बिहीबार, कार्तिक ८, २०८१
17:53 | २२:३८

बेलायतमा अक्टोबर २८ सम्म नयां प्रधानमन्त्री

नेपाली लिङ्क अक्टोबर २०, २०२२

लन्डन । बेलायतले आउंदो अक्टोबर २८ सम्म अर्को प्रधानमन्त्री पाउने भएको छ । बेलायती प्रधानमन्त्री लिज ट्रसलाई कन्जरभेटिभ पार्टीको नेताका रूपमा प्रतिस्थापन गर्ने निर्वाचन अक्टोबर २८ सम्म हुने बताइएको छ ।

‘अक्टोबर २८ गते शुक्रबारसम्म मतपत्र सञ्चालन तयारी र नेतृत्वको निर्वाचन सम्पन्न हुनेछ । त्यसैले हामीले ३१ अक्टोबरमा हुने वित्तीय विवरण अघि नै नयाँ नेता बनाउनुपर्छ’, कन्जरभेटिभ पार्टीको नेता चुन्ने १९२२ कमिटीका अध्यक्ष ग्राहम ब्राडीले बताए ।

प्रभावशाली सांसद ब्राडीले भने, “हामी सहमत भएका छौं कि अर्को हप्ताभित्र नेतृत्वको चुनाव सम्पन्न हुनेछ । यसले हामी हाम्रो वित्तीय योजना पूरा गर्ने बाटोमा रहन र हाम्रो देशको आर्थिक स्थिरता र राष्ट्रिय सुरक्षा कायम राख्न सुनिश्चित गर्दछ ।”

बेलायती प्रधानमन्त्री ट्रसले पदभार ग्रहण गरेको डेढ महिनामै नाटकीय रूपमा राजीनामा दिने घोषणा गरेपछि बेलायतको राजनीतिले नयां रुप लिएको हो ।

कर कटौतीको उनको दक्षिणपन्थी प्लेटफर्म विघटित भएपछि र सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरू मध्ये धेरै सांसदहरूले विद्रोह गरेपछि ट्रसले राजिनामा घोषणा गर्नुपरेको थियो । डाउनिङ स्ट्रिटमा बोल्दै ट्रसले आफूले प्रधानमन्त्रीबाट राजिनामा दिएको तर टोरी नेताको रूपमा काम गर्न उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्रीको रूपमा रहने बताएकी थिइन् ।

हाउस अफ कमन्समा बुधबार अबेर राति भएको एक महत्वपूर्ण मतदानमा एक प्रमुख मन्त्रीले राजीनामा दिएको र टोरीका धेरै सांसदले विद्रोह गरेपछि ट्रस प्रधानमन्त्रीका रूपमा राजिनामा घोषणा गर्न बाध्य भइन् । बिहीबार बिहानसम्म एक दर्जनभन्दा बढी कन्जरभेटिभ सांसदहरूले सार्वजनिक रूपमा ट्रसलाई राजीनामा दिन आग्रह गरेका थिए ।

लेबर पार्टीका नेता केइर स्टार्मरले विपक्षी दलले ट्रसको छोटो, संकटग्रस्त कार्यकालपछि अब आम निर्वाचनको माग गरेका छन् ।

ट्रसको कर कटौती योजनाले बेलायतमा आर्थिक संकट गहिरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू