शुक्रबार, जेठ ४, २०८१
10:53 | १५:३८

बेलायतका पूर्व काउन्सिलर कैनीले आफ्नो पुस्तक बिक्रीको रकम मानवीय सेवामा खर्चने

नेपाली लिङ्क अक्टोबर ३०, २०२२

लन्डन । बेलायतका पूर्व काउन्सिलर तथा नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. बच्चुकैलाश कैनीले आफ्ना कृति बिक्रीबाट आएको सबै रकम मानवीय सेवामा अर्पण गर्ने घोषणा गरेका छन् ।

हालैमात्र डा कैनीका अदृश्य मनका सादृश्यहरू (निबन्धसङ्ग्रह), सिमाहीन सिमा र रङ्गको पहिचान (कवितासङ्ग्रह), भिसागर्ल (कथासङ्ग्रह) र प्रतिबिम्ब (गजलसङ्ग्रह) गरी एकै पटक ५ कृति सार्वजनिक भएको थियो ।

वरिष्ठ साहित्यकार प्रा.डा. अभि सुवेदीलगायतका विशिष्ट व्यक्तिहरुबाट पाँच वटा पुस्तकको एकसाथ विमोचन भएको थियो ।

ती कृतिबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धारका साथै खाना, नाना र छानाको प्रबन्ध गरी परिवार खोजेर पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमलाई दिने घोषणा गरेका छन् ।

उनले पहिलो चरणको सहयोग अन्तर्गत पुस्तक विमोचनमा उठेको रु २१ हजार ८६० आश्रमका केन्द्रिय सदस्य सुमिरा लामालाई हस्तान्तरण गरिसकेका छन् ।

केन्द्रिय सदस्य लामाले यस्तै परोपकारी व्यक्तिहरुको सहयोगबाट नै आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी (सडक आश्रित) मानवहरुहरुको पालनपोषण भइरहेको जानकारी गराउँदै डा कैनीको घोषणाले आश्रमलाई थप हौसला मिलेको बताइन् ।

“मेरा यी पाँचवटै कृति विक्रीबाट आएको सबै पैसा म मानवसेवा आश्रमका लागि अर्पण गर्नेछु”, डा कैनीले भने, “यसले थोरै भएपनि आश्रमको सेवामा सहयोग पुग्ने अपेक्षा छ ।”

मानवसेवा आश्रमले एक दशकदेखि सडकपेटी र सार्वजनिक स्थलहरूमा घरपरिवार र आफन्तविहीन भइ कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर) सडकआश्रित मानवहरूको उद्धार, उपचार एवं परामर्श गर्दै आइरहेको छ ।

आश्रमले परामर्शका क्रममा परिवार भेटिएकाहरूको पारिवारिक पुनःमिलन र परिवार नभेटिएकाहरूको संरक्षण गर्दै आएको छ ।

एकैपटक पाँच कृति ल्याएकोमा कैनीलाई वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासहित विशिष्ठ व्यक्तित्वले वधाई दिइरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू