शुक्रबार, जेठ ४, २०८१
12:46 | १७:३१

सम्पत्तिको हकबारे कानूनी विज्ञहरुसँग अन्तरक्रिया गर्दै एनआरएनए यूके

नेपाली लिङ्क अक्टोबर ३१, २०२२

लन्डन—गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले गैरआवासीय नेपालीहरुको सम्पत्तिको हकसम्बन्धि कानूनी व्यवस्थाका विषयमा विज्ञहरुसँग अन्तरक्रिया गर्ने भएको छ।

अध्यक्ष सुनिलबाबु खड्काको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको भर्चुअल बैठकले आगामी नोभेम्बर २७ मा अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।

अन्तरक्रियामा नेपालस्थित कानूनी विज्ञहरुलाई सहभागी गराइने भएको छ।  जसका लागि नेपाल बार एशोसिएसनका दुई अधिवक्ता बेलायत ल्याइने तयारी छ।

त्यस अवसरमा सम्पत्तिको हकसम्बन्धि कानूनी व्यवस्था र त्यसमा रहेका जटिलताबारे सम्बन्धित विज्ञहरुले परामर्श उपलब्ध गराउनेछन्।  

‘सम्पत्तिको हकसम्बन्धि कानूनी व्यवस्थाका बारेमा हरेक गैरआवासीय नेपालीलाई ठूलो चासो छ। तर त्यसभन्दा झन्  बढी अलमल र अनविज्ञता पनि छ’, कार्यक्रमको अवधारणाबारे एनआरएनए यूके उपाध्यक्ष दीपक श्रेष्ठले भने, ‘नेपालको संविधानमा रहेका कानूनी व्यवस्था र त्यसमा रहेका अड्चन, जटिलतालगायतका सबै विषयको अस्पष्टता कम गर्नु कार्यक्रमको लक्ष्य छ।’

यसैबीच, संस्थाको पछिल्लो अवस्था र गतिविधिहरुबारे जानकारी दिन एनआरएनए यूकेले आगामी आइतबार एक पत्रकार सम्मेलन गर्ने भएको छ। उक्त कार्यक्रम संयोजनको जिम्मा उपाध्यक्षद्वय दीपक श्रेष्ठ र गोविन्द खरेललाई दिइएको छ।

स्मरण रहोस्, गत अधिवेशनबाट निर्वाचित अध्यक्ष प्रेम गाहामगरलाई एनआरएनए केन्द्रले पदमुक्त गरेपछि कार्यसमितिको बहुमतले केही साताअघि विशेष साधारणसभा बोलाएर उपाध्यक्ष सुनिलबाबु खड्कालाई अध्यक्ष नियुक्त गरेको थियो ।  

पदका लागि नभएर संस्थालाई अफ्टेरो समयबाट पार लगाउन आइलागेको जिम्मेवारी स्वीकारेको बताउने खड्काले अब एनआरएनए यूकेलाई विवादमुक्त र सबैको भावना अटाउने साझा संस्थाका रुपमा अघि बढाउने अठोट व्यक्त गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू