शुक्रबार, जेठ ४, २०८१
13:05 | १७:५०

साउथ इष्ट लन्डनमा म्ह:पूजा र नेपाल संवत नयाँ वर्ष मनाइयो

नेपाली लिङ्क अक्टोबर २७, २०२२

लन्डन- साउथ इष्ट लन्डनमा एक कार्यक्रमबीच म्ह:पूजा र नेपाल संवतको नयाँ वर्ष मनाइएको छ।  

पासा पुच: गुथी यूकेको साउथ इष्ट शाखाको आयोजनामा बुधबार एशिएन कम्युनिटी सेन्टर प्लमस्टिडमा सम्पन्न कार्यक्रममा नेवारी परम्पराअनुसार म्ह:पूजाका साथै नेपाल संवतको नयाँ वर्ष ११४३ पनि मनाइएको हो।

सयौँको संख्यामा बेलायतस्थित नेवारी समुदायका सदस्यहरु सहभागी कार्यक्रम गैरनेवा समुदायबाट पनि उल्लेख्य नेपाली उपस्थित थिए।  

पासा पुच: साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुरुमा मौलिक नेवा परम्पराअनुसार म्ह :पूजा गरिएको थियो। उक्त अवसरमा गैरनेवा समुदायबाट आएका अतिथिहरुले पनि उत्सुकतापूर्वक म्ह:पूजामा भाग लिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले शुभकामना मन्तव्य दिंदै बेलायतमा पनि नेपाली मौलिक परम्पराहरुको निरन्तरता हुनु सुखद रहेको बताइन्। पासा पुच: गुठीले बेलायतमा नेपाली कला, संस्कृति जगेर्ना र पुस्तान्तरणमा पुर्‍याइरहेको योगदानको उनले प्रशंसा गरिन्।

पासा पुच: गुथी साउथ इष्टका संस्थापक अध्यक्ष कुमार श्रेष्ठले झन्डै दश वर्षअघिदेखि बेलायतमा वर्षेनी म्ह:पूजा हुँदै आएको जानकारी दिंदै अन्य मौलिक चाडपर्व र जात्राहरुलाई पनि निरन्तरता दिइंदै आएको जानकारी गराए ।

संस्थाका अध्यक्ष माधवलाल श्रेष्ठले नेवा परम्परा र संस्कृतिलाई बेलायतमा हुर्किंदै गरेको नेवा समुदायको दोस्रो पुस्तालाई मात्र नभइ अरु समुदायका नेपालीहरुमाझ पनि चिनाउने प्रयास गर्दै आएको सुनाए।

सो अवसरमा मौलिक लाखेनाच, धिमेबाजा, कुमारीलगायतका सांस्कृतिक प्रस्तुतिहरु देखाइएको थियो।

पासा पुच: साउथ इष्टको पहलमा बेलायतमै मौलिक धिमेबाजा प्रशिक्षण लिएका बालबालिकालाई प्रमाणपत्र वितरण गरिएको थियो। 

उनीहरुका साथै संस्थाका महिला सदस्यहरुका तर्फबाट पनि विशेष धिमेबाजाको प्रस्तुति गरिएको थियो। साथमा विभिन्न स्थानीय कलाकाले मौलिक गीत, नृत्य पनि प्रस्तुत गरेका थिए।  

कार्यक्रमको औपचारिक सत्र संस्थाका पूर्व अध्यक्ष मनिषकुमार श्रेष्ठले सञ्चालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम सञ्चालक सत्यप्रसाद प्रजापति थिए। कार्यसमिति सदस्य ईश्वर महर्जनले स्वागत मन्तव्य दिएका थिए।  

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु चुत्रबहादुर श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, सुशिल प्रजापति, एनआरएनए यूके उपाध्यक्ष दीपक श्रेष्ठ, आरजीएनएस अध्यक्ष काउन्सिलर जीत रानाभाट, एनसिआई यूके अध्यक्ष मोहन गुरुङ, साउथ इष्ट रिजनल  तमुधिं लन्डन अध्यक्ष ह्यारी गुरुङ, बेक्सली नेपाली समाज अध्यक्ष आनन्द धरेल, चार्ल्टन नेपाली समाज कार्यवाहक अध्यक्ष प्रकाश कंडेल, बुद्धिष्ट डायमन्ड सेन्टर अध्यक्ष योगेश गुरुङसहित फडिन्द्र भट्टराई, पुण्य रेग्मी, लछुमन गुरुङ, प्रकाश कंडेल, रजनजंग शाहीसहित विभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधि र अभियन्ताहरुको सहभागिता थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू