बिहीबार, वैशाख २०, २०८१
19:14 | २३:५९

साउथ इष्ट लन्डनमा अक्टोबर २३ मा दशैंतिहार शुभकामना कार्यक्रम

नेपाली लिङ्क अक्टोबर ९, २०२२

लन्डन। साउथ इष्ट लन्डनको प्लमस्टिडमा आगामी अक्टोबर २३ तारिख दशैंतिहार शुभकामना कार्यक्रम आयोजना हुने भएको छ।

दशैं, तिहारसहितका सम्पूर्ण नेपाली पर्वहरुको उपलक्ष्यमा रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) को आयोजनामा कार्यक्रम हुने भएको हो ।

स्थानीय एशिएन कम्युनिटी सेन्टरमा अपरान्ह ४ देखि राती १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछन्।

स्थानीय कलाकारका गीत, नृत्य सहितका प्रस्तुतिसंगै डिजे डान्सको मनोरन्जन पनि कार्यक्रममा लिन सकिनेछ। 

साउथ इष्ट लन्डन क्षेत्रका अन्य नेपाली संस्था समेतको सहकार्यमा हुन लागेको कार्यक्रममा ५ सय बढी स्थानीय  नेपालीको सहभागिता अपेक्षा गरिएको आयोजक आरजीएनएस महासचिव मञ्जु भन्डारीले बताइन्।             

कार्यक्रममा स्थानीय रोयल बरो अफ ग्रीनवीचका मेयर, काउन्सिलरहरुसहित लन्डनस्थित नेपाली दूतावास, बेलायतका अन्य क्षेत्रस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई पनि अतिथिका रुपमा निमन्त्रणा गरिएको उनले जानकारी दिइन्।

कार्यक्रमको संयोजन सल्लाहकार एलएन पाण्डे र तमुधिं साउथ इष्ट रिजनल अध्यक्ष ह्यारी गुरुङले गर्दैछन्। आर्थिक संयोजन आरजीएनएस सल्लाहकारद्वय मोहन गुरुङ र राजन खकुरालले गरिरहेका छन्।

अतिथि सत्कारको जिम्मेवारी आरजीएनएस वरिष्ठ उपाध्यक्ष पुण्य रेग्मीको काँधमा परेको छ।  

आयोजक आरजीएनएस अध्यक्ष काउन्सिलर जीत रानाभाटले चाडपर्वहरुको सेरोफेरो र कोभिड १९ को लामो चपेटापछि हुन लागेको कार्यक्रमले स्थानीय नेपालीहरुबीच सुखद जमघटको अवसर सिर्जना गर्ने आशा व्यक्त गरेका छन्।

साथै, कार्यक्रममार्फत् केही कोष जम्मा गरी स्थानीय ज्येष्ठ नागरिक तथा बालबालिकाको लागि उपयोगी कार्यक्रममा खर्च गर्ने योजना बनाइएको अध्यक्ष रानाभाटले जानकारी दिए।

कार्यक्रममा प्रवेश शुल्क मात्र १० पाउन्ड राखिएको छ । जसबाट हरेक सहभागीलाई डिनर उपलब्ध गराइनेछ।

कार्यक्रमका आर्थिक संयोजक आरजीएनएस सल्लाहकार राजन खकुरालले कार्यक्रममा सहभागीहरुको सुविधालाई ध्यानमा राख्दै डिनरसहितको प्रवेश शुल्क पनि न्यून राखिएको बताए। 

कार्यक्रमको लक्ष्यअनुरुप च्यारिटीमूलक कार्यलाई कोष जुटाउन विभिन्न व्यवसायबाट विज्ञापन र स्वस्फूर्त् सहयोग संकलन पनि गरिएको खकुरालले जानकारी दिए।

कार्यक्रममा साउथ इष्ट साथै बेलायतका अन्य क्षेत्रका नेपालीलाई पनि सहभागिताको लागि आयोजकले आव्हान गरेका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू