बुधबार, वैशाख १२, २०८१
12:18 | १७:०३

बेलायती संसदमा नेपालीलाई महात्मा बुद्ध शान्ति पुरस्कार

नेपाली लिङ्क अक्टोबर २, २०२२

लन्डन । नेपालका एक जना सामाजिक अभियन्ता डा. राजेन्द्र केसीले ‘महात्मा बुद्ध पिस प्राइज’ पाएका छन् ।

एनआरआइ वेलफेयर सोसाइटी यूके च्याप्टरले बेलायती संसद हाउस अफ कमन्समा शुक्रबार सांझ आयोजित विशेष समारोहमा केसीलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

लन्डन होटल ग्रुपका अध्यक्ष गौहार नवाव र बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्माले पुरस्कार प्रदान गरेका थिए । 

च्याप्टरले विश्व शान्ति, आर्थिक र सामाजिक विकासमा योगदान दिने विश्वभरका व्यक्तिलाई सम्मान गर्ने क्रममा केसी नेपालबाट पहिलोपटक छानिएका हुन् ।

सम्मान ग्रहणपछि डा. केसीले समाजका लागि आफ्नो अनवरत योगदानको कदर गरेकामा सोसाइटीप्रति कृतज्ञता व्यक्त गरे ।

केसीले पवित्र भूमि पशुपतिनाथ, गौतम बुद्धको जन्मभूमि र हिमालै हिमाल भएको देशका रुपमा नेपाललाई चित्रित गर्दै नेपालको नामकारण कसरी भयो भन्ने चर्चा पनि गरे । उनले बेलायत नेपाल सम्बन्धका विविध आयामबारे पनि प्रकाश पारेका थिए ।

१३ देशका सयौं विदेशीमाझ उनले नेपालको सांस्कृतिक, धार्मिक तथा प्राकृतिक विविधता पनि वर्णन गरे ।

धादिङको उत्तरी क्षेत्रमा अवस्थित एउटा दुर्गम गाउं गंगाजमुना ५ मा जन्मिएर विभिन्न उतारचढाव, संघर्ष खेप्दै आफू यो स्थानसम्म आउन सफल भएको स्मरण गरिरहंदा उनी भावुक भए ।

डा. केसीले भावी दिनमा सामुदायिक तथा युवा लक्षित कार्यक्रममा अझ बढी दत्तचित्त भएर लाग्ने अठोट पनि व्यक्त गरेका थिए ।

युनिभर्सिटी अफ थ्री जेनेरेसनका संस्थापक अध्यक्ष केसीले ६० जना सडक बालबालिकालाई विगत १० वर्षदेखि पढाइरहेका छन् । 

उनले आफ्नो गृहजिल्ला धादिङको झण्डै २२९ घरधुरीलाई कफी खेतीका लागि निशुल्क विरुवा, प्राविधिक र आर्थिक सहयोग तथा अन्तर्राट्रिय बजारका लागि पहल समेत गर्दै आएका छन् ।

साउथ वेस्टर्न स्टेट कलेजका क्याम्पस प्रमुख समेत रहेका उनी नेपाल पिएचडी एसोसिएसन र नेपाल प्राइभेट कलेज एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुन् । बुढानिलकण्ठ हेरिटेज लि. र पार्क ल्याण्ड एग्रो टुरिजम लिमिटेडका संस्थापक अध्यक्ष पनि हुन् उनी ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू