शुक्रबार, जेठ ४, २०८१
10:30 | १५:१५

एनआरएनए यूके विशेष अधिवेशनले चुनिए खड्का अध्यक्ष र श्रेष्ठ उपाध्यक्ष

नेपाली लिङ्क अक्टोबर १९, २०२२

एनआरएनए यूकेका नवनियुक्त अध्यक्ष सुनिलबाबु खड्का (बांया) र उपाध्यक्ष दीपक श्रेष्ठ ।

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ अध्यक्षमा सुनिलबाबु खड्का चुनिएका छन्। मंगलबार लन्डनमा सम्पन्न विशेष अधिवेशनले यसअघि उपाध्यक्ष रहेका खड्कालाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो।

अघिल्लो अधिवेशनबाट निर्वाचित अध्यक्ष प्रेम गाहामगरलाई आइसीसीले पदमुक्त गरेपछि उनीइतरमा रहेको कार्यसमितिको बहुमत पक्षले विशेष अधिवेशन गरी अध्यक्ष चुनेको हो ।  

खड्का अध्यक्ष भएसंगै रिक्त उपाध्यक्ष पदमा अधिवेशनले सर्वसम्मत रुपमा दीपक श्रेष्ठलाई चयन गरेको छ।

एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदका संस्थापक अध्यक्ष श्रेष्ठ गत निर्वाचनमा एनआरएनए यूके अध्यक्ष पदमा दोस्रो बढी मत पाउने प्रत्यासी पनि हुन्। उनले त्यसअघि एनआरएनए यूके कोषाध्यक्षका रुपमा पनि एक कार्यकाल काम गरेका थिए।

त्यस्तै, अधिवेशनले ह्यान्सन गौचन, तिलक भट्टराई र समिर भट्टराईलाई सदस्य चयन गरेको छ।  

अधिवेशनमा कोषाध्यक्ष विष्णु खरेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको छ।  

संस्थाको नेतृत्व काँधमा बोकेपछि अध्यक्ष खड्काले अहिले देखिएका मतभेद र समस्या सुल्झाउन इमान्दार प्रयत्न गर्ने बताएका छन्। 

‘अवस्था सजिलो छैन, समस्याहरु छन् भन्ने मलाई राम्रोसँग थाहा छ’- खड्काले नेपाली लिंकसँग भने, ‘तर आफ्नो संस्थामा समस्या आए भन्दैमा हात उठाएर हिँड्ने कुरा पनि त भएन। त्यसैले परिस्थितिलाई हेरेर, संस्थाको आवश्यकतालाई बोध गरेर थप जिम्मेवारी लिन तयार भएको हुँ ।’ 

उपाध्यक्षको जिम्मेवारी बोकेर एनआरएनए यूके कार्यसमितिमा भित्रिएका दीपक श्रेष्ठले पनि आफ्नो आकांक्षाभन्दा पनि संस्थामा उत्पन्न चुनौतीपूर्ण अवस्थामा जिम्मेवारीबोध गरेको प्रतिक्रिया दिएका छन् । 

‘हामीले धेरैलाई  समय खर्च गरेको भावना जोडिएको संस्था हो। विगतमा महत्वपूर्ण जिम्मेवारीहरुमा बसेर काम गर्ने अवसर पनि पाएँ। अहिले संस्थालाई अफ्ठेरो पर्‍यो, अगाडि बढ्नुपर्‍यो भनेर अग्रज, सहकर्मीहरुले आग्रह गरेका कारण पछि हट्न सकिन’, श्रेष्ठले भने।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू