शुक्रबार, जेठ ४, २०८१
10:54 | १५:३९

एभरेष्ट स्टोर्स प्लमस्टिडका सञ्चालक श्रेष्ठको अल्पायुमा निधन

नेपाली लिङ्क अक्टोबर २९, २०२२

लन्डन। साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित नेपाली स्टोर्स एभरेष्टका सञ्चालक रामकृष्ण श्रेष्ठको अल्पायुमा निधन भएको छ।

५४ वर्षीय श्रेष्ठको गत बुधबार उपचारको क्रममा निधन भएको उनका भतिज हेल्प नेपाल नेटवर्क यूकेका कोषाध्यक्ष सचिन श्रेष्ठले जानकारी दिए।

विगत केही महिनादेखि अस्वस्थ रहेका श्रेष्ठको स्वास्थ्यमा थप समस्या देखिएपछि अघिल्लो शनिबार वूल्वीचस्थित क्वीन एलिजावेथ अस्पताल भर्ना गरिएको थियो।

२४ वर्षअघि बेलायत आएका श्रेष्ठ परिवारसहित डाटफोर्डमा बस्दै आएका थिए। उनका पत्नी, एक छोरा र एक छोरी छन्।

नेपालमा उनको घर गोरखा सदरमुकाम गोरखाबजार हो। श्रेष्ठले आफ्ना भाइ भगवान श्रेष्ठसँग मिलेर सन् २००६ देखि प्लमस्टिड हाइ स्ट्रिटमा एभरेष्ट स्टोर्स सञ्चालन गर्दै आएका थिए।

व्यवसायका साथमा स्वर्गीय श्रेष्ठले सामाजिक क्षेत्रमा पनि सक्दो सहयोग गर्दै आएका थिए। स्थानीय पशुपतिनाथ मन्दिर, पासा पुच: गुथी लगायत संस्थामा उनको संलग्नता थियो। मिलनसार व्यक्तित्वका धनी उनी स्थानीय समुदायमा सबैमाझ प्रिय थिए। 

स्वर्गीय श्रेष्ठको आउंदो नोभेम्बर ७ तारिख सोमबार १२:४५ बजे हिदर ग्रीन क्रिमेटोरियममा अन्त्येष्टि कार्यक्रम छ।

त्यसअघि शनिबार ५ नोभेम्बरको बिहान ९:३० देखि ११:३० बजेसम्म प्लमस्टिड कमन रोडस्थित एन्ड्र्यू जोन्सन फ्युनेरल सर्भिसेजमा आफन्त एवम् इष्टमित्रहरुलाई अन्तिम दर्शनको अवसर मिलाइएको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू