बिहीबार, वैशाख २०, २०८१
15:17 | २०:०२

बेलायती बजारमा अब पाइने भयो नेपाली उत्पादन

नेपालको क्वाँटी, मुस्ताङको दाल, आलु बोडी तामा, चना र मासको दाल उपलब्ध

नेपाली लिङ्क अक्टोबर ११, २०२२

तस्विर- कुशल श्रेष्ठ

लन्डन– अब चर्चित सेफ सन्तोष शाहको रेसिपीमा तयार गरिएका नेपालको क्वाँटी, मुस्ताङको दाल, आलु बोडी तामा, चना दाल र मासको दाल जस्ता तयारी खानेकुरा बेलायतका पसलहरुमा पाइने भएको छ ।

बीबीसी मास्टर सेफका उपविजेता सन्तोष शाहसंगको सहकार्यमा नेपाली खाद्यान्न प्रयोग गरी तयार गरिएका ती खानाहरु यसै सातादेखि बेलायतस्थित अधिकांश नेपाली पसल तथा केही भारतीय पसलहरुमा पनि उपलब्ध हुने नेपाल फुड्सले जनाएको छ।

सोमबार ब्रिटिश संसद हाउस अफ लर्ड्सको एक ऐतिहासिक कक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सेफ शाहले नेपाली खानालाई विश्वभरि चिनाउने अभियानकै फलस्वरुप आफूले नेपाली स्वादको रेसिपीहरु तयार गरेको बताए। ‘यो तयारी खाना हो। यो खाना बनाउन निकै सजिलो छ । पानी उमाल्नोस्, पुरै प्याकेटको खाने कुरा पानीमा खन्याउनुस् र केहि मिनटपछि तपाईं यसलाई सुपको रुपमा रोटी वा भातसंग पनि खान सक्नुहुन्छ’- शाहले भने।

यी खानामा मासुजन्य वा कुनै पनि किसिमको डेरी उत्पादनहरु प्रयोग नगरिएकाले भिगनहरुले पनि खान सक्ने उनले बताए। 

नेपाल फुड्स कम्पनीका ब्रान्ड निर्देशक विकास नेपालले शुरुमा बेलायत निवासी नेपाली समुदायसम्म आफ्ना उत्पादनहरु पुरयाउने र पछि भारतीय समुदाय हुँदै युरोप, अमेरिका लगायत विश्वभर नेपाली तयारी खानेकुरा पुरयाउने आफ्नो योजना सुनाए। 

उनले एउटा ब्रिटिश च्यारिटी फेज वर्ल्डवाइडसंग सहकार्य गरी नेपाल फुड फाउन्डेशन दर्ता गरिएको र हरेक प्याकेट बिक्रीको केहि अंश उक्त फाउन्डेशनमार्फत नेपालमा किसान समुदाय र तिनका बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसर दिलाउन उपलब्ध गराइने जनाए। 

उक्त अवसरमा फेजका निर्देशक बिल्ली कुरियरले आफ्नो संस्थाले नेपालमा शिक्षा, प्राथमिक स्वास्थ्य सेवा तथा जीविकोपार्जनको क्षेत्रमा काम गरिरहेको जनाए। नेपाल फुड्ससंग सहकार्य गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । 

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले यो उद्यम नेपाली खाना, संस्कृति र व्यापार प्रवर्धन गर्ने एक निकै राम्रो प्रयास भएको बताए। ‘नेपाल र बेलायतको व्यापार सीमित छ र हामी त्यो अरु बढोस् भन्ने चाहन्छौं’, आचार्यले भने। 

उनले यी उत्पादनहरुलाई बेलायत मात्रै होइन संसारभरि पुरयाउन शुभकामना पनि दिए । नेपालका किसानलाई लक्षित गरी नयाँ फाउन्डेशन शुरु गरेकोमा पनि उनले खुशी व्यक्त गरे। 

‘तताउनोस् र खानोस्’ (हिट एण्ड इट) नाम दिइएका यी खानाका अरु परिकारहरु पनि थप्दै जाने तयारी भइरहेको सेफ शाहले बताए । 

भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू