शुक्रबार, जेठ ४, २०८१
08:28 | १३:१३

लन्डनमा प्रवासी नेपाली मञ्चको दशैंतिहार च्यारिटी साँझ

नेपाली लिङ्क अक्टोबर १८, २०२२


लन्डन । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आसन्न निर्वाचनमा व्यक्तिगत स्वार्थ भन्दा राष्ट्र निर्माणमा तल्लीन उम्मेदवारहरुलाई मत दिन अपिल गरेका छन् ।

एमाले निकट प्रवासी नेपाली मञ्च बेलायत (ओएनएफ यूके) को दशैं तिहार शुभकामना तथा च्यारिटी साँझलाई सम्बोधन गर्दै प्रमुख अतिथी तिमल्सिनाले सोमबार लण्डनमा भने, ‘अब मतदाताहरु सचेत हुनैपर्छ । भ्रष्ट नेता र नराम्रोलाई पाखा लगाइदिउं, राम्रोलाई अवसर दिउं ।’ 

गाली पनि गर्ने अनि त्यही नेतालाई जिताउने परिपाटी अन्त्य गर्नु पर्नेमा उनले जोड दिए ।

 

नेपालमा संविधान जारी पछि पनि नेपालीले सोचेजस्तो परिवर्तन अनुभूति गर्न नसकेको उनले बताए । 

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना

पहिलो पटक बेलायत भ्रमणमा आएका उनले गैर आवासीय  नेपालीलाई प्रजातन्त्रको जननी बेलायतबाट सुशासन, विकास र समृद्धिका आइडिया स्वदेश लैजान आग्रह गर्दै नेपाललाई एसियाकै उत्कृष्ट देश बनाउन पर्याप्त स्रोत साधन भएको धारणा समेत राखे ।

तिमल्सिनाले नागरिकता विधेयक दुवै सदनबाट आमसहमतिमा पारित भइसकेकाले आउंदो हिउंदे अधिवेशनमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्था हुने आश्वासन पनि दिएका छन् ।

ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालको सभापतित्वमा भएको उक्त कार्यक्रममा समावेशी आयोगका सदस्य पुष्प तिमल्सिनाले आफू २१ बर्ष युरोप बसेर अन्त्यमा नेपाल नै फर्केको बताउंदै अरुलाई पनि उमेर छंदैमा देशलाई केही गर्न आग्रह गरे ।  

दूतावासकी उपनियोग प्रमुख रोशन खनालले ओएनएफ यूकेका च्यारिटी कार्यको प्रशंसा गर्दै दूतावासबाट हुने सहयोग भइरहने बताइन्।  

मञ्चका अध्यक्ष तुंगभद्र भुसालले प्रवास नेपाली समुदायभित्र विकास भएको एक आपसमै भिन्नता खोज्ने प्रवृत्ति परिवर्तन गरी समानताहरु खोज्दै अघि बढ्ने तथा पहिलो र नयाँ पुस्तालाई जोड्ने दिशामा अघि बढ्नुपर्ने बेला आएको धारणा व्यक्त गरे।

कार्यक्रममा एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्य, प्रवासी नेपाली मञ्च ग्लोवल कमिटी अध्यक्ष भक्त गुरुङ लगायतले दशैं तिहार शुभकामना दिएका थिए।

कार्यक्रम संयोजक ओएनएफ यूके पूर्व अध्यक्ष रामशरण सिम्खडाले राजनीतिक संगठन भएपनि ओएनएफ यूकेले अप्ठेरोमा आर्थिक तथा सामाजिक सहयोगलाई निरन्तरता दिएको बताए ।  

सो अवसरमा स्थानीय कलाकारहरुले विभिन्न नाचगान प्रस्तुत गरेका थिए भने संस्थाको गतिविधि समेटिएको ‘डकुमेन्ट्री’ समेत देखाइएको थियो ।

त्यस्तै, गायक सपनकुमार राई र गायिका निरुशा भट्टराईको गायन तथा प्रसुना कंडेल, प्रतिभा अधिकारी, बिनु लामिछाने, सुरक्षा पंगेनी लगायतका कलाकारका नृत्य प्रस्तुत गरिएको थियो।

च्यारिटी साँझबाट ८ हजार पाउन्ड हाराहारीमा कोष संकलन भएको मञ्चले जनाएको छ। कोषबाट नेपालमा कुनै परोपकारी कार्यका साथै पार्टीको चुनावी अभियानमा समेत सहयोग गर्ने मञ्चको योजना रहेको बुझिएको छ। फोटो हेर्न यहाँ क्लिक गर्नुहोला

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू