बिहीबार, कार्तिक ८, २०८१
17:55 | २२:४०

हेल्प नेपाल नेटवर्क यूकेमा नयाँ कमिटी, अध्यक्षमा आए सचिन श्रेष्ठ

नेपाली लिङ्क नोभेम्बर १४, २०२२

लन्डन। हेल्प नेपाल नेटवर्क यूकेमा नयाँ कार्यकारी कमिटी चयन भएको छ।

आइतबार पूर्वी लन्डनको स्ट्याटफोर्डमा सम्पन्न बोर्ड अफ ट्रस्टिजको विशेष बैठकले सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको हो।

तीन वर्षे कार्यकालका लागि हेल्प नेपाल नेटवर्क यूकेको नेतृत्वमा आएका श्रेष्ठ विगत एक दशकयता सो संस्थामा कोषाध्यक्षको जिम्मेवारीमा थिए।

नवनिर्वाचित कमिटीमा यादव भण्डारी उपाध्यक्ष, प्रदिप पनेरु महासचिव, डा. सुदर्शन गुरुङ सचिव र प्रतिमा जोशी कोषाध्यक्ष छन्। कमिटीको सदस्यमा भगिरथ योगी, प्रसिद्ध   प्रधान, कुलदीप प्रधान र लछुमन गुरुङ चुनिएका छन्। 

सदस्य योगीलाई संस्थाको मिडिया संयोजकको जिम्मेवारी पनि दिइएको छ।  

९  सदस्यीय कार्यकारी कमिटीका सबै पदाधिकारी एवम् सदस्य स्वत: संस्थाको ट्रस्टी पनि रहनेछन्।

सन् १९९९ मा रविन्द्र मिश्रको पहलमा बेलायतबाटै शुरु भएको हेल्प नेपाल नेटवर्क नेपाल केन्द्रित परोपकारी संस्था हो। ‘नेपालका लागि नेपालीकै सहयोग’ को अवधारणामा स्थापित संस्थाले अहिलेसम्म नेपालमा करोडौँ रुपैयाँको सहयोग गरिसकेको जनाएको छ। 

मुख्यत: आफ्नो सहयोगलाई स्वास्थ्य र शिक्षामा केन्द्रित गरेको नेटवर्कले नेपालका सय बढी स्कुलहरुमा स्कुल भवन निर्माण, लाइब्रेरी तथा इ-लाइब्रेरी स्थापनालगायतका कार्य गरिसकेको छ।

संस्थाले थुप्रै हेल्थ क्याम्पहरु सञ्चालन गर्नुको साथै मुगुको विकट गाउँमा हेल्थ पोस्ट स्थापना गरी सञ्चालन गर्दै आएको छ। नेटवर्कद्वारा काभ्रेको धुलिखेलमा सञ्चालित एक बाल गृहमार्फत् कयौं अनाथ र विपन्न परिवारका बालबालिकाले आश्रय र शिक्षा दिक्षा प्राप्त गरिरहेका छन्।

हेल्प नेपाल नेटवर्कका बेलायत र अमेरिका, अष्ट्रेलियासहित विभिन्न ११ मुलुकमा शाखा स्थापना भएका छन्। ती शाखाहरुले संकलन गरी पठाउने कोषबाट नेटवर्कले नेपालमा आफ्ना परोपकारी प्रोजेक्ट सञ्चालन गर्दै आएको छ।

संकलित कोषको हरेक पैसा परोपकारमै खर्च गर्ने नीति बनाएको नेटवर्कले व्यस्थापकीय खर्चका लागि स्थापित छुट्टै अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याज मात्रै खर्च गर्ने गरेको छ।

बेलायतमा पनि नेटवर्कको शाखा यहाँको च्यारिटी कमिसनमा दर्ता भएर सञ्चालन हुँदै आएको छ।

यूके शाखाका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले परोपकारका क्षेत्रमा नेटवर्कले चलाइरहेको अभियानमा बेलायतबाट सक्दो सहयोग र सहभागिता सुनिश्चित गर्न आफूले निरन्तर पहल गर्ने प्रतिवद्धता जनाएका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू