शुक्रबार, जेठ ४, २०८१
09:17 | १४:०२

भारतीयमूलका हिन्दू युवा बेलायतको प्रधानमन्त्री नियुक्त हुंदा नेपाली उत्साहित

नेपाली लिङ्क अक्टोबर २६, २०२२

लन्डन । भारतीयमूलका ४२ वर्षीय ऋषि सुनाक बेलायतको ५७ औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । बेलायतका राजा चार्ल्स तृतीयले मंगलबार बिहान देशको प्रधानमन्त्री नियुक्त गरेसँगै सुनाक बेलायती इतिहासकै पहिलो अश्वेत तथा हिन्दू र दुई शताव्दीयताकै कान्छो प्रधानमन्त्री बनेका छन् ।

उनी इतिहासमा पहिलो पटक राजाको भन्दा दोब्बर सम्पति भएका प्रधानमन्त्रीसमेत बनेका छन् ।  सुनाक र उनकी श्रीमती अक्षता मुर्तिको संयुक्त सम्पति ७३ करोड पाउण्ड छ भने राजा चाल्र्स र उनकी पत्नि क्यामिलाको संयुक्त सम्पति ३५ करोड पाउण्ड रहेको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेता चुनिएर सुनक प्रधानमन्त्री बनेपछि विशेषगरी स्थानीय राजनीतिमा संलग्न नेपालीहरु पनि निकै उत्साहित र आशावादी बनेका छन् ।

‘सुनाकलाई नेपाली र गोर्खा समस्याबारे धेरै जानकारी छ । र मैले जानकारी नभएका विषयमा पनि अवगत गराएको छु, गत सातामात्र सुनाकसंग भेट गरेका काउन्सिलर डा. जगन्नाथ शर्माले भने ‘नेपालीलगायत सबै मुलुकका नागरिकले समान अवसर पाउनुपर्छ र त्यसका लागि शिक्षालाई जोड दिनुपर्छ भन्ने सुनाकको धारणा थियो ।’

भेटमा आफू मध्यम परिवारबाट आएको र परिवारले दिएको शिक्षाका कारण नै आफू यो स्थानमा पुग्न सफल भएको बताउंदै सुनाकले राजनीतिमा भन्दा पहिला शिक्षा र कामको अनुभवलाई प्रथामिकता दिनुपर्ने धारणा राखेको शर्माले बताए ।

कन्जरभेटिभ पार्टी क्याट्रिक शाखाका केन्द्रीय उपाध्यक्ष शर्मा प्रधानमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र नर्थ योर्कसायरको कोलबर्न टाउनका मेयर पनि हुन् ।

आफ्नो हरेक कार्याक्रममा सुनाक र उनकी श्रीमती अक्षता मूर्ति नियमित उपस्थित हुने गरेको र उनीहरु नेपाली र अल्पसंख्यक समूहका लागि निकै सहयोगी रहेको शर्माको धारणा छ ।

पूर्व प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपाल भ्रमण गराउन पहल गरेपनि विभिन्न कारण सम्भव नभएको बताउंदै शर्माले सुनाकलाई नेपाल भ्रमण गराउने पहल गर्ने बताए ।

त्यसैगरी सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट लन्डन बरो अफ बार्नेटका पूर्व उपमेयर  काउन्सिलर लक्ष्य गुरुङ पनि सुनाक प्रधानमन्त्री हुनु नेपालीलगायत एसियनकै लागि गौरवको कुरा भएको बताउंछन् । नेपाली समुदायसँग मिल्दोजुल्दो वातावरणमा हुर्किएका सुनाक प्रधानमन्त्री हुँदा आफूहरुले समयको सदुपयोग गर्नुपर्ने उनी बताउंछन् ।

चांडै नै आफ्ना केही सहकर्मीसंग छलफल गरेर उनीसंग भेटघाट गर्ने योजना रहेको बताउंदै काउन्सिलर गुरुङले एकपटक नेपाल भ्रमणको निम्तो दिने बताए ।

रसमोर बरो काउन्सिलका काउन्सिलर जीव बेलवासे पनि भारतीय मूलका सुनाक प्रधानमन्त्री बन्दा निकै खुशी र आशावादी छन् । ‘उनी यसअघि नै प्रधानमन्त्री बन्नुपर्ने हो, जनताले उनलाई नै चाहेका थिए तर अहिले प्रधानमन्त्री बन्नु हाम्रा लागि पनि सौभाग्य हो’, उनले भने, ‘समय चुनौतिपूर्ण छ । बेलायतलाई आर्थिक मन्दीबाट मुक्त गराउने उनको मुख्य उद्देश्यमा उनी पूर्ण रुपमा सक्षम रहने आशा छ ।

‘सुनाकको प्रधानमन्त्रीकालमा नेपालीहरुले पनि फाइदा लिन सक्नुपर्ने बेलबासे बताउंछन् ।

लन्डनका सफल युवा व्यवसायी रविन्द्रजंग लामिछानेले प्रधानमन्त्री ऋषि सुनाकमा सरल स्वभाव रहेको बताए । लामो समयदेखि सुनाकसंग लगातार उच्चस्तरीय भेटघाट हुँदै आएको र आफूले निकै नजिकबाट नियाल्ने अवसर पाएको उनले स्मरण गरे । नेपाल र नेपालीको हक हितका लागि आफूलेपनि भेटमा कुरा राख्ने र कार्यान्वयन गर्न लगाउने लामिछानेले बताए ।

पूर्व प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपाल भ्रमणको पहल गरेपनि सफल हुन नसकिएको जनाउंदै उनले सुनाकलाई पनि नेपाल भ्रमण गराउन सक्दो पहल गर्ने बताए ।

यसअघि प्रधानमन्त्रीको दौडमा सुनाकलाई पछि 
पार्दै गत सेप्टेम्बर ५ मा प्रधानमन्त्री बनेकी लिज ट्रसको सरकार विभिन्न आर्थिक नीतिका कारण आलोचित बनेपछि सबैभन्दा छोटो समय ४५ दिनमा नै ट्रस प्रधानमन्त्रीको पद त्याग्न बाध्य भइन् । लिजको राजीनामासंगै सुनाकको प्रधानमन्त्री बन्ने भाग्य खुलेको हो । डेढ महिनाअघि मात्रै प्रधानमन्त्रीको दौडमा लिज ट्रससँग पराजित भएका सुनाक अन्ततः पार्टीको सर्वसम्मत नेता बन्दै प्रधानमन्त्री बने ।

सन् २०२० फेब्रुअरीमा तत्कालिन प्रधानमन्त्री बोरिस जोन्सन नेतृत्वको सरकारमा अर्थमन्त्री बनेपछि बेलायती राजनीतिमा सुनाकको करियर चम्किएको थियो। कोभिड महामारीका बेला सरकारले ल्याएका विभिन्न राहत कार्यक्रमले उनलाई जनस्तरमा लोकप्रियता दिलाएको थियो।

सन् १९८० मा बेलायतको साउथ ह्याम्प्टनमा जन्मिएका हुन् सुनाक । भारतीय मूलका उनका बाबुआमा पूर्वी अफ्रिकाबाट बेलायत आएका आप्रवासी थिए। भारतीय धनाड्य उद्योगपति नारायण मूर्तिपुत्री अक्षता मूर्तिसँग वैवाहिक सम्बन्ध गांसेका सुनाक दुई छोरीका पिता हुन् । –नरेन्द्र बस्नेत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू