वुल्वीचको गोर्खा चौतारा प्रोजेक्टलाई नेपालीले जुटाए ३३ हजार पाउन्ड



लन्डन-साउथ इष्ट लन्डनको वुल्वीचमा निर्माण गरिने गोर्खा चौताराका लागि स्थानीय नेपालीहरुले तीस हजारभन्दा बढी रकम जुटाएका छन्।
कोष संकलनका लागि शनिबार वुल्वीच ब्यारेकको ‘अफिसर्स मेस’ मा गरिएको च्यारिटी डिनरमार्फत् झन्डै ३३ हजार पाउन्ड जम्मा भएको संयोजक श्रीचन्द्र गुरुङले जानकारी दिए।
जम्मा तीन लाख ३० हजार पाउन्ड लागतमा वुल्वीचको ग्यारिजन चर्च परिसरमा छुट्टा छुट्टै बनाइने कमनवेल्थ र गोर्खा गार्डेनको प्रोजेक्टमा नेपाली समुदायको तर्फबाट सहयोग जुटाउन कार्यक्रम गरिएको थियो।
च्यारिटी डिनरमा झन्डै एक सय २० जनाको सहभागिता थियो भने कार्यक्रममा अनुपस्थित कयौं दाताले समेत सहयोग गरेका थिए। कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीय नेपाली साथै बेलायती समुदायका सदस्यहरुको पनि उपस्थिति थियो।
च्यारिटी कार्यक्रममा प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्रमा नेपाली शैलीको गोर्खा चौतारा निर्माण हुनु खुशीको विषय रहेको बताइन्।
चौताराले दुई देशबीचको ऐतिहासिक र जनस्तरको सम्बन्धलाई थप मजबुद गर्ने विश्वास उनले व्यक्त गरिन्।
वुल्वीच ग्यारिसन चर्चका अध्यक्ष टिम बार्न्स् ‘क्यूसी’ले प्रोजेक्टका लागि नेपाली समुदायबाट प्राप्त साथ र सहभागिताबाट आफू प्रभावित बनेको सुनाए। यो प्रोजेक्ट सफल पार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले संयोजक श्रीचन्द्र गुरुङ र सिंगो नेपाली समुदायको प्रशंसा गरे।
उक्त अवसरमा साउथ इष्ट रिजनल तमुधिँ लन्डनकी उपाध्यक्ष एवम् आमा समूह प्रमुख विन्दु गुरुङ र उपाध्यक्ष पिके लामाको संयोजकत्वमा २ दिन देउसीभैलो खेलेर उठाएको रकमबाट आधा २ हजार ६ सय एक पाउन्ड र आमा प्रमुख विन्दु गुरुङ र उनको समूहले फुड स्टल राखेर उठाएको रकम ५ सय ५ पाउन्ड गरी जम्मा ३ हजार १ सय ६ पाउन्ड प्रोजेक्टलाई हस्तान्तरण गरिएको थियो।
त्यस अवसरमा संयोजक गुरुङले नेपाली समुदायबाट प्राप्त सहयोग र दाताहरुबारे जानकारी गराए। उनले सहयोगी स्थानीय संघसंस्था, सामाजिक अभियन्ता एवम् व्यवसायीहरुको सहयोगका लागि आभार प्रकट गरे।
प्रोजेक्टमा महत्वपूर्ण सहयोग गर्ने साउथ इष्ट रिजनल तमुधिं लन्डन र अध्यक्ष ह्यारी गुरुङ, उपाध्यक्ष पिके लामा, विसन थापा, आमा समूहकी प्रमुख विन्दु गुरुङ, पूर्व प्रमुख पार्वती गुरुङ र रेशम-कमला गुरुङ, खिम-कमला गुरुङ, विष्णु गुरुङ, तारा-याम गुरुङ, लक्ष्मी गुरुङ र यशोधा राई, सुवास गुरुङ, सूर्य गुरुङ, नेपाली युथ एशोसिएसन, डायमन्ड बुद्धिष्ट सेन्टर, मगर समाज र क्षेत्री समाजसहित साउथ इष्टस्थित सबै नेपाली संस्था, पर्यटन दूत महन्त श्रेष्ठ, व्यवसायीहरु रविन्द्रजंग लामिछाने र उत्तम नेपाल, पशुपतिनाथ मन्दिर लन्डनका संस्थापक होम शर्मा, सोलिसिटर दीपक भट्टराई, एकाउन्टेन्ट रवि रिमालसहितका सबै सहयोगीप्रति संयोजक गुरुङले आभार प्रकट गरेका छन्।
नेपाली शैलीको चौतारा निर्माण गर्ने जिम्मा गोर्खा पल्टनको ‘क्वीन गोर्खा इन्जिनियर्स’ ले लिएको छ। नेपालकै मौलिक चौताराकै झल्को दिलाउने गरी बस्ने र भारी बिसाउने दुई तहसहितको चौतारा बन्ने जनाइएको छ।
कार्यक्रममा प्रोजेक्टका सहयोगी विभिन्न संस्था एवम् समाजसेवीहरुलाई प्रमुख अतिथि उपनियोग प्रमुख खनाल, वुल्वीच ग्यारिसन चर्चका अध्यक्ष टिम बार्न्स् ‘क्यूसी’, संयोजक श्रीचन्द्र गुरुङ, प्रोजेक्टका प्रवर्द्धक लेफ्टिनेन्ट कर्णेल टोल खाम्चालगायतले प्रमाणपत्र वितरण गरेका थिए।
सो अवसरमा विभिन्न नेपाली तथा बेलायती कलाकारले मनोरञ्जनात्मक प्रस्तुति पनि गरेका थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५