बुधबार, २४ जुन, २०२६
03:04 | ०७:४९

लन्डनमा पर्यटन सम्बन्धि विश्व कुम्भमेलामा नेपालको उत्साहजनक सहभागिता

नेपाली लिङ्क नोभेम्बर ११, २०२२


लन्डन । पर्यटन सम्बन्धि विश्वकै कुम्भमेला वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) मा नेपालले यसवर्ष पनि उत्साहजनक सहभागिता जनाएको छ ।

नोभेम्बर ७ देखि ९ सम्म लन्डनको एक्सेलमा आयोजित उक्त मार्टमा नेपालबाट ट्राभल टुरिजम सम्बन्धि २४ वटा नेपाली कम्पनी सहभागी थिए ।

नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका विभिन्न पर्यटन कम्पनीले सहभागिता जनाएका हुन् । 

मेलामार्फत नेपालको पर्यटन गन्तव्यबारे विश्वभर प्रचारप्रसार गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले जनाए ।

कोभिड महामारीको झण्डै तीन वर्षपछि प्रत्यक्षरुपमा भएको उक्त अन्तर्राष्ट्रिय जमघटले नेपालको थलिएको पर्यटन व्यवसाय पुनरुत्थानमा सघाउ पुग्ने आशा रेग्मीको छ ।

मेलामा नेपाली व्यवसायीले निजी क्षेत्रका पुराना व्यावसायिक सम्पर्कहरू नवीकरण गर्ने र नयाँ व्यापार साझेदारी स्थापना गर्ने अवसर पाएको उल्लेख गर्दै रेग्मीले यसबाट नेपालको पर्यटनलाई पुनः लयमा फर्काउन सहयोग पुग्ने बताए ।

नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मेलामा नेपालको स्टल उद्घाटन गर्दै सहभागी कम्पनीमार्फत् नेपाल प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


मेलामा विश्वभरका सबै प्रकारका पर्यटन आपूर्तिकर्ता र राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन संगठन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, ट्राभल एजेन्ट, टूर अपरेटर, होटल व्यवसायी, ट्राभल ट्रेक कम्पनी, यातायात अपरेटर, एयरलाइन्स, साहसिक खेलकुद कम्पनी सञ्चारमाध्यमलगायतको सहभागिता थियो ।

मेलामा सहभागी विश्व प्रख्यात एभरेष्ट म्याराथनका संस्थापक तथा ग्रीसका लागि नेपाली अवैतनिक दूत विक्रम पांडेकाजीले एकै रातमा चमत्कार नभएपनि मेलाले नेपालको पर्यटन प्रवर्धनमा दीर्घकालिन प्रभाव पार्ने आशा व्यक्त गरे । 

‘नेपाली व्यवसायीहरुले अन्य देशका व्यवसायीको अनुभव र आइडिया आदानप्रदान गर्ने अवसर पाएका छन् जुन उपलब्धि मान्नुपर्छ’, उनले भने । 

विश्वका एकसय बढी देशका करिब २५ सय प्रदर्शक सहभागी उक्त ट्राभल मेलामा दर्जनौं विभिन्न सेमिनार पनि भएका थिए ।


दूतावासमा नेपाल सांझ 

यसैबीच, नेपाल पर्यटन बोर्ड र लन्डनस्थित नेपाली राजदूतावासले गत मंगलबार बेलुका नेपालको पर्यटन प्रवर्धन गर्न दूतावासमा एक कार्यक्रम गरेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै चर्चित पर्वतारोही सर क्रिस बोनिङ्गटनले नेपाल र नेपालीहरुले आफूलाई लगाएको गुन कहिल्यै तिर्न नसक्ने बताए ।

सर बोनिङटनले पहिलो पटक सन् १९६० मा नेपाल भ्रमण गरेको स्मरण गरे। आफूले पहिलो पटक सन् १९७५ र पछि फेरि १९८५ मा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको सम्झंदै उनले भने, ‘पछिल्लो पटक म सन् २०१७ मा नेपाल पुगेको थिएं । अहिले त नेपाल चिनिने नसकिने गरी बदलिएछ । तर नेपालका  पहाडहरु भने अहिले पनि त्यत्तिकै चुनौतिपूर्ण छन् ।’

अर्का पर्वतारोही एलान हिंक्सले ३५ वर्ष पहिले आफूले नेपालमा मनास्लु पर्वत आरोहण गरेको सम्झना गरे ।

उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत आचार्यले नेपाल सबै याममा सबै उमेर समूहका मानिसले भ्रमण गर्न सक्ने पर्यटन गन्तव्य रहेको बताउंदै नेपाल भ्रमण गर्न आह्वान गरे। 

उनले नेपालको प्राकृतिक सौन्दर्यका साथै जैविक विविधता पनि संसारमै अनुपम रहेको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले कोभिडका कारण नेपाल जाने पर्यटक संख्या घटेपनि अहिले फेरि बढ्न थालेको बताए । 

उनले १२५ वटा जातीय समुदाय र १२४ भाषा बोलिने संस्कृतिक विविधतापूर्ण मुलुक नेपाल साहसिक पर्यटन र पर्वतारोहणका लागि पनि विश्वकै नामी गन्तव्य भएको बताए । 

उनले नेपालको झन्डै ४० प्रतिशत भूभाग जंगलले ढाकिएको र झन्डै २४ प्रतिशत भूभाग संरक्षित क्षेत्र रहेको भन्दै नेपाल भ्रमण गर्न आग्रह गरे ।

उक्त कार्यक्रममा ब्रिटिश तथा नेपाली पर्यटन व्यवसायीहरुको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू