शुक्रबार, चैत १६, २०८०
22:50 | ०४:३५

बेलायती लर्ड बिलिमोरियाले गरे नेपाली व्यवसाय ‘होली काउ’ को प्रशंसा

नेपाली लिङ्क अक्टोबर १, २०२२


लन्डन – बेलायतका एक जना प्रमुख उद्योगपति लर्ड करण बिलिमोरियाले बेलायतमा चर्चित ‘होली काउ’ समूहको प्रशंसा गरेका छन्।

होली काउ समूहका अध्यक्ष कुल आचार्यसंगको एक भेटमा उनले त्यस्तो प्रशंसा गरेका हुन्।

‘तपाईंको खाना निकै मिठो छ। पूर्व अर्थ तथा स्वास्थ्यमन्त्री साजिद जाविदले पनि होली काउको खाना निकै मन पराउनु हुन्छ,’ उनले भने।

होली काउ समूहको लन्डनका विभिन्न स्थानमा टेक अवे तथा रेस्टुरेन्ट संचालनमा छन् । उक्त समूहले झन्डै २०० नेपाली, ब्रिटिश तथा युरोपेली नागरिकहरुलाई रोजगार प्रदान गर्दै आएको छ ।

नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध

शुक्रबार सेन्ट्रल लन्डनमा झन्डै दुइ घण्टा लामो भेट वार्तामा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष आचार्यले नेपाल र बेलायतबीच २०० वर्ष भन्दा पुरानो ऐतिहासिक सम्बन्ध रहेको र गोर्खा सैनिकहरुका कारण दुवै देशको सम्बन्ध अभूतपूर्व रहेको बताएका थिए।

“बेलायतमा भूतपूर्व गोर्खा सैनिक, उहाँहरुका परिवार लगायत झन्डै डेढ लाख नेपाली समुदाय बसोबास गरिरहेको र विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेको मैले उहाँलाई बताएँ,” आचार्यले भने।

लर्ड बिलिमोरियाले आफू आफ्ना पितासंग नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपाली र गोर्खाहरुलाई अत्यन्तै मन पराउने बताएका थिए।

उनले आफूले बाल्यकालमै भीसी गजे घले तथा भीसी अगन सिंह राईलाई भेटेको सम्झना पनि गरे। उनका पिता भारतीय सेनाका लेफ्टिनेन्ट जनरल स्वर्गीय जनरल फरिदून बिलिमोरियासंग सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्रामको बेला गोर्खा ब्रिगेडका कमान्डर थिए।

नेपाल तथा यूकेबीच व्यापार र लगानी अभिवृद्धि

आचार्यका अनुसार ब्रिटिश संसदको माथिल्लो सदन हाउस अफ लर्ड्सका सदस्य समेत रहेका लर्ड बिलिमोरियाले नेपाल तथा यूकेबीच व्यापार, पर्यटन र लगानी अभिवृद्धि गर्न संस्थागत र व्यक्तिगत रुपमा हरसम्भव प्रयास गर्ने बताएका थिए ।

अध्यक्ष आचार्यले नेपाल सरकारले विदेशी लगानी भित्र्याउन विभिन्न नीति ल्याएको र अब आउने नयाँ सरकारले तिनलाई निरन्तरता दिने अपेक्षा गरेको बताएका थिए।

नेपालमा जल विद्युत, बैंकिङ, पूर्वाधार, सूचना प्रविधि, शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको र त्यसका लागि ब्रिटिश व्यवसायीहरुसंग एउटा बैठक राख्न आचार्यले आग्रह गरेका थिए।

गैरआवासीय नेपाली संघ,  नेपाल उद्योग वाणिज्य महासंघ  तथा नेपाल उद्योग परिसंघसंगको सहकार्यमा आयोजना गरिने उक्त बैठकलाई नतिजामुखी बनाउन संघले लगानी बोर्ड, लन्डनस्थित नेपाली दूतावास, काठमाडौँस्थित ब्रिटिश दूतावास, नेपाल ब्रिटेन च्याम्बर अफ कमर्श, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्श लगायतका संस्थाहरुसंग सहकार्य गर्ने आचार्यले जानकारी दिएका थिए।

उक्त बैठकमा आफू र सीबीआइका पदाधिकारीहरु भाग लिन इच्छुक रहेको लर्ड बिलिमोरियाले बताए। उनले आउँदो वर्ष आफ्नो नेपाल जाने योजना रहेको पनि सुनाए। 

उक्त भेटघाटमा आचार्यले लर्ड बिलिमोरियालाई खादा लगाई दिनुका साथै नेपालमा उत्पादित खुकुरी रम उपहार दिएका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू