मंगलबार, चैत ६, २०८०
05:45 | ११:३०

पिटरबरोको दसैं कार्यक्रममा नेपालका हांस्यकलाकारले हंसाए दर्शक

नेपाली लिङ्क अक्टोबर ४, २०२२


लन्डन । नेपालीहरुको महान पर्व बडादसैंको उपलक्ष्यमा बेलायतका विभिन्न शहरमा दशैँ कार्यक्रम गरि शुभकामना आदानप्रदान गरिएको छ ।

यसै सिलसिलामा सोमबार साँझ बेलायतको पिटरबरोमा ‘पिटरबरो नेप्लिज कम्युनिटी’ यूकेले एक विशेष कार्यक्रम गरेको छ । 

समाजका अध्यक्ष हरिहर भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वअध्यक्ष, ट्रष्टी, सल्लाहकारलगायत समाजका सदस्यहरुका साथै विभिन्न स्थानबाट आएका नेपालीहरुको सहभागिता थियो । अध्यक्ष भट्टराई र कार्यवाहक ट्रष्टी संयोजक बाबुराम धितालले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमलाई औपचारिकता दिएका थिए ।  

समाजका कार्यकारी सदस्य एवम् खेलकुद विभाग संयोजक सचिन भट्टराईले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरे ।


यसैगरी पूर्वअध्यक्ष केशव भण्डारी, नटिङहम नेपाली समाजका अध्यक्ष रविन्द्र शर्मा र नेपाल पत्रकार महासंघ यूके शाखाका महासचिव नरेन्द्र बस्नेतले दशैंको शुभकामना व्यक्त गरेका थिए ।

दुई सयभन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु गायक प्रकाश कटुवाल, हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु माष्टर) का साथ स्थानीय कलाकार पूर्णमान बज्राचार्य तथा स-साना भाइबहिनीहरुले पनि प्रस्तुति दिएका थिए ।


सुरुमा बाल कलाकार आमोद ढकालले ‘वर्षमा दिनमा’ बोलको दशैं गीत गएर सांगीतिक माहोललाई अघि बढाएका थिए । यसैगरी ज्योति प्रधान, सोनिसा भट्टराई, युक्रेश कोइराला, सान्वी पाण्डे, साहसी भट्टराई, आदिती पाण्डे, पल्पसा बज्राचार्य, सायुज धिताल, नोयल पौडेल र ओजस्वी पौडेलले विभिन्न खालका नेपाली गीतमा नृत्य प्रस्तुत गरे ।

स्थानीय कलाकार पूर्णमान बज्राचार्यले ‘तिमी पारि त्यो गाउंमा’ र ‘ढुंगे साँगुको मेलामा’ बोलका चर्चित गएर मनोरन्जन दिलाए । 

हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु माष्टर) ले पनि समसामयिक विषयमा व्यंग गर्दै दर्शक हँसाएका थिए । विदेशमा बस्ने नेपालीहरुलाई नेपाली कलाकारले गरेको माया र सद्भावको प्रशंसा गर्दै जो जहाँ भएपनि नेपाललाई नबिर्सन उनीहरुले आग्रह गरेका थिए ।

यसैगरी लोक गायक प्रकाश कटुवालले बेलायत आउन भोगेको व्यथा पोख्दै तेस्रो पटकको प्रयासमा आफू बेलायत आउन पाएको बताए। उनले ‘चोर बिरालो पल्क्यो, चोरी खान पल्केको ढाडे बिरालो, छेकेन जामाले जस्ता आफ्ना लोकप्रिय  सांगीतिक प्रस्तुति दिएर सबैलाई नचाएका थिए । 

उक्त कार्यक्रम संचालन संस्थाका महासचिव एवं व्यवसायी कृष्ण लुइंटेलले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू