शनिबार, वैशाख ८, २०८१
23:06 | ०३:५१

चौतर्फी आलोचनापछि बेलायतमा ‘उच्च आम्दानी कर’ कटौतीको घोषणा फिर्ता

नेपाली लिङ्क अक्टोबर ३, २०२२

अर्थमन्त्री क्वासी क्वार्टेन

लन्डन। एक महिनाअघि मात्रै शक्तिमा आएकी बेलायती प्रधानमन्त्री लिज ट्रसको सरकारले घोषणा गरेको आयकर कटौतीसम्बन्धि एक विवादास्पद नीति फिर्ता गरेको छ ।

उच्च आम्दानी गर्नेहरुबाट लिइने करमा लाग्ने गरेको उच्च दरलाई खारेज गर्ने घोषणा चौतर्फी आलोचनापछि फिर्ता गरिएको हो।

अर्थमन्त्री क्वासी क्वार्टेनले उक्त कर कटौतीको घोषणापछि सिर्जित अवस्थाले सरकारका अन्य प्राथमिकताहरुमा पनि विकर्षणको अवस्था आएकाले फिर्ता लिने निर्णय गरिएको बताए।  

अर्थमन्त्री क्वार्टेनले अघिल्लो साता मात्रै वार्षिक डेढ लाख पाउन्डभन्दा बढी आम्दानी हुनेहरुले सरकारलाई तिर्नुपर्ने करको ४५ प्रतिशत दर हटाइएको घोषणा गरेका थिए। 

आगामी अप्रिल महिनाबाट लागू हुने भनिएको उक्त नीतिले उच्च आम्दानी हुनेहरुलाई नै थप फाइदा पुर्‍याएको भन्दै तीव्र आलोचना भएको थियो ।  

दैनिक जीवनयापन खर्च आकाशिएर आम बेलायती जनता संघर्ष गरिरहेका बेला उच्च आम्दानी गर्नेहरुकै पक्षमा सरकारले ल्याएको कर नीतिको सत्तारुढ दलकै कयौं सांसदसमेतले विरोध गरेका थिए। 

चौतर्फी विरोधबीच पनि आफ्नो घोषणामा अडान राख्दै आएको सरकारले अचानक ‘यू टर्न’ लिंदै नीति फिर्ता लिएको हो। आइतबार मात्रै पनि प्रधानमन्त्री ट्रसले घोषित नीतिमा पुनर्विचार हुन नसक्ने बताएकी थिइन्।

सरकारले पछिल्ला आर्थिक नीतिहरु घोषणा गरेसंगै बेलायती अर्थतन्त्रमा थप अस्थिरता उत्पन्न भएका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू