शुक्रबार, चैत १६, २०८०
08:03 | १३:४८

बेलायतका व्यवसायी डा. रिजालको ‘ह्यारी की प्यारी’ माघ २० मा

नेपाली लिङ्क नोभेम्बर १८, २०२२

लन्डन । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स अध्यक्ष डा. कपिल रिजाल यतिखेर व्यवसायबाट ओझेल परेका छन् ।

पेशाले दन्त चिकित्सक डा. रिजाल बेलायतमा चालु आफ्ना झण्डै आधा दर्जन डेन्टल सर्जरी चटक्क छाडेर यतिखेर नेपाल र भारतमा व्यस्त भइरहनुको पछाडि एउटा कारण छ चलचित्र रिलिजको चटारो ।

आफ्नो निर्देशनको पहिलो फिचर फिल्म ‘ह्यारी की प्यारी’ रिलिज गर्न जुटेका छन् डा. रिजाल ।

डा. रिजालले शुक्रबारमात्र आफ्नो रोमान्टिक कमेडी फिल्म ‘ह्यारी की प्यारी’ को फर्स्ट लुक पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका छन् । उक्त चलचित्र आउंदो माघ २० अर्थात फेब्रुअरी ३ देखि प्रदर्शनमा आउने भएको हो ।

चलचित्रमा हास्य कलाकार जितु नेपाल र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह शीर्ष भूमिकामा छन्। जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा देखिनेछन् । उनीहरु अलवा चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रमा अरु केही सरप्राइजसमेत रहेको निर्देशक रिजालले बताए ।

डा. कपिल रिजालको प्रस्तुति र निर्देशन रहेको चलचित्रमा कथा डा. रिजाल आफ्नै, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौरभ दास, थोम्सन एन्ड्रुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन सुदीप बराल र सम्पादन अर्जुन जिसीको छ ।

परम्परागत ढर्राबाट अलिक पर रहेर चलचित्रमा पृथक स्वाद पस्कन प्रयास गरेको निर्देशक डा. रिजाल बताउंछन् ।

विगत अढाइ दशकदेखि बेलायत बस्दै आएका रिजालको पारिवारिक पृष्ठभूमि पनि चिकित्सासंगै सिनेमा हो ।

फिल्म निर्माता, गीतकार तथा लोकप्रिय स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा कपिलले आफ्नै बाबुको पाइला पछ्याइरहेका छन् । उनी विदेशमा बसेर पनि नेपाली फिल्मलाई औधि माया गर्छन्, फिल्म निर्माण र निर्देशनमा आफूलाई अग्रसर गराइरहन्छन् ।

बेलायतमा च्यारिटी कर्म र विभिन्न संघसंस्थामा समेत आवद्ध रिजालले निर्देशन गरेको सर्ट मुभी (छोटो फिल्म) ‘कर्माः लाइफ इज अ बुमरयाङ, यु गेट ह्वाट यु गीभ’ गत वर्ष सार्वजनिक भएको थियो । ११ मिनेट २० सेकेन्डको अंग्रेजी सस्पेन्स थ्रिलर उक्त फिल्म जस्तो कर्म गरयो, त्यस्तै फल पाइन्छ भन्ने विषयमा केन्द्रित थियो । डा. रिजालले कयौं म्यूजिक भिडियो पनि निर्देशन गरिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू