विश्वविद्यालयका झन्डै ३० वर्ष अघिका सहपाठी अमेरिकन नागरिक डा. जेम्स बुसुटिलले आफ्नै खर्चमा रोयल एसियाटिक सोसाइटीमा ‘प्रा. सूर्य सुवेदी पुरस्कार’ स्थापना गरेका हुन् ।

सुवेदीको नाम आउंदा कैयौं पुस्तासम्म पनि जीवन्त रहोस् भन्ने उद्देश्यले यो पुरस्कारलाई स्थायी स्वरुप दिइएको बुसुटिलले बताए ।

प्रा. सुवेदी न्याय र कानूनको क्षेत्रमा संसारकै प्रतिष्ठित व्यक्तित्वभित्र पर्दछन् । भौतिक रूपमा विदेशमा रहेपनि निरन्तर मुलुकको सेवा गर्दै आएका प्रा सुवेदीले सरकारमा जो आएपनि परि आउँदा राष्ट्रहितका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनका महत्वपूर्ण विषयमा सबैका साझा व्यक्तिको रूपमा नेपालका सबै प्रकारका सरकारलाई सल्लाह दिंदै आएका छन्।

उदाहरणार्थ, सन् १९८९ को भारतीय नाकाबन्दीको समय राजा वीरेन्द्र र परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय कानूनी सल्लाहकार भएर, नेपालको नंया नक्सा समावेश गरेर संविधान संसोधन गर्दा र त्यसपछिको नीति निर्माण गर्न सन् २०२० मा प्रधानमन्त्री केपी ओलीको समयमा नेपाल सरकारले गठन गरेको नेपाल–भारत सिमा सम्बन्धि विज्ञ समूहको सदस्यको रूपमा र त्यसपछि नेपालको नीति प्रतिष्ठानको परराष्ट्र विषयको विशिष्ट सल्लाहकार भएर समेत प्रा. सुवेदीले आफ्नो भूमिका निर्वाह गरेका छन्।

त्यसैगरि सन् २०२२ मा अमेरिकासंगको एमसीसी सम्झौता संसदले अनुमोदन गर्ने कार्यमा उनले दिएको अन्तर्राष्ट्रिय कानूनी सल्लाहले एक किसिमले निर्णायक भूमिका खेलेको थियो ।

उनले अन्तरराष्ट्रिय कानूनका प्रायः सबै आयाममा १२ वटा विश्वस्तरका ग्रन्थ र ६० भन्दा बढी अनुसन्धात्मक लेख संसारका ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित गरेका छन् ।

प्रा. सुवेदीले नेपाल, बेलायत लगायत चीन, नेदरल्यान्ड्स, भियतनाम, इन्डोनेसिया, लाओस र कतार गरि १० वटा देशलाई कानूनी सल्लाह दिएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू