शुक्रबार, चैत १६, २०८०
08:07 | १३:५२

एनआरएनए यूके विवादले नेपालका कानून व्यवसायी बेलायत आउन रोकिए

नेपाली लिङ्क नोभेम्बर २५, २०२२


लण्डन । दुई समूहमा विभाजित एनआरएनए यूके विवादले नेपालका कानून व्यवसायी बेलायत आउन रोकिएका छन् ।

प्रेम गाहामगर अध्यक्ष रहेको एनआरएनए यूके ‘स्पोन्सरसीप’ मा भिजा लिएर अर्कै समूहको कार्यक्रममा सहभागी हुन लागेको भन्दै गाहामगरले नेपालका कानून व्यवसायीको भिजा रद्द गरिएको बताएका छन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे तथा नेपाल बार एसोसिएसनका पूर्व महासचिव तथा वरिष्ठ अधिवक्ता सुनिल पोखरेल सुनिलबाबु खड्का  अध्यक्ष रहेको एनआरएनए यूके कार्यक्रममा बेलायत आउन लागेका थिए ।  

गाहामगरले उनीहरुको भिजा बेलायती हाइ कमिसनमार्फत रद्द गरिएको बताए ।

कानून व्यवसायी घिमिरे र पोखरेललाई अध्यक्ष गाहामगरले गत ६ अगष्ट, २०२२ को वार्षिक साधारणसभामा प्रमुख वक्ताका रुपमा आउन ३ जुलाइमा बोलाएका थिए । 

तर, उक्त कार्यक्रम सकिइसकिएको अवस्थामा एनआरएनए यूकेको अर्को समूहको कार्यक्रममा अहिले आउन लागेपछि आफूले नयां दिल्लीस्थित ब्रिटिश हाइ कमिसनमा इन्ट्री क्लियरेन्स अफिसर र बोर्डर फोर्सलाई ९ नोभेम्बरमा पत्राचार गरेर भिजा रद्द गरिएको अध्यक्ष गाहामगरले बताए । 

‘हामीले जुन प्रयोजनका लागि स्पोन्सर गरेका थियौं, भिसा ढिलाइले त्यो कार्यक्रममा उहांहरु आउन सम्भव भएन । अहिले उहांहरु बिना सन्दर्भ अवैधानिक समूहको कार्यक्रममा आउन लागेको थाहा पाएपछि मैले कठोर कदम चालेको हुं’, गाहामगरले भने ।

उनले बोर्डर फोर्सलाई शनिबार १९ नोभेम्बर र दुवै अतिथीहरुलाई २० नोभेम्बर आइतबार इमेलमार्फत बेग्ला बेग्लै जानकारी दिइसकिएको जनाए ।  

‘हामीले संस्था भत्काउने र अरु समूहको पक्षपोषण गर्ने व्यक्ति खोजेका होइनौं । त्यस्तो तत्वलाई नियन्त्रण गर्न कुनै कसर बांकी राखिने छैन’, अध्यक्ष गाहामगरले भने ।

सुनिलबाबु खड्काको कार्यसमितिले नेपालका कानूनी व्यवसायीको सहभागितामा आउंदो २७ नोभेम्बरमा लन्डन साउथ ह्यारोमा गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको स्वामित्व, उपभोग र स्वामित्व ग्रहण तथा हस्तान्तरण सम्बन्धमा रहेका कतिपय कानूनी अस्पष्टताका सन्दर्भमा छलफल गर्न एउटा कार्यक्रम गर्न लागेको थियो ।

तर खड्काले शुक्रबार एक सूचना जारी गर्दै विशेष कारणबस हाललाई उक्त कार्यक्रम स्थगित गरिएको जनाएका छन् । 

‘यही २७ नोभेम्बरमा गर्ने भनिएको कार्यक्रम विशेष कारणबस हाललाई स्थगित गरिएको कुरा जानकारी गराउन चाहन्छु । यो निकट भविष्यमा पुनः आयोजन गरिने हुँदा कार्यक्रमको विवरण सहित पुनः निमन्त्रणा पत्र पठाइने कुरा जानकारी गराउन चाहन्छु’- खड्काको इमेलमा उल्लेख छ । 

उता, ब्रिटेन नेपाल लयर्स एसोसिएसनले पनि तिनै अतिथीहरुको सहभागितामा सेमिनारसहित वार्षिक साधारणसभा गर्ने कार्यक्रम थियो । तर, अब उनीहरु नेपालबाटै जुममार्फत जोडिने एसोसिएसनले जनाएको छ ।  

गाहामगरको पत्र-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू