बिहीबार, चैत १५, २०८०
11:01 | १६:४६

यस्तो रह्यो एनआरएनए कार्यकारी अध्यक्ष आचार्यको ६ महिने कार्यकाल

नेपाली लिङ्क अक्टोबर २, २०२२


लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले नेपाल नागरिकता विधेयक २०७९ संसदको दुबै सदनबाट दुई, दुई पटक पारित हुनु एक प्रमुख उपलब्धि भएको बताएका छन्।

विजया दशमी २०७९ को अवसरमा संघद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आचार्यले  राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त विधेयक प्रमाणीकरण हुने स्थिति बन्न नसकेकोमा भने गैरआवासीय नेपाली संघले दु:ख व्यक्त गरेको बताए। 

‘संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानूनी बाटो अवलम्बन गर्न पनि हामी  नेपाल सरकार, नेपालका राजनीतिक दलहरु लगायत सम्बन्धित सबै समक्ष हार्दिक आग्रह गर्दछौं,’ उनले भने।

वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सहकार्य गर्न गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको उनले बताए। ‘विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने सम्बन्धमा नेपाल सरकार तथा निर्वाचन आयोग निकै सकारात्मक रहेको हामीले पाएका छौं। यो निर्वाचन लगत्तै फेरी हामीले फलो-अप गर्ने छौं,’ उनले भने।

अध्यक्ष आचार्यले एनआरएनहरुका लागि डलर एकाउन्ट खोल्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले पटकपटक नियमावलीहरु संशोधन गरेर सहजीकरण गरेको बताउँदै यो सुविधालाई बढी भन्दा बढी उपयोग गर्न एनआरएनहरुलाई आग्रह गरे । 

अध्यक्ष आचार्यले एनआरएनए स्पोर्टस् एकेडेमीद्वारा गत  भाद्र २४ र २५ गते आयोजना भएको ‘प्रथम एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसीप २०२२’ प्रतियोगितामा एनआरएन खेलाडीहरुले  १ रजत र ४ कास्य पदक जितेको स्मरण गरे। 

‘हामीले सामूहिक नेतृत्व पनि सफल हुन सक्छ भनेर देखाउने प्रयास गरिरहेका छौं,’ उनले भने। 

सोमबारदेखि आगामी ६ महिनाका लागि  कार्यकारी अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्न लागेकी रबिना थापाले संस्थामा एकता कायम गर्ने र अहिले अलग्गै गतिविधि गरिरहनु भएका साथीहरुलाई समेट्ने आफ्नो पहिलो प्राथमिकता हुने उनले बताइन् । उनले संस्थाको संशोधित विधानलाई आम सहमतिको दस्तावेजको रुपमा प्रस्तुत गर्न आफुले प्रयास गर्ने जनाइन् । 

त्यस्तै अर्का अध्यक्ष बद्री केसीले संस्थाभित्र आफूहरुले सामूहिक नेतृत्वको अभ्यास गर्दै गत ६ महिनासम्म सफलताका साथ पुरा गरेको बताए । नेपाली नागरिकताको निरन्तरताका लागि प्रयास जारी रहेको तर विधेयक प्रमाणीकरण नहुँदा एनआरएनहरु निराश भएको उनले बताए । उनले आगामी ११ अक्टोबर २०२३ मा चुनाव गराएर नयाँ कार्य समितिलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘हाम्रो यो कार्यसमितिको म्यान्डेट भनेको सहमति र सहकार्यको म्यान्डेट हो,’ महासचिव डा केशव पौडेलले भने । सहमतिमै विधान पारित हुने उनले अपेक्षा व्यक्त गरे। 

संघका प्रवक्ता सोम सापकोटाले सबै पत्रकार तथा सहभागीहरुलाई धन्यवाद दिएका थिए। 

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यको वक्तव्य

सर्वप्रथम नेपालीहरूका महान पर्व विजया दशमी, दीपावली, छठ तथा ह्लोसारको पावन अवसरमा गैरआवासीय नेपाली संघका पन्जिकृत सदस्यहरु, पदाधिकारी साथीहरु,  संसारभरि रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनीहरु, मिडियाका साथीहरु लगायत यो अभियानमा सघाउने सम्पूर्ण सहयोगी मित्रहरुमा सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

गत मार्च २०२२ मा नेपालमा गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशन केही विषम परिस्थिमा सम्पन्न भएको हामी सबैलाई थाहा छ। गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनको म्यान्डेट अनुसार सर्वसम्मतिले गठित नयाँ कार्यसमितिले गत ६ महिनाको छोटो अवधिमा पनि लामो समयदेखि थाती रहेका थुप्रै उल्लेख्य कामहरु पुरा गरेको छ ।  त्यसमध्ये मुख्यमुख्य यसप्रकार छन्:

१. नेपालको संविधान २०७२ ले उल्लेख गरेको  गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने गरी  संसदको दुबै सदनबाट नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ दुइ, दुइ पटक पारित भएको छ।  त्यसलाई मैले मुख्य उपलब्धिको रुपमा लिएको छु। उक्त विधेयक सम्माननीय राष्ट्रपतिज्यूबाट  प्रमाणीकरण हुने स्थिति बन्न नसकेकोमा  गैरआवासीय नेपाली संघले दुख व्यक्त गरेको छ। संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न पनि हामी  नेपाल सरकार, नेपालका राजनीतिक दलहरु लगायत सम्बन्धित सबैसंग हार्दिक आग्रह गर्दछौं ।

२. गत १६ जुन २०२२ मा गैरआवासीय नेपाली संघद्वारा ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयमा एक दिने कार्यशाला गोष्ठि  भव्य र सभ्यरुपमा सम्पन्न भयो । उक्त गोष्ठिमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, माननीय गृह मन्त्रीज्यू, परराष्ट्र मन्त्रीज्यू, श्रम मन्त्रीज्यू, कानून मन्त्रीज्यू, सांसदज्यूहरू, सचिवज्यूहरु, वरिष्ठ सरकारी अधिकारीहरु, कूटनीतिज्ञ, उद्यमी व्यवसायी, संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष तथा पदाधिकारी साथीहरु प्रत्यक्ष र भर्चुएल माध्यमद्वारा संसारभरिबाट जोडिनु भएको थियो।  उक्त गोष्ठिका ९ बुंदे निष्कर्षहरु हाम्रो वेबसाइटमा छ।

३.   त्यस्तै गत २१ जुलाई २०२२ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा “वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा निक्षेप” विषयक एक दिने कार्यशाला सम्पन्न  भयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीजि तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनु हुन्थ्यो।  

सोही अवसरमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक सहकार्यका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । जसमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र एनआरएनएको तर्फबाट मैले, अध्यक्ष बद्री केसी र रबिना थापाले हस्ताक्षर गरेका छौं।

४. विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने सम्बन्धमा नेपाल सरकार तथा निर्वाचन आयोग निकै सकारात्मक रहेको हामीले पाएका छौं।  यो निर्वाचन लगत्तै फेरी हामीले ‘फलो अप’ गर्नेछौं।

५. हाम्रो निरन्तर प्रयासको फलस्वरुप एनआरएनहरुका लागि डलर एकाउन्ट खोल्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले पटक पटक नियमावलीहरु संशोधन गरेर सहजीकरण गरेको छ।  यो सुविधालाई बढी भन्दा बढी प्रयोग गर्न म सबै साथीहरुलाई आग्रह गर्दछु ।

६.   गैरआवासीय नेपाली संघ  (एनआरएनए) स्पोर्टस् एकेडेमीद्वारा गत  भाद्र २४ र २५ गते आयोजना भएको ‘प्रथम एनआरएनए राष्ट्रिय कराते च्याम्पयनसीप २०२२’ प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । एनआरएनएले १ रजत र ४ कास्य पदक जितेको छ। त्यस्तै आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनए टिम सहभागी हुन लागेको छ र  २० खेलमा सहभागिता जनाउने तयारी गरेको छ ।

७. यसै अवधिमा बैंककमा एसिया प्रशान्त क्षेत्रको नवौं  बैठक, स्टकहोममा यूरोप क्षेत्रको १४ औं क्षेत्रीय बैठक, युवा तथा महिला सम्मेलन साथै सिड्नीमा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन  सफलतापूर्वक सम्पन्न भएका छन्। 

यसैबीच केही एनसीसीहरुमा आन्तरिक विवाद देखिए पनि संघको नेतृत्वले विधान अनुरुप ती विवाद समाधान गर्न सक्दो प्रयत्न गरेको छ। विभिन्न कारणवश एनआरएनएको नाममा छुट्टै गतिविधि संचालन गरिरहेका साथीहरुसंग वार्ता गर्नका लागि संघले एक वार्ता कमिटि पनि गठन गरेको छ।  संघका विभिन्न समिति तथा कार्यदलहरुले गरिरहेका कामहरुको बारेमा न्यूजलेटरमा उल्लेख छ।

धन्यवाद ।

आइतबार, २ अक्टोबर २०२२

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू