मंगलबार, चैत ६, २०८०
08:26 | १४:११

बेलायतको पहिलो ‘ए स्टार नेप्लिज बास्केटबल लिग’ विजेतालाई अवार्ड

नेपाली लिङ्क सेप्टेम्बर २८, २०२२

लन्डन — बेलायतमा पहिलोपटक आयोजित ‘ए स्टार नेप्लिज बास्केटबल लिग २०२२’ का विजेतालाई अवार्ड प्रदान गरिएको छ ।

मंगलबार सांझ लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच लिग आयोजक नेपाल बास्केटबल यूकेले अवार्ड प्रदान गरेको हो ।

नेपाल बास्केटबल संघका केन्द्रिय अध्यक्ष भिमसिंह गुरुङ र नेपाल बास्केटबल यूकेका अध्यक्ष रुपक गुरुङले खेलाडीलाई अवार्ड प्रदान गरे ।

लिग एमभीपी प्रसान राई (स्यान्डहर्स्ट निक्स), कोच अफ द सिजन सुजन गुरुङ (वाटरमेलन स्न्याचर्स), योङ प्लेयर अफ द सिजन आयुष गुरुङ (बलर्स स्ल्यामर्स), डिफेन्सिभ प्लेयर अफ द सिजन रोशन गुरुङ (वाटरमेलन स्न्याचर्स), थ्री पोइन्ट लिडर प्रसान राई (स्यान्डहर्स्ट निक्स), टप स्कोरर (रेगुलर सिजन) इमानुयल अगस्टिनो (साउथ आसफोर्ड वुल्भस्) ले अवार्ड पाए ।

त्यसैगरि, नेपाल बास्केटबल यूके (एनबीयूके) फस्ट टिमको अवार्ड पाउनेमा प्रसान राई (स्यान्डहर्स्ट निक्स), निशु राना (वाटरमेलन स्न्याचर्स), प्रताप गुरुङ (डीबीएस), रोशन गुरुङ (वाटरमेलन स्न्याचर्स) र मेर्गीम सोकोली (डीबीएस) छन् ।

एनबीयूके सेकेन्ड टिमतर्फ भिजन गुरुङ (बीएसके), आयुष गुरुङ (बलर्स स्ल्यामर्स), रोशन गुरुङ (साउथ आसफोर्ड वुल्भस्), इमानुयल अगस्टिनो (साउथ आसफोर्ड वुल्भस्) र असिम मल्ल (मेडस्टोन टाइटन्स्) ले अवार्ड पाए ।

सचिव भुवन लिम्बुले सञ्चालन गरेको कार्यक्रममा मन्तव्य दिंदै नेपाल बास्केटबल संघका केन्द्रिय अध्यक्ष भिमसिंह गुरुङले यूकेसंगको सहकार्य र आफ्नो रणनीतिक योजनाबारे बताए । आफू अध्यक्ष भएपछि नेपालमा बास्केटबल खेलको विकास र अवसरका लागि आक्रामक रुपमा लागेको उल्लेख गर्दै उनले बेलायतबाट पनि सहयोगको अपेक्षा राखे ।

लिग टाइटल प्रायोजक ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रबन्ध निर्देशक एवं इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामीले नेपाली युवालाई अवसर सिर्जना गर्न आफ्नोतर्फबाट सदैव सहयोग रहने जनाउंदै आगामी वर्ष लिग अझ विस्तारमा खेलाउन आर्थिक सहयोगको प्रतिवद्धता दोहोर्याए ।

उक्त कार्यक्रममा दर्लामीले नेपाल बास्केटबल संघका केन्द्रिय अध्यक्ष भिमसिंह गुरुङ र राष्ट्रिय संयोजक शरद विष्टलाई स्वागतसहित सम्मान गरेका थिए । नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत (एनएनआइपीए) को निमन्त्रणामा नेपाल बास्केटबल संघका पदाधिकारी लन्डन आएका हुन् ।

कार्यक्रममा विजेता खेलाडीसहित नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायत (एनएनआइपीए) अध्यक्ष सिद्धार्थविक्रम क्षेत्री, यती पूर्व अध्यक्ष उमेश मोक्तान, ए स्टारका मोर्गेज एड्भाइजर किशोर राना लगायतको उपस्थिति थियो ।

नेपाल बास्केटबल यूकेले पहिलो पटक आयोजना गरेको लिगमा ८ नेपाली टिम सहभागी थिए । लन्डनको अक्सब्रीज, मेडस्टोन, फेल्थाम, क्याम्बर्ली, जिलिङहम र फोकस्टन केन्ट सहरमा खेल खेलाइएको थियो ।

तस्बिरहरु- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू