मंगलबार, चैत ६, २०८०
06:52 | १२:३७

साहित्य विकास परिषद् यूकेको साहित्यिक घुम्ती र पुरस्कार शुशोभन

नेपाली लिङ्क सेप्टेम्बर २९, २०२२

लन्डन—नेपाली साहित्य विकास परिषद् यूकेले बेलायतको डर्बिसाएर र पिटरबरोमा दुई भिन्नाभिन्नै साहित्यिक घुम्ती कार्यक्रम र पुरस्कार शुशोभन गरेको छ । साथै कविता वाचन रसाहित्यिक अन्तरक्रिया पनि भएको छ । 

सर्जकहरू हिन्दमैञा वैद्य, समिप हाङबाङ ‘जर्जर’ र कमल भण्डारीलाई पुरस्कार दिइएको हो । 

पिटरबरो नेपाली समाजको संयोजन र सहभागितामा पिटरबरो  कम्युनिटी हलमा आयोजित कार्यक्रममा वरिष्ठ कवि समिप हाङबाङ ‘जर्जर’ लाई विशिष्ट साहित्य रजत पदक पुरस्कार शुशोभन गर्दै समारोहका प्रमुख अतिथि यती नेपाली एसोसिएसन यूके अध्यक्ष तथा परिषद्का वरिष्ठ सह-अध्यक्ष कवि ध्रुव केसीले परिषद्ले नेपाली समाजलाई साहित्य सिर्जनामा उत्साह थप्ने सराहनीय कार्य गरेको बताए । 

अध्यक्ष केसीले अब्बल सर्जक तथा पत्रकार समिप हाङबाङ ‘जर्जर’ र वरिष्ठ कवयित्री हिन्दमैञा वैद्य एवम् समाजसेवी कमल भण्डारीलाई सम्मान गरेर परिषद्ले सर्जक र समाजसेवीको योगदानको उच्च कदर गरेको चर्चा गरे । 

संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजंग शाहले लन्डन बाहिरका सहरहरूमा रहेका नेपाली जनसमाज र साहित्यक प्रतिभाहरूसँग सामाजिक एकता र सिर्जनात्मक प्रेरणा अभिबृद्धि गर्ने उद्धेश्यले परिषदद्वारा साहित्य घुम्ती कार्यक्रम गरिएको उल्लेख गर्दै कवि जर्जर, वैद्य र भण्डारीको योगदान नेपाली साहित्य विकास परिंषद्मा अभिछिन्न रहँदै आएको उल्लेख गरे ।

वरिष्ठ साहित्यकार शाहले पिटरबरो नेपाली समाजको  संयोजन, सहभागिता र सौजन्यता परिषदले लामो समय देखि उत्साहवर्धकरूपमा पाउँदै आएको चर्चा गरे । 

शाहले पुरस्कृत कवि जर्जरको साहित्यिक र सामाजिक योगदानको चर्चा गर्दै साहित्य, कला, पत्रकारिता र समाजसेवामा कवि जर्जरको विशिष्ट योगदान रहेको प्रकाश पारे ।


सभापति परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले ‘जर्जर’ को सिर्जनात्मक प्रतिभा र सेवाभावना अत्यन्त प्रशंसनीय रहेको र परिषद् विगत दुई दशक भन्दा बढी समय देखि निरन्तर लागि परेर नेपाली साहित्यको विकासमा उल्लेखनीय योगदान पुरयाएको चर्चा गरे । 

अध्यक्ष मल्लले पिटरबरो नेपाली समाज, पिटरबरो गोर्खा समाजका पदाधिकारी र डोलराज सुवेदी, प्रज्ञा राणा सुवेदी, किरण कार्कीबाट भएको सहयोग र सहभागिताले सर्जकहरूलाई अझ बढी उत्साह थपेको चर्चा गर्दै सबै सहभागीमा परिषद्को तर्फबाट आभार ब्यक्त गरे ।

समारोहमा पिटरबरो काउन्सिलका काउन्सलरद्वय गुल नवाज र मोहमद रंगजेवले समाजमा संस्कृति र सभ्यतालाई संवर्धन गर्न एकातावद्ध भएर सक्रिय रहन आह्वान गरे । 

डर्बिसाएरमा भएको समारोहमा परिषद्का पूर्व अध्यक्ष खगेन्द्र नेपाली, महालक्ष्मी नेपाली, नेपाली साहित्य पुरस्कारका ट्रष्टी कोहिनूर मल्ल, डोलराज सुवेदी, प्रज्ञा राणा सुवेदी, नवीन महत आदि तथा पिटरबरोमा भएको समारोहमा पूर्व अध्यक्ष तथा ट्रष्टीद्वय किरण कार्की र केशव भण्डारी, सचिव विना साप्कोटा, सदस्य कलाकार सुमेर ज्ञवाली, सदस्य कवि राजकुमार पुडासैनी, नेपाली गोर्खा समाजका संस्थापक अध्यक्ष दलबहादुर बुढाथोकी र स्वयमसेवी व्यक्तित्व टेरी लगायत वक्ताहरूले मन्तव्य राख्दै सम्मानित भएका कवि जर्जर पिटरबरो नेपाली समाजका संस्थापक अध्यक्ष भएको र उनलाई सम्मान गर्न पाउँदा गौरव लागेको चर्चा गरे ।

यस अघि स्वागत मन्तव्य दिंदै परिषद्की उपाध्यक्ष कवयित्री डा. सुधा श्रेष्ठले नेपाली भाषा साहित्यलाई बेलायती माटोमा हुर्काउन लागि परेका सर्जक र साहित्यसेवीहरूलाई प्रोत्साहन र सम्मान पुराउन परिषदले विभिन्न पुरस्कार स्थापना गरेको बताउंदै यही सिलसिलामा यो साहित्य घुम्ती कार्यक्रममा पुरस्कार सम्मान गर्न लागिएको बताए । 

समारोहमा परिषद्का अध्यक्ष कोमल मल्ल श्रेष्ठले परिषद्का पूर्व उपाध्यक्ष कवि ‘जर्जर’ र पूर्व कार्यकारिणी सदस्य भण्डारीको अभिनन्दन पत्र वाचन गरेपछि कर्तल ध्वनीका साथ प्रमुख अतिथी यती अध्यक्ष ध्रुव केसीद्वारा पदक तथा प्रमाणपत्र र परिषदका संस्थापक निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहद्वारा नेपाली टोपी तथा खाता लगाइदिएर पुरस्कार प्रदान गरे । 

अर्का पुरस्कृत व्यक्तित्व कमल भण्डारीको पदक तथा प्रमाणपत्र पिटरबरो नेपाली समाजका पूर्व अध्यक्ष केशव भण्डारीले ग्रहण गरेका थिए । 

यसैगरी पिटरबरो नेपाली समाजको तर्फबाट ट्रष्टी तथा पूर्व अध्यक्ष किरण कार्की , पूर्व अध्यक्ष केशव भण्डारी र सचिव विना साप्कोटाले पुष्प गुच्छा वधाइ कार्ड र खाता ओढाएर कवि समिप ‘जर्जर’ मा अभिनन्दन गरे । 

यसैगरी परिषद्की पूर्व कार्यकारिणी सदस्य हेमा गुरुङ, नेपाली गोर्खा समाजका संस्थापक अध्यक्ष दलबहादुर बुढाथोकी, पिटरबरो नेपाली समाजकी सदस्य सुनिता कार्की, आस्था लुइँटेल, दुर्गा भट्टराई, सरला पाण्डे बुढाथोकी, सुमेर ज्ञवाली, राजकुमार पुडासैनी लगायतले जर्जरमा हर्सोल्लासपूर्वक सम्मान व्यक्त गरे ।

समारोहमा कलाकार सुमेर ज्ञवालीले सुमधुर गीत गाए भने कवि राजकुमार पुडासैनी, डा. सुधा श्रेष्ठ, कोमल मल्ल र सुरेशजङ्ग शाहले कविता बाचन गरे । 

पिटरबरो नेपाली समाजबाट कार्यक्रमको संयोजन, हल व्यवस्थापन र जलपान प्रायोजन गरिएको थियो । 


परिषद्ले केही दिन अघि डर्बिसाएरमा पनि परिषद्का अध्यक्ष कोमल मल्ल र पूर्व अध्यक्ष खगेन्द्र नेपालीको नेतृत्वमा यस्तै साहित्य घुम्ती कार्यक्रम गरी वरिष्ठ कवयित्री तथा परिषद्की आजीवन सदस्य हिन्दमैञा वैद्यलाई नेपाली साहित्य विकास परिषद् रजत वर्ष विशिष्ट साहित्य पुरस्कार पदक सम्मानले अभिनन्दन गरेको थियो ।

परिषद्को आगामी कार्यक्रम लन्डनमा २३ अक्टुबरका दिन ११३औँ लक्ष्मीप्रसाद देवकोटा जयन्ती हुनेछ । उक्त अवसरमा नइ प्रकाशन नेपालबाट पुरस्कृत भएका बेलायतका १९ जना सर्जकलाई नइ रजत महोत्सव पदक पुरस्कार परिषद्का पदेन संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यबाट शुशोभन हुने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू