बुधबार, कार्तिक ७, २०८१
08:21 | १३:०६

प्रत्यक्ष प्रतिस्पर्धामा दुई सय ३१ महिलाले गरे उम्मेदवारी दर्ता

रासस अक्टोबर ९, २०२२

मोरङको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपा नेपालको तर्फबाट उम्मेदवारी दर्ता गराउँदै नायिका रेखा थापा । तस्बिर- गोपाल काˆले, रासस

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा हालसम्म दुई सय ३१ महिलाले उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गरेका छन् ।

निर्वाचन आयोगको बेलुका ९ बजेसम्म प्राप्त तथ्यांकनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्न दुई सय ३१ महिलाले उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट पाँच जना छन् । अर्घाखाँचीबाट कांग्रेस नेत्री तथा पूर्वउपसभामुख पुष्पा भुसाल, तेह्रथुमबाट सीता गुरुङ, मोरङ–२ बाट सुजाता कोइराला, सिरहा–२ बाट चित्रलेखा यादव र मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’ रहेकी छन् ।

त्यस्तै नेकपा (एमाले) का सात जनाले उमेदवारी मनोनयनपत्र दर्ता गरेका छन् ।

त्यसमध्ये स्याङ्जा–१ बाट पद्मा अर्याल, कञ्चनपुर–३ बाट निरूदेवी पाल, दाङ–१ बाट शान्ता चौधरी, दाङ–३ बाट कोमल वली, सुनसरी–३ बाट भगवती न्यौपाने, डोटीबाट गौरी ओली र कास्की–२ बाट विद्या भट्टराई छन् ।

नेकपा (माओवादी केन्द्र)बाट काठमाडौँ–२ बाट ओनसरी घर्ती, काठमाडौँ–९ बाट कल्पना धमला, काठमाडौँ–७ बाट मानुषी यमी भट्टराई, ललितपुर–३ बाट पम्फा भुसाल र दाङ–२ बाट रेखा शर्मा गरी पाँच महिलाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)बाट गुल्मी–२ मा रामकुमारी झाँक्रीले उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मोरङ–३ मा रेखा थापाले उम्मेदवारी दिएकी छन् ।

प्रतिनिधिसभातर्फ कुल दुई हजार चार सय ७४ मध्ये दुई हजार दुई सय ४२ पुरुष र महिला दुई सय ३१ जना प्रतिस्पर्धामा छन् भने प्रदेशसभामा तीन हजार तीन सय ९३ मध्ये पुरूष तीन हजार ९९, महिला दुई सय ९३ र अन्य एक रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू