शुक्रबार, जेठ ४, २०८१
08:49 | १३:३४

लन्डनमा मनाइयो नेपाल संवत् ११४३

नेपाली लिङ्क नोभेम्बर ३, २०२२

लन्डन । पासा पुचः गुथि यूके लन्डनले नयां वर्ष नेपाल संवत् ११४३ मनाएको छ । गत २६ अक्टोबरका दिन लन्डनस्थित इलिङ टाउन हलमा आयोजित नेपाल संवत् कार्यक्रममा करिब २५० जनाको सहभागिता थियो ।

कार्यक्रमका प्रमुख अतिथी थिए राजदूत ज्ञानचन्द्र आचार्य । प्रमुख अतिथी राजदूत आचार्य, पासा पुच गुथि यूके अध्यक्ष ओजेश सिंह र पासा पुच गुथि यूके लन्डनकी अध्यक्ष रुक्मणी मानन्धरले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए ।

पासा पुच गुथि यूके अध्यक्ष ओजेश सिंह र पासा पुच गुथि यूके लन्डनकी अध्यक्ष रुक्मणी मानन्धरको नेतृत्वमा भएको भिन्तुना रयालीसंगै औपचारिक कार्यक्रम शुभारम्भ भएको थियो । उक्त रयालीमा प्रमुख अतिथी, अतिथीहरु लगायत सहभागी भए ।

कार्यक्रममा पञ्चकन्याले सहभागी प्रत्येकलाई टिका र सगुन दिएर स्वागत गरेका थिए ।

सो अवसरमा काठमाडौं उपत्यकामा प्रचलित सांस्कृतिक नाचहरु लाखे, भैरव, महाकाली, पुलुन किसी आदि प्रस्तुत गरिएको थियो । खोटाङको लाखे नाच पनि आकर्षण बन्यो ।

कार्यक्रममा विभिन्न कलाकारहरुले नेवा नाच र गीत प्रस्तुत गरेका थिए । कुमारी यात्राबाट सांस्कृतिक कार्यक्रम अन्त्य गरिएको थियो ।

सो अवसरमा पासा पुच गुथि यूकेको वार्षिक म्यागेजिन ‘गुथि म्यागेजिन’ पनि विमोचन गरियो। त्यस्तै, हालै निधन भएका नेवा संस्कृतिका प्रवर्द्धक शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली व्यक्त समेत गरिएको थियो।

सहभागीलाई नेवा भोज उपलब्ध गराइएको उक्त कार्यक्रममा पासा पुचः गुथि यूके लन्डनकी उपाध्यक्ष प्रनिसा शाक्यले धन्यवाद दिंदै कार्यक्रम समापन गरेकी थिइन् ।

नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरुआत गराएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू