शुक्रबार, जेठ ४, २०८१
12:00 | १६:४५

युवा अभियन्ता खकुराल आरजीएनएस स्वयंसेवक अवार्डबाट सम्मानित

नेपाली लिङ्क अक्टोबर २५, २०२२

लन्डन । अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष तथा युवा सामाजिक अभियन्ता राजन खकुराल आरजीएनएस स्वयंसेवक अवार्डबाट सम्मानित भएका छन्।  

साउथ इष्ट लन्डनस्थित ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी’ (आरजीएनएस) ले स्थानीय नेपाली समुदायमा योगदान गर्नेहरुलाई विभिन्न तीन विधाको अवार्ड प्रदान गर्ने क्रममा उनलाई स्वयंसेवक अवार्डले सम्मान गरिएको हो।  

करिब ५ सय दर्शकको सहभागितामा साउथ इष्ट लन्डनको एशिएन कम्युनिटी सेन्टरमा अक्टोबर २३ तारिख सम्पन्न दशैं-तिहार शुभकामना साँझमा अवार्ड प्रदान गरियो।  

आरजीएनएस अध्यक्ष काउन्सिलर जीत रानाभाट, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ग्रीनवीच बरो मेयर लियो फ्लेचर, स्थानीय ग्रीनवीच बरोका काउन्सिल लिडर एनथोनी ओकोरेकेले अवार्ड वितरण गरेका थिए।

आरजीएनएसले कोभिड १९ को सुरुवाती कठिन समयमा नेपाली समुदायका समाजसेवी, स्वयंसेवी, व्यवसायी, नेपालबाट आएका भिजिटर, पत्रकार गरि करिब ५ सय जना भन्दा बढी व्यक्तिलाई खोप व्यवस्था गरेको थियो । साथै ग्लोब्स, ह्यान्ड सेनिटाईजर, माक्स, सिटामोल जस्ता अति आवश्यक पर्ने स्वास्थ्य सामग्री करिब ३ सय परिवारलाई वितरण गरेको थियो । यी दुवै अभियानमा अध्यक्ष जित रानाभाट र स्वास्थ्यकर्मी खकुरालले मुख्य संयोजनको जिम्मेवारी सम्हालेका थिए। 

खकुरालले कोभिड-१९ महामारीको सुरूवाती समयमा साउथ इष्ट लन्डनमा करिब एक हजार पाउन्ड बराबरको विभिन्न औषधी लगायत स्वास्थ्य सामग्री निशुल्क वितरण गरेका थिए ।  त्यस्तै, ४ सय भन्दा बढी परिवारलाई करिब १५ हजार पाउन्डको निशुल्क खाद्यान्न वितरणमा संयोजनकारी भूमिका खेलेका थिए।  

२०१८ मा एनआरएनए युथ अवार्डबाट सम्मानित खकुरालले नेपालमा पनि निकै सामाजिक कार्य गरेका छन् ।

२०२० मा कोभिड १९ आपतकालिन सहयोग रकम संकलन अभियानमा ७ दिनमा करिब ८ लाख संकलन गरि धादिङ जिल्लाका १३ वटै स्थानीय तहलाई अति आवश्यक पर्ने स्वास्थ्य सामाग्री र खाद्यन्न वितरणमा पनि उनले अहम भूमिका खेले।

पुनः उनकै संयोजनमा अप्रिल २०२० मा धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङलाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा करिब ४ लाख बराबरको स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको थियो। 

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष समेत रहेका खकुरालको  संयोजनमा मे २०२० मा धादिङका १ सय १८ विपन्न परिवारलाई दुई चरणमा गरेर करिब ३ लाख रूपैंयाँ बराबरको खाद्यान्न सहयोग गरे । उक्त अभियानमा समाजसेवी तथा सफल व्यवसायी विष्णु खरेलले आर्थिक सहयोग गरेका थिए। 

उनको सहयोग अपिलमा मे २०२० मा धादिङका एन्जल तामाङको उपचार खर्चको लागि रु १, ३१, ३०६ आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको थियो, जहाँ संयोजन माईला, कान्छा (समाजसेवी पार्वती गुरुङ र समाजसेवी माया गुरुङ) ले गरेका थिए ।

कोभिडको समयमै नेपालको धादिङ जिल्लामा अक्सिजन कन्सनट्रेटरको निकै अभाव भएका बेला खकुरालको प्रमुख संयोजनमा अमेरिका, जापान, अस्ट्रेलिया र बेलायतबाट ३८ थान अक्सिजन कन्सनट्रेटर मेसिन लगाएत अन्य स्वास्थ्य सामग्रीहरु जिल्लाको विभिन्न ठाउंमा उपलब्ध गराइएको थियो।  

नेपाली युथ एसोसिएसन यूकेले यही सेप्टेम्बर ३ तारिख शनिबार वुल्विच आर्टिलरी ब्यारेकको मैदानमा आयोजना गरेको दशौँ ग्रीनवीच महोत्सव तथा अक्टोबर २३ तारिखमा सम्पन्न एशिएन कम्युनिटी सेन्टरमा, आरजीएनएसले आयोजना गरेको दशैं-तिहार शुभकामना साँझमा उनले आर्थिक संयोजकको जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू