बिहीबार, वैशाख १३, २०८१
02:22 | ०७:०७

लन्डन आइपुगे राजेशपायल

नेपाली लिङ्क नोभेम्बर १०, २०२२

लन्डन । नेपालका चर्चित गायक राजेशपायल राई लन्डन आइपुगेका छन् । ‘राई इज किङ’ उपाधि पाएका गायक राई नोभेम्बर १२ मा किरात राई यायोक्खा (किराया) बेलायतले आयोजना गर्न लागेको एकल सांगीतिक साँझमा सहभागी हुन बुधबार बेलुका लन्डन उत्रिएका हुन् ।

राईलाई स्वागत गर्न विमानस्थलमा किराँत राई यायोक्खा बेलायत अध्यक्ष चन्द्रबहादुर राई, उपाध्यक्षहरु क्या. सुमन चन्द्र राई, मेजर दिल कुमार राई, अनिता राई, महासचिव चन्द्रवती राई एवम् उप–महासचिव प्रमिला लाबुङ राई लगायत पदाधिकारीहरु उपस्थित भएका थिए । सो अवसरमा गायक राईका पिता रत्न राईसहित अन्य बेलायतवासीको पनि उपस्थिति थियो ।

लाइभ ब्याण्डसहित ’राजेश पायल राई एकल साँझ’ नामक सांगीतिक कार्यक्रममा राईले आफ्ना लोकप्रिय दर्जनौं गीत प्रस्तुत गर्नेछन् । कार्यक्रममा राईलाई बेलायतका चर्चित  वाद्यवादकहरुले साथ दिनेछन्, जसमा लिड गिटारमा सुरज गुरूङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तवलामा महेश गुरूङ, बाँसुरीमा इन्द्र गुरूङ, ढोलकमा रेशम पाचे, ड्रममा प्रभास गुरूङ र रिदममा विकल थापा छन् ।

गायक राईको साथमा स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिने आयोजकले बताएका छन्।

बेलायतवासी नेपाली गीतसंगीत प्रेमी दर्शकलाई उपस्थित भइ कार्यक्रम सफल पार्न आयोजकले आव्हान गरेको छ । कार्यक्रमस्थल एम्पायर हलमा करिव एक हजार दर्शक अट्न सक्ने क्षमता छ । कार्यक्रमको तयारी पूरा भएको संस्थाकी उप–महासचिव एवं मिडिया संयोजक प्रमिला लाबुङ राईले जानकारी दिइन् ।

उक्त कार्यक्रम गत जुलाई २४ मा निर्धारित भएपनि विविध कारण अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू