बिहीबार, कार्तिक ८, २०८१
17:55 | २२:४०

आमनिर्वाचन सम्पन्न, शान्तिपूर्ण र व्यवस्थित रहेको पर्यवेक्षण संस्थाको निष्कर्ष

रासस नोभेम्बर २०, २०२२

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ कबरहल केन्द्रमा भएको मतदान केन्द्रबाट मुख्य निर्वाचन कार्यालयमा मतपेटिका लैजाँदै निर्वाचन टोली र सुरक्षाकर्मी । तस्बिर- दिलकुमार लिम्बू, रासस

काठमाडौं । आज बिहान ७ देखि साँझ ५ बजेसम्मका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समय सकिएको छ । निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ ।
केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको छ । निर्धारित समय सकिए पनि मतदान केन्द्रको हाताभित्र लाइनमा रहेका मतदाताले मतदान गर्न पाउनेछन् । मधेस प्रदेशमा कुनै पनि मतदान केन्द्रमा मतदान स्थगन नभई सम्पन्न भएको छ ।
हालसम्मको प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मतदान भएको छ । दल र उम्मेदवारहरूबीचको विवादका कारण बाजुरा, सुर्खेत, ताप्लेजुङ, नवलपरासी पूर्व, गुल्मी, दोलखालगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ । बाजुरामा हिंसात्मक घटना भएको जानकारी आएको छ ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको थियो ।
निर्वाचन आमरूपमा शान्तिपूर्ण र व्यवस्थित: पर्यवेक्षण संस्था

नेपालको आमनिर्वाचनको पर्यवेक्षण गर्न नेपाल आएका जापानका विदेश मामिलासम्बन्धी राज्यमन्त्री शुन्सुके ताकेई काठमाडौँको हनुमानढोकास्थित मतदानस्थलमा मतदान प्रक्रियाबारे जानकारी लिँदै । तस्बिर- किरणराज बिष्ट, रासस

निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको जनाएको छ ।
मतदानमा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्ग, समुदाय, लिङ्ग र अवस्थाका मतदाताको उत्साहवद्र्धक सहभागिता भएको आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले जानकारी दिएको छ ।
निर्वाचन शान्तिपूर्ण हुनुमा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित, सहयोगात्मक र शान्त भएको पाइएको संस्थाका महासचिव कृष्णमान प्रधानले बताए ।
बिहान प्रारम्भिक चरणमा मतदाताको पातलो उपस्थिति देखिए पनि दिउँसो मतदाताको चाप र उपस्थितिमा सुधार आएको थियो ।
उक्त संस्थाले मुलुकका ३६ जिल्लाको दुई सय ५० पालिकामा राष्ट्रियस्तरका ३०, जिल्लास्तरका ३६ र स्थानीय तहका दुई सय ८४ पर्यवेक्षक खटाएको थियो ।
पूर्वप्रधानन्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्त र पूर्वमुख्य सचिवसहितको १० विशेष पर्यवेक्षक टोलीले दिएको प्रारम्भिक प्रतिवेदनका आधारमा संस्थाले निष्कर्ष निकालेको उल्लेख गरेको छ ।
यसै राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन शान्तिपूर्ण रहे पनि विगतका निर्वाचन जस्तो मतदातामा उत्साह कम रहेको तथा मतदान प्रतिशत पनि घट्न सक्ने आकलन गरेको छ ।
उक्त संस्थाले यस निर्वाचनमा एक हजार आठ सय पर्यवेक्षक खटाएको नियोगका कार्यकारी निर्देशक विकल श्रेष्ठले बताउनुभयो । उक्त संस्थामा रहनुभएका एक पूर्वप्रमुख निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचनको पर्यवेक्षण गरेको हो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू