शुक्रबार, जेठ ४, २०८१
08:28 | १३:१३

एनआरएनए यूके साधारणसभामा कालो झन्डासहित प्रदर्शन, अतिथि बाहिरबाटै फर्काइए

नेपाली लिङ्क अक्टोबर १९, २०२२

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको मंगलबार लन्डनमा सम्पन्न साधारणसभाका क्रममा कालो झन्डासहित विरोध प्रदर्शन गरिएको छ।

विशेष साधारणसभाका नाममा संस्था विभाजन गर्ने षडयन्त्र भएको भन्दै अधिवेशनस्थलमा प्रेम गाहामगर समर्थक युवाहरुले प्रदर्शन गरेका हुन्।

नेप्लिज युथ यूकेले अगुवाइ गरेको प्रदर्शनमा दुई दर्जन बढी युवा सहभागी थिए। 

विशेष साधारणसभाको वहानामा निर्वाचित अध्यक्ष हटाएर संस्था विभाजन गर्ने खेल भएको भन्दै उनीहरुले आफूहरुलाई अस्वीकार्य हुने जनाएका थिए। उनीहरुले अधिवेशन हलभित्रै गएर समेत आफ्नो विरोध जनाएका थिए।

प्रदर्शनका कारण अतिथि फर्किए 

अधिवेशनस्थलमा कालो झन्डासहित प्रदर्शन भएपछि कार्यक्रममा सहभागी हुने भनिएका अतिथिहरु भित्र पस्न नसकी फर्किन बाध्य भएका थिए ।  

एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्य अधिवेशनस्थल बाहिरबाटै फर्किएका एनआरएनए यूकेका एक पदाधिकारीले जनाए।  

त्यस्तै, कार्यक्रममा निम्त्याइएका राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालाई साधारणसभास्थल नआउन खबर गरिएको थियो। अधिवेशनमा दूतावासको तर्फबाट निम्तो मान्न आउंदै गरेका द्वीतीय सचिव रामबाबु नेपाललाई पनि फर्किन लगाइएको थियो। 

सम्भावित प्रदर्शनलाई आँकलन गरी साधारणसभास्थलमा सेक्युरिटी खटाइएको थियो भने प्रदर्शन अवधिभर बेलायती प्रहरी पनि परिचालित थिए।

एनआरएनए केन्द्रमा भएको फुटको प्रत्यक्ष असरस्वरूप बेलायतमा पनि संस्था विभाजित बनेको छ। अध्यक्ष प्रेम गाहामगर पक्षले आइसीसी अध्यक्ष कुल आचार्यलाई स्वीकार नगर्ने र सदस्यता शुल्क नपठाउने जस्ता अडान राखेपछि अन्तत: उनको कार्यसमितिको बहुमतले आइसीसीमार्फत् उनलाई हटाएर विकल्प खोजेको छ।

विशेष साधारणसभाले उपाध्यक्ष सुनिलबाबु खड्कालाई अध्यक्ष र उनको ठाउँमा इंग्ल्याण्ड परिषदका संस्थापक अध्यक्ष दीपक श्रेष्ठलाई उपाध्यक्ष चुनेको छ ।

तस्विरहरु- नेपाली समाचार/ सिलिचुङ डटकम 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू