शुक्रबार, जेठ ४, २०८१
11:59 | १६:४४

सयौँको सहभागितामा साउथ इष्टमा दशैंतिहार कार्यक्रम, बांडियो आरजीएनएस कम्युनिटी अवार्ड

नेपाली लिङ्क अक्टोबर २५, २०२२

लन्डन । साउथ इष्ट लन्डनस्थित नेपाली समुदायमा पुर्‍याएको योगदानको कदरस्वरूप स्थानीय दुई संस्था र एक अभियन्तालाई सम्मान गरिएको छ।

रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) ले आइतबार एशियन कम्युनिटी सेन्टर प्लमस्टिडमा गरेको दशैंतिहार शुभकामना कार्यक्रममा उनीहरुलाई कम्युनिटी अवार्डद्वारा सम्मान गरिएको हो।

समुदायमा नेपाली कला, संस्कृति प्रवर्द्धनमा योगदान पुर्‍याएबापत पासा पुच: गुथी साउथ इष्ट लन्डन शाखालाई आरजीएनएस कल्चरल अवार्ड प्रदान गरियो भने सामाजिक अन्तरघुलनमा उल्लेखनीय योगदान पुर्‍याउने साउथ इष्ट रिजनल तमुधिं लन्डनले ‘सोसल इन्टिग्रेसन अवार्ड’ प्राप्त गर्‍यो।

त्यसैगरी, विभिन्न सामाजिक तथा परोपकारी अभियानको संयोजन गर्दै योगदान पुर्‍याएबापत अभियन्ता राजन खकुराललाई भोलुन्टियर सर्भिस अवार्ड प्रदान गरियो।

आरजीएनएस अध्यक्ष काउन्सिलर जीत रानाभाट, प्रमुख अतिथि बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, विशेष अतिथि ग्रीनवीच बरो मेयर लियो फ्लेचर र काउन्सिल लिडर एन्थोनी एकोर्केले विजेताहरुलाई अवार्ड प्रदान गरे।

सामाजिक क्षेत्रमा योगदान गर्नेहरुको हौसला बढाउन आरजीएनएसले कम्युनिटी अवार्ड शुरु गरेको भन्दै अध्यक्ष रानाभाटले आगामी वर्षहरुमा पनि निरन्तरता दिंदै जाने बताए।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतमा नेपालकै झल्को दिने यस्ता कार्यक्रमले जनस्तरमा मात्र नभइ राजनीतिक स्तरमा दुई देशको सम्बन्ध सुदृढ गर्न मद्धत गर्ने धारणा व्यक्त गरे ।

स्थानीय मेयर, काउन्सिलर सहितको उपस्थितिमा सम्पन्न कार्यक्रम नेपाली र बेलायती समुदायबीचको समन्वय र सहकार्यको नमुना भएको समेत उनले उल्लेख गरे।

विशेष अतिथि ग्रीनवीच बरो मेयर लियो फ्लेचरले स्थानीय स्तरमा नेपाली समुदायले एक अभिन्न अंगका रुपमा भूमिका निर्वाह गर्दै आएकोमा प्रशंसा गरे। 

त्यस अवसरमा एनआरएनए आइसीसी उपमहासचिव रामशरण सिम्खडा, आरजीएनएस सल्लाहकार मोहन गुरुङ, ग्रीनवीच बरो काउन्सिल लिडर एन्थोनी एकोर्के र डेपुटी लिडर एभेनिल लेकाउलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

आरजीएनएस अध्यक्ष जीत रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव मञ्जु खरेलले सञ्चालन गरेकी थिइन्। उपाध्यक्ष पुण्य रेग्मीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम संयोजक एलएन पाण्डेले कार्यक्रमका सहभागी एवम् सहयोगी सबैमा धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा नेपालबाट आएका हास्य कलाकारद्वय राजु मास्टर र बल्छी ध्रुवेले प्रहसनमार्फत् हसाँएका थिए। नेपाल आइडल चौंथो सिजन विजेता भूपेन्द्र थापा र गायक प्रकाश कटुवालले गायन प्रस्तुत गरेका थिए।

स्थानीय कलाकारहरु दीपक थापा, सुनिता गौतम, प्रसुना कंडेल, ईशानी, डेलिसा, हेमन्त पुन, टंकु, उषालगायतले पनि गीत, नृत्यसहितका मनोरञ्जनात्मक प्रस्तुति देखाएका थिए भने डिजे हेम विष्टले नचाएका थिए ।  

कार्यक्रममा स्थानीय महिला तथा बालबालिकाको सहभागितामा परम्परागत देउसी भैलो पनि प्रस्तुत गरिएको थियो। सांस्कृतिक कार्यक्रमको सञ्चालन सुनिता गौतम र दीपक थापाले गरेका थिए। कार्यक्रममा ५ सय बढीको सहभागिता थियो।

कार्यक्रम संयोजन सल्लाहकार एलएन पाण्डे र तमुधिं साउथ इष्ट रिजनल अध्यक्ष ह्यारी गुरुङ, आर्थिक संयोजन आरजीएनएस सल्लाहकारद्वय मोहन गुरुङ, राजन खकुराल तथा कोषाध्यक्ष रुद्र गौतमले गरेका थिए भने अतिथि सत्कारको जिम्मेवारी आरजीएनएस उपाध्यक्षद्वय पुण्य रेग्मी, लिलादेवी गुरुङ तथा अङ्किता ढकालले सम्हालेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू