शुक्रबार, वैशाख ७, २०८१
05:55 | १०:४०

ब्रिटिश गोर्खाहरुको नागरिकता निरन्तरता राष्ट्रिय मुद्दा बनाउन मुख्य राजनैतिक दलहरुलाई अपिल

सन्तोष थलङ सेप्टेम्बर २७, २०२२

लन्डन– ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति यूके/नेपालका प्रतिनिधिहरुको संयुक्त प्रतिनिधिमण्डलले सर्वदलीय संसदीय फोरमका सदस्यहरु, कानूनविदसहित नेपालका प्रमुख राजनैतिक दलहरुलाई भेट गरेको छ ।

अभियानका प्रमुख संयोजक सन्तोष थलङको नेतृत्व तथा संयोजक अधिवक्ता योगिता राईको संयोजकत्वमा रहेको प्रतिनिधिमण्डलमा अभियान यूके÷नेपालका सचिव होम किरात सुनुवार, केन्द्रीय सदस्य टिका घले, सल्लाहकार ज्ञानबहादुर राई, कानूनी सल्लाहकार डा. चन्द्रकान्त ज्ञवाली, अभियान नेपालका सचिव उत्तम राई र संरक्षक क्याप्टेन हिमाल राईको सहभागिता थियो ।

उक्त प्रतिनिधिमण्डलले २३ सेप्टेम्बर २०२२ का दिन सर्वदलीय संसदीय फोरमका संयोजक माननीय शेरबहादुर तामाङ, माननीय जयन्ती राई तथा डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता दिनेश घले लगायतका कानूनविदहरुसंग भेटघाट एवं भावी रणनीतिबारे विशेष छलफल गरेको हो ।

त्यसैगरि २६ सेप्टेम्बर बिहान अभियान आवद्ध प्रतिनिधिहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटी ब्रिटिश गोर्खाहरुको वंशजको नेपाली नागरिकता निरन्तरताको संवैधानिक ब्यवस्था गरिनुपर्ने मुद्दालाई पार्टीगत निर्णय गरि घोषणापत्रमा उल्लेख गर्न जोडदार अनुरोध गर्दै एक अपिल पत्र समेत बुझायो ।

प्रत्युत्तरमा अध्यक्ष लिङ्देनले यो अति महत्वपूर्ण विषयलाई औपचारिकताका लागि मात्र नभइ कार्यान्वयनमै लैजाने तवरले पार्टीले उठाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सो भेटको सहजकर्ताका रुपमा राप्रपा केन्द्रीय सदस्य मे. विनोद खड्काले विशेष भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी, २६ सेप्टेम्बर २०२२ का दिन अभियानको प्रतिनिधित्व गर्दै क्याप्टेन केबी गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र महासचिव विश्वप्रकाश शर्मालाई ब्रिटिश गोरखाका वंशजको नेपाली नागरिकता निरन्तरताको संवैधानिक ब्यवस्थाको सुनिश्चितताका लागि पार्टी तथा गठवन्धनमा सहमति निर्माण गरि पार्टीहरुको घोषणापत्रमा समावेश गराउन अनुरोध गर्दै ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति यूके/नेपालको विशेष अपिलपत्र बुझाएको छ ।

त्यसैगरी, २६ सेप्टेम्बर २०२२ कै अपरान्ह सर्वदलीय संसदीय फोरमका संयोजक माननीय शेरबहादुर तामाङको पहलमा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई भेटी प्रतिनिधि मण्डलले विस्तृत रुपमा ब्रिटिश गोर्खा र गोर्खा सन्ततिहरुको नागरिकता निरन्तरता हुनु पर्ने आधार र कारणहरुबारे अवगत गराउँदै उक्त अपिल पत्र हस्तान्तरण गरेको थियो।

जवाफमा महासचिव पोखरेलले वंशजको नेपाली नागरिकता निरन्तरताको विषय संसद गठन भएपछि पहल गर्नुपर्ने धारणा राखे पनि उनले कुनै ठोस प्रतिवद्धता भने ब्यक्त नगरेको अभियानले जनाएको छ ।


२७ सेप्टेम्बर २०२२ का दिन बिहान BGNCCC -UK/ NEPAL का प्रतिनिधिहरुले नेकपा-माओवादी केन्द्रका उपाध्यक्ष तथा घोषणापत्र निर्माण समितिका संयोजक माननीय नारायणकाजी श्रेष्ठलाई भेटी ब्रिटिश गोर्खाहरुका वंशजको नेपाली नागरिकता निरन्तरताका लागि संविधान संशोधन गरि संविधान र कानूनमा प्रष्ट ब्यवस्था गरिनुपर्ने जटिल विषयलाई राष्ट्रिय मुद्दा बनाइदिन र निर्वाचनको पूर्व सन्ध्यामा गठवन्धन तथा पार्टीगत निर्णय गरि घोषणापत्रमा समेत उल्लेख गर्न जोडदार अनुरोध गर्दै विशेष अपिल पत्र बुझायो ।

ब्रिटिश गोर्खाहरुका वंशजको नेपाली नागरिकता निरन्तरताको अपरिहार्यतालाई मध्यनजर गर्दै श्रेष्ठले यो विषय आफ्नो पार्टी र गठवन्धनमा समेत गम्भीर छलफल गरि निर्णय गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै संवैधानिक ब्यवस्था नहुञ्जेल गोर्खा तथा गोर्खा सन्ततिहरुले अंगीकृत नागरिकता लिए पनि वंशजको नेपाली नागरिकता छोड्न नहुने सुझाव दिएका थिए ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू