बिहीबार, चैत १५, २०८०
16:00 | २१:४५

बेलायतमा नेपाल जस्तै दशैं रौनक

नेपाली लिङ्क अक्टोबर ४, २०२२

लण्डन। नेपालबाट झण्डै ५ हजार ५ सय माइल टाढा बेलायत आएर पनि नेपालीले आफ्नो मौलिक चाड पर्व, कला संस्कृति र रहनसहन भुलेका छैनन् । 

यस वर्षको बडादशैंमा पनि नेपालीले त्यसलाई निरन्तरता दिए । 

सोमबार सांझ लन्डनस्थित पशुपतिनाथ मन्दिर परिसर पुग्दा भक्तजनहरु कालरात्री पूजामा व्यस्त देखिन्थे । हवनसहित कुस्माण्ड बली दिएर जमराको पूजा, आरती र भजनकीर्तनले माहोल प्रवास झैं लाग्थेन । 

आज मंगलबार ९ कन्याहरुको पूजा गर्ने कार्यक्रम छ भने दशमीको दिन बुधबार बिहान ७ बजेदेखि सर्वसाधारणलाई टिका जमरा वितरण गर्ने कार्यक्रम रहेको मन्दिरका मूल पण्डित निलहरि घिमिरे बताउंछन् ।  

पशुपति मन्दिर बनाउन आव्हान भएपछि सन् २००३ देखि सामूहिक टिका जमरा ग्रहण गर्ने परम्परा कायमै राखेको छ पशुपतिनाथ मन्दिरले । 

दशमीको दिन टिका जमरा थाप्न हजारौं नेपाली मन्दिर आउने गर्दछन् ।

उता, नेपाली जनसंख्या अत्यधिक रहेको बेलायतको अल्डरसटस्थित शिव मन्दिरमा पनि दशैंभर निकै छ चहलपहल । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नवदुर्गा पूजा गर्न नेपालीहरुको घुइंचो लाग्ने गरेको छ ।


शिव मन्दिरमा घटस्थापनादेखि दिनहुं बिहान बेलुका नवदुर्गा पूजा भइरहेको छ भने सप्तमीका दिन पञ्चेबाजासहित फूलपाती भित्रयाइयो । 

सोमबार अगष्टमीका दिन कालरात्री पूजा गरिएको थियो भने विजयादशमीका दिन टिका जमारा वितरण गर्ने कार्यक्रम रहेको शिव मन्दिरका अध्यक्ष बाचस्पति रेग्मीले बताए । 

बेलायतमा यस वर्ष बडादशैंको टीकाको शुभ साइत बिहान सवा नौ बजे जुराइएको छ।

शुभ साइतमा शुरु गरेपछि दिनभर नै टीका लगाउन सकिने पण्डित घिमिरे बताउंछन् । सूर्योदयलाई आधार बनाएर शुभ साइत निकालिएका कारण नेपालको तुलनामा बेलायतमा साइतको समय फरक रहेको पण्डित घिमिरेले जनाए।  

उता, बडा दशैं तिहारको उपलक्ष्यमा बेलायतस्थित नेपाली समुदायमा कयौं कार्यक्रम भइरहेका छन् । पिटरबरो नेपाली समाज, बर्न्टओक नेपलिज कम्युनिटी, चितवन एड ट्रष्ट लगायत कयौं सामाजिक संस्थाले सार्वजनिक कार्यक्रम गरि दशैं तिहार शुभकामना आदानप्रदानको माहोल जुराए । 

लन्डनस्थित नेपाली दूतावासले भने कोभिड महामारीयता नेपालीका लागि टिका वा दशैं भोज गर्ने पुरानो परम्परा स्थगित गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू