शुक्रबार, वैशाख १४, २०८१
11:08 | १५:५३

टोल्स्टोयकी एना केरेनिना

निर्मला प्रसाईं सापकोटा अक्टोबर १, २०२२

निर्मला प्रसाईं सापकोटा

‘एना केरेनिना’ प्रसिद्ध रसियन साहित्यकार लियो टोल्स्टोयद्वारा लिखित सशक्त उपन्यास हो । धेरै पहिलेदेखि यो उपन्यास पढ्न मन लागेको भए पनि समय मिलिरहेको थिएन । यसपटक भने लामो समय लगाएर भए पनि त्यो इच्छा पुरा गरें ।

टोल्स्टोयको जन्म सन् १८२८ को सेप्टेम्बर ९ मा रसियामा भएको थियो । उनका दुई उपन्यास ‘वार एन्ड पिस’ र ‘एना केरेनिना’ अहिलेसम्म लेखिएका संसार कै उत्कृष्ट उपन्यास मानिन्छन् ।

‘एना केरेनिना’ ८६४ पृष्ठको उपन्यास हो । यो सन् १८७८ मा रसियन भाषामा प्रकाशित भएको थियो भने अरु धेरै भाषामा पछि अनुवाद भएको थियो । यो उपन्यासलाई अंग्रेजी भाषामा पनि धेरै अनुवादकहरुले अनुवाद गरेका छन् ।

यो उपन्यासको मुख्य प्रसंग उन्नाइसौं शताब्दीको उत्तरार्धतिरको रसियाको उच्च वर्गको पारिवारिक, सामाजिक, लैङ्गिक, वैवाहिक, इश्र्या, पाखण्ड, धोका, धार्मिक आस्था, शहरी जीवन र गाउँले जीवन, रसियन साम्राज्य आदि बारेमा छ ।

उपन्यासको नाम ‘एना केरेनिना’ भएपनि एना केन्द्रिय पात्र भने होइन । उपन्यासमा दुईटा कथानक छन । एउटा कथानक एनाको छ भने अर्को कथानक लेभनको छ ।

एनाको दाई स्टिभाले आफ्नै छोराछोरीलाई घरमा आएर फ्रेन्च पढाउने शिक्षिकासँग सम्बन्ध राखेको कुरा भाउजु डलीले थाहा पाएपछि उनीहरुको बीचमा भएको मुद्दा मिलाउन गएकी एना बीच बाटोमै आफ्नै मुद्दामा फंस्छे । ऊ ओर्लने ट्रेन स्टेसन (सेन्ट पीटर्स्वर्ग) मा भ्रन्स्की नामको केटा पनि आफ्नी आमालाई लिन आएको हुन्छ । एना र भ्रन्स्कीको पहिलो भेट त्यहीं हुन्छ । एना धेरै सुन्दरी हुन्छे, उसको सुन्दरता देखेर भ्रन्स्की निकै आकर्षित हुन्छ, र उसको पछि लाग्न थाल्छ । एना विवाहित र एक छोराकी आमा हो भन्ने थाहा पाउँदा पाउँदै पनि एनाको सुन्दरताले उसलाई मोहित पार्छ ।

एनाको श्रीमान केरेनिन ऊ भन्दा धेरै उमेरको हुन्छ । उसले एनालाई बेवास्ता गर्ने गर्छ र ऊ माया  नदेखाउने खालको हुन्छ । यता भ्रन्स्की भर्खरको, राम्रो, धेरै माया देखाउने र फुर्तिलो अविवाहित केटो हुन्छ ।

भ्रन्स्की एनाको निकै पछि लाग्छ । यदि एनाले केरेनिनलाई डिभोर्स गरी भने उसँग विवाह गर्ने प्रस्ताव राख्छ । शुरुमा त एनाले भ्रन्स्कीको कुरालाई वेवास्ता गर्छे । तर धेरै नै पछि लागिसकेपछि एनाले भ्रन्स्कीको प्रस्ताव स्वीकार गर्छे र केरेनिनसँग डिभोर्सको प्रस्ताव राख्छे । केरेनिन डिभोर्स गर्न चाहन्न । त्यस बेलाको रसियाको उच्च वर्गमा डिभोर्सलाई त्यति राम्रो मानिंदैनथ्यो । त्यसकारण केरेनिनले डिभोर्स गर्न ढिलो गरिरहेको हुन्छ ।

उता एना र भ्रन्स्की प्रेममा परेर इटली जान्छन् । एना भ्रन्स्कीसँग इटली गएको उसका साथीहरुले थाहा पाउँछन् । इटलीबाट फर्केपछि एनाका साथीहरुले उसलाई वेवास्ता गर्छन् । केरेनिनले डिभोर्स दिन ढिलो गर्नु, साथीहरुले वेवास्ता गर्नु र बेला बेलामा भ्रन्स्की बाहिरै बस्नु जस्ता कारणहरुले एनामा शंका, ईश्र्या र नकारात्मक सोचको विकास हुन थाल्छ । भ्रन्स्कीप्रति पनि एनालाई शंका लाग्न थाल्छ, र उसले कतै भ्रन्स्कीले अरु केटीहरुसँग पो प्रेम गर्न थाल्यो कि भन्ने सोच्न थाल्छे । भ्रन्स्कीको तर्फबाट एउटी छोरी जन्मेकी हुन्छे, जसको नाम एनी राखिएको हुन्छ । एना कानूनी रूपमा करेनिनकी श्रीमती हुन्छे, जसले गर्दा एनी समाजमा ठूलो प्रश्नको रूपमा खडा हुन्छे । भ्रन्स्की र एनाबाट एनी जन्मेको केही महिनापछि डली एनालाई  भेट्न जान्छे । एनी एकदमै राम्री हुन्छे ।

भेटमा डलीले सामान्य रूपमा छोरीको नाम के राखेऊ त भन्ने प्रश्न गर्छे । त्यो प्रश्नको उत्तर दिन कठिन भएको कुरा डलिले एनाको अनुहारको भाव हेरेर बुझ्छे र कुरा अर्कैतिर मोड्न खोज्छे । तर एनाले त्यसलाई प्रतिकार गर्छे । बाहिर उसले प्रतिकार गरेता पनि भित्र भने एनालाई त्यो कुराले पिरोलिरहेको हुन्छ । ऊ समाजभन्दा बाहिर जान सक्दिन । भ्रन्स्कीसँग विवाह गर्नका लागि एनाले केरेनिनबाट जन्मेको ९ वर्ष पुग्न लागेको मुटुको टुक्रा जस्तो छोरा सेरेजालाई त्याग्न वाध्य भएकी छे ।

एना भ्रन्स्कीसँग गएको केही समयपछि सेरेजाको नवौ जन्मदिन आउँछ । त्यो दिन एना भेष बदलेर र अनुहार पनि छोपेर सेरेजालाई मन पर्ने कुराहरु उपहार लिएर कसैले थाहा नपाई पालेलाई अनुरोध गरेर सेरेजालाई भेट्न उसको कोठामा जान्छे र सेरेजाको अघि असली रूपमा उपस्थित हुन्छे । आमा नदेखेर न्यास्रिएको सेरेजा एक्कासी आमालाई देख्दा आश्चर्य मान्छ । उसले एनालाई  भन्छ कि मलाई मानिसहरुले तेरी आमा मरिसकी भने पनि मलाई विश्वास लागेको थिएन भन्दै एकदमै खुशी हुन्छ । त्यो घटनालाई टोल्स्टोयले यसरी प्रस्तुत गरेका छन् की पढ्दै जाँदा पाठकको मन पनि कटक्कै काटिन्छ ।

ती सबै घटनाहरुले एनाको मनमा आगो बालिरहेको हुन्छ । त्यसलाई शान्त पार्न ऊ भ्रन्स्कीसँग पहिलो पटक भेट भएको ठाउँ अर्थात् सैन्ट पिटर्स्वर्ग ट्रेन स्टेसनमा जान्छे । अनि कुदिरहेको ट्रेनको अगाडि हाम फालेर आत्महत्या गर्छे । यसरी एनातिरको कथानक वियोगान्त भएर सकिन्छ ।

उता लेभनले भने पढिसकेपछि गाउँमा फर्केर आधुनिक तरिकाले खेती गरेर कृषिमा सुधार गर्ने प्रयास गर्छ । तर गाउँलेहरुले आधुनिक प्रणालीमा विश्वास गर्दैनन् । उनीहरुको विश्वास जित्न लेभनले धेरै संघर्ष गर्नु पर्छ । लेभनको दोश्रो प्रयासपछि मात्र डलिकी बहिनी किटीसँग विवाह हुन्छ । त्यो भन्दा पहिला किटी भ्रन्स्कीसँग प्रेममा हुन्छे । तर भ्रन्स्कीले एनालाई भेटेपछि किटीलाई छोडिदिन्छ । त्यो थाहा पाएर पनि एनाले भ्रन्स्कीको प्रेम स्वीकार गर्छे । यसरी यहाँ टोल्स्टोयले प्रेममा धोका र स्वार्थको कुरा देखाउन खोजेका छन् । लेभनको किटीसँग विवाह भइसकेपछि सुरुका दिनहरु ठिकै भए पनि उनीहरुको वैवाहिक जीवन आनन्दित हुँदै जान्छ ।

उपन्यासमा अरु धेरै प्रसंग पनि छन् । किटीलाई बच्चा जन्माउन सजिलो र सुरक्षित पार्न गाउँबाट शहरमा बस्न गएको, रेल मार्ग निर्माण र रेल यातायातका कुराहरु प्रशस्त आउँछन्, जो त्यस बेला रसियामा तीव्र गतिमा विकास हुँदै गरेको हुन्छ । उपन्यासका सबै घटनाहरु मस्को र सेन्ट पिटर्सवर्गमा आधरित छन् ।

किटी र लेभनको विवाह हुने समयमा लेभन कट्टर नास्तिक हुन्छ । ऊ विवाहमा चर्चमा गएर बाइबलका विवाह विधिका कुराहरु उच्चारण गर्न नचाहने मान्छे उपन्यासको अन्ततिर गएर ठूलो आस्तिक बन्छ ।

जीवनमा धार्मिक आस्था महत्वपूर्ण छ र जीवनको अर्थ नै धार्मिक आस्थामा छ भन्ने कुरा बुझ्छ । यो नै उपन्यासको सबैभन्दा ठूलो सन्देश हो भन्ने लाग्छ । टोल्स्टोय स्वयम्को पनि जीवनको उत्तरार्धतिर गएर धर्मप्रति बढी झुकाव भएको पाईन्छ ।

केही समालोचकहरुले त लेभन पट्टिको कथानक चाँही टोल्स्टोयको आत्मकथाको केही अंश हो पनि भनेका छन् ।

समग्रमा भन्नु पर्दा एना केरेनिना एउटा काल्पनिक उपन्यास मात्र नभएर त्यस बेलाको रसियाको सामाजिक, राजनीतिक, साहित्यिक, कृषि क्रान्ति, रेल यातायातको विकास, आधुनिक चिकित्सा प्रणालीको विकासका बारेमा पनि यथार्थ सन्देश बोकेको उपन्यास हो ।

उपन्यास लामो भैकन पनि मन खिच्ने खालको छ । हरेक घटनालाई स्मरर्णीय र विस्तारित रूपमा बयान गरिएका छन् ।

यस्तो सुन्दर र शक्तिशाली उपन्यासका लेखक टोल्स्टोयको मृत्यु सन् १९१० को नोभेम्बर २० मा ८२ वर्षको उमेरमा रसियामा नै भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू