शनिबार, मंसिर २४, २०७९
21:52 | ०३:३७

गुट स्वार्थ र राजनीतिले ध्वस्त एनआरएनए साख, जोगाउने दायित्व हाम्रो होइन र ?

केन्द्रदेखि यूकेसम्मको विवादको आगो बुद्धिमतापूर्वक निभाऔं

लालबहादुर गुरूङ (एलबिजेड) सेप्टेम्बर २८, २०२२

गाउँका एक चल्ताफूर्ता भाइलाई फोन गरेर गाउॅंको हालखबर सोधें । उनले शुरूमै जवाफ फर्काए, ‘गाउँ पनि एनआरएन जस्तै छ, दाइ । सबैको आआफ्नै स्वार्थ छ । चुनाव आयो, गाउँकै मान्छे चारतिर फर्केका छन् । दाजुभाइ लाखापाखा लागेछन्,  गाउँघर कसले बनाउने हो, कसले हेर्ने हो भन्ने विवादमै खण्डित भएका छन् ।’

एनआरएनएको अभियन्ता भइ टोपलिएको मलाई ती भाइको कुराले नराम्ररी चिमोट्यो । एउटा राज्य परिषदकै किन नहोस्, संस्थाको नेतृत्व गरिरहेको मलाई यसरी हल्लायो कि मानौं एनआरएनएको अभियन्ता हुँ भन्दा पनि अब मान्छे हाँस्न सक्छन्। 

धेरै नेपालीहरुले सोध्छन्, ‘तपाईं कुन गुटको ?’ म अवाक हुन्छु, साँच्चै म कुन गुटको पो हुं?’

आज म गैरआवासीय नेपाली हुँ भनेर मात्रै सुख नपाइने परिस्थिति सिर्जना भएको छ । आज म एनआरएनएमा आवद्ध छु भनेर मात्रै परिचयले नपुग्ने भएको छ । आज प्रत्येक गैरआवासीय नेपालीले परिचयसँगै जवाफ दिइरहनु परेको छ कि म एनआरएनए नभएर शेष घलेको पक्षमा छु, म चाहिँ कुल आचार्य पक्षको छु, म अमुक पार्टी निकटको मान्छे हुँ।

संस्थाको मूल उद्देश्यबाट बहकिएर, नेतृत्वको स्वार्थले चारतिर फर्केको, पार्टीको झण्डामुनी बसेर, निस्वार्थ सेवा गर्ने भावलाई कुल्चिएर अहिलेको गैरआवसीय नेपाली संघले म जस्ता थुप्रैलाई आज कित्ताकाट गरिरहेका छन् । नेतृत्वको गुट, स्वार्थ र राजनीतिक लडाईंले मजस्ता थुप्रै गैरआवासीय नेपालीहरुको अनुहारमा हिलो छ्यापिएको छ । 

जबर्जस्ती कित्ताकाटमात्रै गरिरहेको छैन, हिजोसम्म मिलेर बसिरहेका विभिन्न देशका गैरआवसीय नेपाली संघमा पनि विग्रह ल्याएको छ । सँगै काम गर्ने, एउटै उद्धेश्य लिएर हिँड्ने दाजुभाइबीच कलह र एकअर्कालाई बहिस्कार तथा कारबाही गर्ने परिस्थिति देखेर सायद नयाँ पुस्ताले भनिरहेका छन्, धिक्कार छ, एनआरएनएहरू। 

राजनीतिक स्वार्थ, व्यक्तिगत इर्ष्या र प्रतिष्ठाका कारण कसरी सेवाभावले खुलेका संस्थाहरु पनि धारासायी हुन्छन् ? कसरी भाइभाइ फुटेर मुल घर नै ध्यस्त पार्छन् ? नेतृत्वकै कारण कसरी प्रत्येक सदस्यलाई समेत गुट समाउन बाध्य पारिन्छन् र सेवा भावबाट कसरी संस्था स्वार्थ सिद्धमा बदलिन्छ ? भनेर अब अन्त हेर्न नपर्ने भएको छ, एनआरएनए हेरे पुग्छ । 

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, भवन भट्ट, शेष घले तपाईंहरुलाई अहिलेको संस्था देखेर के मन पोलेको छैन ? मूल उद्धेश्य र कर्म बिर्सिएर राजनीतिक दलदलमा फसेको देख्दा के साँच्चै तपाईंहरुलाई निन्द्रा परेको छ ? पूर्व अध्यक्ष कुमार पन्तज्यू, के हामीले परिकल्पना गरेको संस्था यस्तै हो ? संस्था नै बदनाम  हुँदा के हाम्रो अनुहार सफा देखिएला? कि त्यही संस्थाको बद्नामी छाँया पनि देखिएला ? पूर्व अध्यक्षज्यूहरु यो फुट र स्वार्थको राजनीति हेरेर कसरी निदाइरहन सक्नुभएको छ ? मलाई त छटपटी भइरहेको छ ।

एउटा प्रचलित भनाइ नै छ, जब हावा चल्छ त्यसले बल्लतल्ल बल्दै गरेको झुपडीको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको डढेलोलाई झनै दन्काउन उद्दत हुने कि समाधानका उपाय खोज्ने? एनआरएनएको सतहमा छचल्किएको विग्रह, फूट र व्यक्तिगत राजनीतिको आगोले सिंगो संस्थालाई नै जलाइरहेको र नेतृत्वले आगो निभाउनुको सट्टा हातमा पेट्रोल लिएर हिँडिरहेका देखिन्छ।

अब पनि यसरी नै हिँड्ने हो भने यसमा आवद्ध थुप्रै नेपालीहरुको आशा, भरोसालाई त्यही आगोले खरानी बनाउने छ । यसतर्फ नेतृत्वले बेलैमा नसोचे सधैंभरि हामी पनि बद्नामीको ट्याग झुन्ड्याएर हिँड्नु पर्ने देखिन्छ र नयाँ पुस्ताले भन्ने छ, ऊ आयो बिग्रिएको गैरआवासीय नेपाली संघको मान्छे। 

आआफ्नो गल्ती स्वीकारेर, हिजोको बिरासत र इतिहासलाई शिरोपर गरेर व्यक्तिगत अहम र राजनीतिक प्रभावबाट एक कदम पछाडि हटेर नेतृत्व र पूर्व अध्यक्षहरुले सोच्ने र पहल गर्ने हो भने अझै पनि केही बिग्रको छैन, जुट्न सकिन्छ, मूल बाटोमै हिँड्न सकिन्छ। नत्र नयाँ पुस्ताले सधैं धिक्कार्ने छ ।

सन् २००३ अक्टोबर ११ देखि १४ सम्म भएको एनआरएनको पहिलो सम्मेलनको नारा पुनर्स्मरण गराउन चाहें, ‘नेपालीका लागि नेपाली ।’ तर, आज के साँच्चै एनआरएनए नेपालीका लागि नेपाली भन्ने नाराजस्तै लक्ष्य केन्द्रित नै छ त ? यसप्रति मूल नेतृत्व र सबै देशका एनआरएनको नेतृत्व गरिरहेकाहरुले गम्भीर भएर समिक्षा गरौं र आफैंलाई प्रश्न गरौं। 

केन्द्रमा देखिएको राजनीतिक स्वार्थ र विग्रहको बाछिटा अब बिस्तारै प्रत्येक देशमा देखा पर्न थालेको छ । केन्द्रमा नेतृत्वले एनआरएनएमा लगाएको आगो बिस्तारै देशहरुमा फैलिन थालेको छ। 

अहिले हाम्रो यूकेमा पनि त्यस्तै अवस्था सिर्जना भएको छ । एनआरएनएभित्र एउटा समूहले विद्रोह गर्दै भनेको छ, ‘तलाईं किन कारबाही नगर्ने ?’ अर्को समूहले भनिरहेको छ, ‘म टिके अध्यक्ष होइन, कसैले हटाउनलाई ।’

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरविरुद्ध उपाध्यक्ष नारायण कडेंललगायत बहुमत सदस्यले प्रश्नमात्रै उठाएनन्, अविश्वास व्यक्त गर्दै कारबाही नै गरेका छन् भने प्रेम गाहामगरले पनि संस्थामा विग्रह ल्याउन खोजिएको, राजनीतिक स्वार्थ साँधेर गुटको राजनीति गरेको, कपोलकल्पित आरोप लगाएर बद्नाम गर्न खोजिरहेको र आफू मतदानबाट निर्वाचित भएकाले कसैले हटाउन चाहँदैमा हटाउन नसक्ने दाबी गरिरहेका छन् ।

मेरो गोरुको बाह्रै टक्का भनेझैं अहिले दुई पक्षबीच द्वन्द्व  चलिरहेको छ । यो द्वन्द्व यूकेसम्म आइपुग्नुको मुख्य कारण मूल नेतृत्व नै हो । मूल घरको अभिभावक कसलाई मान्ने भन्ने विवादले आज भाइ भाइमै विभाजन भइरहेको छ । मूल अभिभावकले नै राजनीति गरिरहेका छन्, घर फुटाउनका लागि । त्यसैको प्रत्यक्ष असर अहिले यूकेमा परेको छ ।

अहिले एनआरएनए यूकेभित्र विवाद र आरोपप्रत्यारोपको आगो यसरी सल्किरहेको छ, जुन आगो भित्रभित्रै चर्को रुपमा सल्किरहेको छ। गल्ती दुवै पक्षका छन् । सबैभन्दा ठूलो कुरा के रहेछ भने मेरा पनि गल्ती छन् भनेर एक कदम पछि हट्ने हो भने दुश्मन पनि मित्र बन्छ । अहिले युकेमा गर्नुपर्ने पनि त्यही हो । दुबै पक्षबाट गल्ती नभएका होइनन्, दुबै पक्षबाट कमजोरी नभएका होइनन् । तर, त्यसलाई एकै ठाउँमा बसेर छलफल गरेर आजको अवस्था के आयो भनेर समिक्षा गर्ने बित्तिकै धेरै कुराहरु समाधान गर्न सकिन्छ । यसका लागि मूल नेतृत्वहरुले नै विशेष ध्यान दिनुपर्ने हो, अपसोच धेरै जनाले आगोमा तेल थपेर बसेको महसुस गरेका छन् । 

म अहिले एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष छु र म कसैको पक्ष र बिपक्ष भन्नु भन्दा पनि मेरो आग्रह छ, दुवै समूह एक कदम पछाडि हटेर समझदारी गरौं, अर्को निर्वाचनसम्म लैजाऔं । कृपया यो संस्थलाई फुटको तहसम्म नपुर्‍याउँ, हामीलाई ठूलो पछुतो हुनेछ ।

हिजो हाम्रा अग्रजका श्रम र पसिनाले बनाएको संस्थाहरु, हाम्रो प्रतिष्ठामाथि आज प्रश्न उठिरहेको छ । विभाजन हुँदा हाम्रा मुद्धाहरु, समस्याहरु कमजोर भइरहेका छन् । हाम्रो एकता धरासायी हुँदै गइरहेको छ, आदरणीय साथीहरु यसबारेमा बेलैमा गहन चिन्तन गरिएन भने नि भोलिका पिढीले कसैलाई माफ गर्ने छैनन् ।

-गुरूङ गैरआवासीय नेपाली संघ, इंग्ल्याण्ड राज्य समन्वय परिषद यूकेका वर्तमान अध्यक्ष हुन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू